स्याउ बेचेरै भित्रियाे मुस्ताङमा ६० कराेड

 मंसिर २०, २०७६ शुक्रबार १३:५८:० | रासस
unn.prixa.net

मुस्ताङ - मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा साठी करोड रुपैयाँभन्दा बढी रकम भित्र्याएका छन् । 

जिल्लामा उत्पादन भएकोमध्ये ८० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो ।

‘जिल्लाभर एक हजार ५०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा सात सय हेक्टरमा उत्पादन हुन्छ’, उहाँले भन्नुभयो, ‘कृषक र व्यापारीबाट सङ्कलित विवरणअनुसार यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको तथ्याङ्क प्राप्त भएको छ ।’

खेती विस्तार, अनुकूल मौसम, नयाँ खेती प्रविधि अपनाउनु, रोग कीराको समस्या नभएकाले स्याउ उत्पादन बढेको प्रमुख लम्सालले बताउनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा दश प्रतिशतले उत्पादन बढेको छ । प्रतिकेजी स्याउको मूल्य रु १२० रहे पनि अधिकांश कृषकले बगैँचा नै ठेक्कामा बिक्री गरेका थिए ।

मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, कागबेनी, छुसाङ, चैले, समर, चराङ, मराङ, मुक्तिनाथमा व्यावसायिक खेती गरिएको छ । 

म्याग्दी, बागलुङ, पर्वतसँगै कास्की, काठमाण्डौ, चितवन, धादिङलगायत जिल्लामा स्याउ निकासी भएको छ । गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउ खेती गरिएको छ । स्याउ बिक्रीबाट एक लाखदेखि तीन करोड रुपैयाँसम्म आम्दानी गर्ने कृषक छन् ।

ठिनीका कृषक आइतबहादुर थकालीले सडक सुविधा भएपछि स्याउ खरिद गर्न व्यापारी बगैँचामै आउने भएकाले बजारको समस्या नभएको बताउनुभयो । 

उहाँसँग ५० फल दिने र एक हजार स्याउ नफल्ने बिरुवा छन् । यातायातका साधन नपुग्दासम्म खच्चड र पिठ्यूँमा बोकाएर बजारमा पुर्‍याउने गरिएको थियो । उवा, जौ र फापरको तुलनामा स्याउ खेती गर्दा दश गुणा बढी आम्दानी हुने उहाँले बताउनुभयो ।  स्याउबाट जुस, ब्रान्डी, जाम, चिप्स, सुकुटी, क्यान्डीलगायत परिकार बनाएर विदेशमा समेत निकासी हुनेगर्छ । 

बजार बढ्दै गएपछि यहाँका कृषक स्याउ खेतीमा आकर्षित भएका छन् । स्याउ खेती गर्ने कम रहेका भए पनि किन्न आउने बढी भएकाले माग पुर्‍याउनै कठिन भएको ठिनीकी कृषक जुमा थकालीले बताउनुभयो ।

यस वर्ष उच्च घनत्व क्षमताको नयाँ जातका १९ हजार र रेड डेलिसियस जातका १३ हजार बिरुवाको माग आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले जनाएको छ । पचास प्रतिशत अनुदानमा बिरुवा वितरण गरिने एकाइले जनाएको छ । 

परियोजनाले कृषकलाई अनुदानमा सिकेचर, नीलो तुथो, स्याउ टिप्ने औजार, सुकुटी बनाउने मेशिन उपलब्ध गराएको छ ।

एकाइका अनुसार एक शीत भण्डारगृह र हाइटेक प्रविधिको नर्सरी स्थापना गर्न लागिएको छ । स्थानीय तहले पनि अनुदानमा स्याउका बिरुवा र ढुवानीका लागि प्याक छपाएर वितरण गरेका छन् । मुस्ताङसमेत कार्यक्षेत्र भएको कृषि ज्ञान केन्द्र म्याग्दीले पनि स्याउ खेतीसम्बन्धी कार्यक्रम तथा योजना सञ्चालन गरेको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया