विवाह पञ्चमी विधिवत रुपमा सुरु, राष्ट्रपति भण्डारीले जन्तीलाई स्वागत गर्ने

 मंसिर १०, २०७६ मंगलबार १४:५७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा प्रत्येक वर्ष मनाइने श्रीराम जानकी विवाह पञ्चमी महोत्सव मंगलबारदेखि विधिवत रुपमा सुरु भएको छ ।

जानकी मन्दिरमा धुमधामसँग मनाइने सीताराम विवाह पञ्चमी महोत्सव साप्ताहिक कार्यक्रमअन्तर्गत मंगलबारबाट विधिवत रुपमा सुरु भएको हो । त्रेता युगमा जनकपुरमा राम र सीताबीच विवाह भएको स्मरणमा केही वर्षदेखि सप्ताहव्यापी रुपमा धुमधामसँग रामजानकी विवाह पञ्चमी महोत्सव मनाइँदै आएको छ ।

प्रत्येक वर्ष विशिष्ट अतिथिलाई सहभागी गराउने कार्यक्रमअनुसार यस वर्ष प्रमुख आतिथ्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गरिएको छ । भारतीय गृह मन्त्री एवं बीजेपी अध्यक्ष अमित शाह र उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथलाई समेत महोत्सव व्यवस्थापन समितिले आमन्त्रण गरेको छ । तर उनीहरु आउने भने अहिलेसम्म निश्चित भएको छैन ।

भारतीय अतिथिहरु आउने भए पनि महोत्सवको प्रमुख अतिथि राष्ट्रपति भण्डारीलाई नै बनाइने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनु भएको छ ।

विवाह पञ्चमी महोत्सवलाई भव्य बनाउन गर्न प्रदेश २ सरकारले यस वर्ष ६० लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । गत वर्ष प्रदेश सरकारका उद्योग, वन पर्यटन तथा वातावरण मन्त्रालयले ५० लाख रुपैयाँ सहयोग गरेको थियो ।

यस वर्ष विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भारतबाट ५ सयको संख्यामा अयोध्याबाट जन्ती आउने जानकारी दिँदै जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले भारतको अयोध्याबाट जनकपुरधाम आउने जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा स्वागत गरिने बताउनु भएको छ ।

महन्त दासका अनुसार अयोध्याबाट जन्ती हिँडिसकेका छन् । बिहारको दरभंगा हुँदै नेपालको जटही सीमाबाट जनकपुरधाम मंसिर ११ गते जनकपुर आइपुग्ने छ । त्यस दिन ती जन्तीहरुलाई समान्य स्वागत गरिने छ तर मंसिर १३ गते राष्ट्रपति भण्डारीले भव्य रुपमा स्वागत गर्नु हुनेछ ।

यस पटकको विवाह पञ्चमीमा सांस्कृतिक कार्यक्रममार्फत त्रेता युगको झल्को दिने दृश्यहरु प्रस्तुति गर्ने कार्यक्रम समेत रहेको छ । यस पटकको विवाह पञ्चमी महोत्सव मंगलबार बेलुका ४ बजेदेखि नगर प्रदर्शनबाट  प्रारम्भ हुनेछ ।

महोत्सवको पहिलो दिन मंसिर १० गते मंंगलबार जनकपुरधाम नगर दर्शन, ११ गते बुधबार फूलबारी लीला, १२ गते बिहीबार धनुषयज्ञ (रंगभूमि), १३ गते शुक्रबार जानकी मन्दिर प्राङ्गणमा तिलकोत्सव, १४ गते शनिबार गंगासागर पोखरीघाटमा मटकोर, १५ गते आइतबार स्वयम्वर तथा शुभ विवाह र अन्तिम दिन १६ गते अयोध्याबाट आएका जन्तीलाई बिदाइ गरी महोत्सव सम्पन्न हुनेछ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया