४ हजार रुपैयाँ घुस लिने खरिदारलाई नछाड्ने सीडीओ आफैँ लाखौ रुपैयाँ घुस प्रकरणमा मुछिएपछि...

 मंसिर २०, २०७६ शुक्रबार १७:२३:२० | उषा तामाङ
unn.prixa.net

दाेलखा - गएकाे साउन ७ गते घरेलु तथा साना उद्योग विकास समितिका खरिदार पुस्कर अधिकारीले सेवाग्राहीसँग घुस मागेको कुरा तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई जानकारी भयो ।

जानकारी प्राप्त हुनासाथ रिजालले जिल्ला प्रहरी कार्यालय दोलखालाई तत्काल पक्राउ गर्ने आदेश दिएपछि सेवाग्राहीसँग ४ हजार रुपैयाँ घुस लिँदै गर्दा खरिदार अधिकारीलाई रंगेहात पक्राउ गरियो । त्याे मुद्दाको फैसला हुन बाँकी छ ।

४ हजार घुस लिने खरिदारलाई पक्राउ गर्न आदेश दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई सेवाग्राहीसँग लाखौ रुपैयाँ असुलेको आरोप लागेको छ । रिजालले थुनछेक मुद्दाका तीन अभियुक्तसँग रकम असुलेको तथ्य खुलेको छ ।

उहाँले मेलुङ गाउँपालिका–४, भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार रुपैयाँ असुलेको आरोप लागेको हो । दुवै घटनामा रिजालले कम रकमको रसिद काटेर बढी रकम लिनुभएको थियो । तर, सार्वजनिक हुने डरले रकम भने फिर्ता गरिसकेको पीडितहरुले बताएका छन् ।

पीडित भनिएकाहरुले घटना बाहिर ल्याएपछि असोज महिनामा विगु गाउँपालिकामा कार्यरत दुई स्वास्थ्यकर्मी र स्थानीय महिलाबीचको झगडामा ती दुई कर्मचारीबाट ४ लाख रुपैयाँ रकम असुलेको पनि खुलासा भएको छ ।

१० हजारको रसिदले खुल्यो पोल

प्रमुख जिल्ला अधिकारी रिजालले सार्वजनिक सुरक्षाविरुद्धको कसुरमा पक्राउ परेका कुमार लामासँग एक लाख रुपैयाँ लिएर दस हजारको मात्रै रसिद दिएपछि यो तथ्य बाहिर आएको हो ।

उहाँ बुधबार एक लाख बुझाएर घर पुगेर रसिद हेर्दा रसिदमा १० हजार मात्रै उल्लेख भएकाे पाएपछि बिहीबार बिहान प्रशासन आइपुग‍्नुभएकाे थियाे । तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालसँग बाँकी पैसाको कुराभएपछि रिजालले बाहिर हल्ला नगरिदिनु भन्दै फोनसमेत अफ गर्न लगाएर गाडीमा राखेर क्वार्टर लगेर रकम फिर्ता गरेका थिए ।

जिम्मेवारीबाट हटाइयो 

घुस लिएको आरोप लागे पछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई जिम्मेवारीबाट हटाइएको छ । उहाँलाई गृह मन्त्रालय तानिएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले रिजाललाई दोलखाको प्रजिअबाट हटाउने निर्णय भएको बताउनुभयो ।

रिजाललाई दोलखाको प्रमुख जिल्ला अधिकारीबाट हटाइए पनि यहाँ प्रमुख जिल्ला अधिकारीको रुपमा कसलाई पठाउने भन्नेबारे टुंगो भएको छैन । रिजालले शुक्रबार बिहानै जिल्ला छोडिसक्नुभएको छ । 

तरुण दलद्वारा विरोध प्रदर्शन 

घुस प्रकरणमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालविरुद्ध तरुणदल दोलखाले चरिकोटमा विरोध जुलुस गरेको छ । भ्रष्टाचारी सीडीओ जिल्ला छोड् भन्दै तरुण दलले नारा जुलुस गर्दै चरिकोट बजार परिक्रमा गरेको थियो । 

सिडिओ रिजाल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै कार्यरत हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया