साहित्य महोत्सवकाे अन्तिम दिन सौरभ, प्रदीप गिरीदेखि विपीन कार्कीसम्म

 मंसिर ३०, २०७६ सोमबार २०:४८:५० | सुमन गुरुङ
unn.prixa.net

कास्की - आठौँ संस्करणको आईएमई नेपाल साहित्य महोत्सवको अन्तिम दिन पोखरामा विभिन्न सेसनमा साहित्यप्रेमीको उल्लेख्य सहभागिता रह्यो ।

पोखराको तालवाराही चोक, लेकसाइडमा जारी महोत्सवमा अन्तिम दिन नायक विपिन कार्कीदेखि लेखक सौरभ, राजनीतिज्ञ प्रदीप गिरीसम्मले बहस गर्नुभयाे ।   
सोमबारको पहिलो सत्र पात्रको तयारीमा विपिन कार्की, सुरक्षा पन्त र सौगात मल्लसँगस्वेच्छा राउतले छलफल गर्नुभएको थियो । यो सेसनमा उहाँहरुले महिनौँ लगाएर गरेको तयारीपछि फिल्म आउँदा आफूहरु उत्सुक हुने गरेको उहाँहरुको भनाइ थियो । फिल्मभरि अभिनय हुँदा त्यो नायकनायिका हुने र छोटो भूमिका हुँदा सहनायक हुने अवस्था नरहेको उहाँहरुले बताउनुभयाे ।

विदेशी मिडियामा नेपाल सेसनमा सुम्निमा उदास, दीपक अधिकारी र रजनीश भण्डारीकाे पावन माथेमासँग छलफल चल्याे । विभिन्न अन्तर्राष्ट्रिय मिडियामा काम गरेका उदास, अधिकारी र भण्डारीले त्यहाँका सञ्चारमाध्यमले नेपालका विविध पाटोलाई कसरी हेरिरहेका छन् भन्ने बाहेक नेपालका सम्पदालगायत कला, संस्कृति आदिलाई कसरी बाहिर ल्याउन सकिन्छ भन्नेमा पनि बहस गर्नुभयाे ।

आफ्नै गाउँ फर्की आएँ शीर्षकमा अनुप बराल, राम गुरुङ र सरस्वती प्रतीक्षाले कर्मथलो छाडेर आफ्नो जन्मथलोबाटै सुकर्म गरिरहेका अर्थात् समाजको विकासमा केही गरौं भनेर लागिपरेका बराल र गुरुङले बाल्यकालदेखि युवावस्थासम्म आफ्नो गाउँठाउँलाई कसरी, कस्तोकस्तो अवस्थामा देखियो भन्नेबारे चर्चा गर्नुभयाे ।   

इङ्लिस एन्ड भर्नाकुलर लिटरेचर्स इन साउथ एसिया शीर्षककाे बहसमा हरिश त्रिवेदीसँग सञ्जीव उप्रेतीले अन्तर्सम्वाद गर्नुभयो । 

छाउ विद्रोह शीर्षकमा मोहना अन्सारी, शृंखला खतिवडा, मेनुका ढुंगाना र राज सरगमले पश्चिम नेपालमा व्याप्त रुढीवादी परम्परा छाउबारे छलफल गर्नुभयो । छाउ जस्तो कुसंस्कार समाजमा व्याप्त रहेसम्म यहाँको विकास सम्भव नहुनेमा उहाँहरुले जोड दिनुभयाे । 

कहाँ आइपुग्यो सिंहदरबार ? सत्रमा पोखरा महानगरका नगरप्रमुख मानबहादुर जिसी, गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ र मुख्य सचिव सोमलाल सुवेदीलाई अमृत सुवेदी सहजीकरण गर्नुभएकाे थियाे । छलफलमा नेपाल संघीयतामा गएर तीनै तहको निर्वाचन भएर गाउँगाउँमा सिंहदरबार जाने भनिए पनि जनताले त्यो सुविधा नपाएको उहाँहरुले बताउनुभयाे । 

शिवालिक सभ्यतासम्बन्धी सेसनमा एकल प्रस्ताेताका रुपमा सौरभको यसकाे सुरुवात, यसबारेका भ्रम, यसको विस्तारलगायत विषयमा आधारित रहेर आफ्ना अभिव्यक्ति सार्वजनिक गर्नुभयाे । शिवालिकको एकतिहाइ दक्षिण र उत्तर क्षेत्र लिएर नेपाल निर्माण भएको उहाँले बताउनुभयो । 

हाउ सेल्फी जर्नलिज्म इज अन्डस्ट्र्यान्डिङ डेमोक्रेसी सेसनमा विभिन्न वक्ताहरुले पछिल्लो समय पहिलो हुने नाउँमा जथाभावी समाचार प्रसारण गरिरहेको अवस्थाबारे चर्चा परिचर्चा गर्नुभयाे । त्यसले लोकतन्त्रमै खतरा निम्त्याउने उहाँहरुको भनाइ थियो ।

कार्यक्रममा कुलदीप कुमारले हिन्दी कविता वाचन गर्नुभएकाे थियाे भने प्रदीप गिरीले मानुषी विमर्शमा आफ्ना धारणा राख्नुभएकाे थियाे ।     

अन्तिम अपडेट: चैत १०, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया