नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - प्रतिनिधि सभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपचुनाव सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको चुनावको तयारीमा जुटेको छ ।
राष्ट्रिय सभा सदस्य चुनावका लागि संसदबाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ ।
रिक्त सदस्यको पदपूर्ति गर्नका निम्ति संघीय संसदबाट पत्र प्राप्त गरिसकेपछि आयोगले आन्तरिक छलफल गर्दै तयारीको काम आरम्भ गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया भन्नुहुन्छ, 'हामीले आगामी माघको १५ गतेभित्रै राष्ट्रियसभाको चुनाव सक्नु पर्नेछ ।' राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै चुनावी गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । त्यसअनुसार सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डाक्टर युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदै छ ।
अर्थ मन्त्रीसमेत रहनुभएका राष्ट्रियसभा सदस्य डाक्टर युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनित हुनेछ । उहाँ यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनुभएको थियो । फागुन २० गते दुई वर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना हुनुहुन्छ ।
राजनीतिक दलसँग छलफल गरेर आयोगले सरकारलाई परामर्श उपलब्ध गराउने र त्यसपछि चुनावको मिति घोषणा गरिनेछ । गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाका मेयर र उपमेयर, प्रदेशसभाका सदस्य राष्ट्रियसभा सदस्यका लागि हुने चुनावका मतदाता हुन् ।
यो चुनावमा पहिलो हुने प्रणालीबाटै उम्मेदवारको चयन हुनेछन् । यो चुनाव प्रत्येक प्रदेशमै हुने र त्यही त्यही प्रदेशबाट राष्ट्रियसभा सदस्यको चयन हुनेछ । राष्ट्रियसभाको आगामी चुनावबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सात जना निर्वाचित हुनुहुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।