२३ करोडको लागतमा सूर्याेदयमा चिया परीक्षण केन्द्र बन्ने

 पुस २, २०७६ बुधबार २०:३७:२ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - इलामको सूर्याेदय नगरपालिकामा प्रदेश सरकारको साझेदारीमा झण्डै २३ करोड रुपैयाँको लगानीमा चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र निर्माण हुने भएको छ । एक नम्बर प्रदेश सरकारको ७५ प्रतिशत र सूर्याेदय नगरपालिकाको २५ प्रतिशत लगानीमा केन्द्र निर्माण गर्न लागिएको हो ।

केन्द्र निर्माणका लागि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सूर्याेदय नगरपालिकाबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा भएको समझदारीमा मन्त्रालयका कृषि सचिव विमलकुमार निर्मल र सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले हस्ताक्षर गरेका छन् । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी कार्य प्रारम्भ गरिने मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताउनुभयो ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मुख्यमन्त्री शेरधन राईले चियाको राजधानी भनेर चिनिने सूर्याेदयमा बन्ने टी टेष्टिङ हाउसले चियाको प्रवर्द्धन र गुणस्तरीय उत्पादन साथै बजारिकरणमा सहयोग पुग्ने बताउनुभयो ।

देशकै सुविधासम्पन्न र नमुना केन्द्रको रुपमा स्थापना हुने भएकोले यहाँबाट देशकै चिया विकासमा ठूलो टेवा पुग्ने र पर्यटन प्रवर्द्धनमा पनि भूमिका खेल्ने  मुख्यमन्त्री राईको विस्वाश छ  । मुख्यमन्त्री राईले प्रदेश सरकार कृषि क्षेत्रको विकासमा लागेको सन्देश प्रवाहित भएको समेत उल्लेख गर्नुभयो ।

सूर्याेदय नगरपालिकालाई प्रदेश सरकारले पर्यटकीय नगरीसमेत घोषणा गरिसकेकोले यो केन्द्र निर्माणले थप सहयोग पुग्ने बताउँदै नेपालको कृषि उत्पादनबाट निर्यात बढाउन समेत मद्दत पुग्ने मुख्यमन्त्री राईले बताउनुभयो । कार्यक्रममा सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राईले ७० प्रतिशत अर्थाेडक्स चिया उत्पादन गर्दै आएको केन्द्रको निर्माणसँगै चियाको बजारीकरण प्रवर्द्धनमा उल्लेख्य उपलब्धि हासिल हुने विस्वास व्यक्त गर्नुभयो ।

सूर्याेदय नगरपालिकामा वार्षिक झण्डै ५० लाख केजी चिया उत्पादन हुँदै आएको छ । प्र

देश सरकारले केन्द्र निर्माणका लागि यस वर्ष ५ करोड रुपैयाँ खर्च गर्ने मन्त्रालयका सचिव विमलकुमार निर्मलले जानकारी दिनुभयो । केन्द्र स्थापना गर्न झण्डै २३ करोड रुपैयाँ लाग्ने मन्त्रालयले जनाएको छ । यसको विस्तृत परियोजना पछि सार्वजनिक गरिने सचिव निर्मलले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया