बझाङकाे त्याडी गाउँमा खानेपानीको हाहाकार :  घरैमा थन्कियो  १५ लाखको पाइप

 पुस ५, २०७६ शनिबार १३:४३:३९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - स्थानीय सरकारले खानेपानीको उचित व्यवस्थापन गर्न नसक्दा जिल्लाको केदार स्युँ गाउँपालिकाका सर्वसाधारण चरम समस्यामा परेका छन् ।

झण्डै २४ वर्ष अगाडि निर्माण भएको खानेपानीको मर्मत सम्भार नहुँदा पालिकाको वडा नम्बर-६, त्याडीगाउँका स्थानीय बासिन्दाहरुले सास्ती झेल्नुपरेको हो । पानी वितरण प्रणालीको व्यवस्थापन र स्रोत नहुँदा त्याडीगाउँमा हाहाकार मच्चिएको हो । 

अहिले, गाउँभन्दा झण्डै १ किलोमिटर टाढा रहेको कुवा र खोलाको पानी पिउनुपर्ने बाध्यता यहाँका स्थानीय बासिन्दाको रहेको छ । उनीहरुले आकाशबाट झरेको पानी ड्रममा जम्मा गरी प्रयोग गर्दै आएका छन् । स–साना बालबालिका र महिलाहरुले बोकेकै भरमा ठूलठूला ड्रम भरेर आफ्नो दैनिकी चलाउँदै आएका छन् । 

सरसफाइ गर्न र चर्पीमा राख्न समेत पानी नभएको भन्दै स्थानीय लक्ष्मी गुर्धामीले भन्नुहुन्छ, ‘घरायसी काम गर्नदेखि पशु चौपायालाई पानी खुवाउन समेत समस्या परेको छ । स्थानीय सरकार आएपछि समस्याबाट छुटकारा पाउने आशा थियो । तर, समस्याको सुनुवाइसम्म भएको छैन ।’

पानीको अभावले स–साना बालबालिका र महिलाहरु बढि समस्यामा परेको उहाँले बताउनुभयो  ।  

अर्का स्थानीय बासी प्यारु बोहोराले भन्नुभयाे, ‘मुहानमा पर्याप्त पानी भए पनि पाइपमा नआएको गुनासो गर्नुभयो । गाउँलेहरुले प्रयास गरे पनि मर्मत गर्न नसकेको भन्दै स्थानीय सरकारले मर्मतका लागि रकम खर्च गर्नसके खानेपानी प्राप्त हुने उहाँको  बुझाइ छ ।’

‘गाउँमा झण्डै १० वटा धाराहरु छन् । तर, कुनै पनि धारामा पानी आउदैन । एक दुई ओटा धाराबाट पानीका थोपामात्रै झर्छन् । वडा अध्यक्षले समेत यस विषयमा खासै चासो दिएका छैनन्’, उहाँले भन्नुभयो ।

नजिकै रहेको विद्यालयमा भने आईडीएस नेपाल नामक संस्थाले थोपे धारा जडान गरिदिएपछि  खानेपानीको समस्या समाधान भएको उहाँले बताउनुभयो । 

नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक दिपक बोहोराले खानेपानीका लागि भन्दै गएकाे वर्ष वडाले झण्डै १५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी गराउनुभयो ।

वडाले पाइप खरिद गरेर वितरण गरेको भए पनि अधिकांश व्यक्तिहरुले घरमा नै पाइप राखेका छन् । समस्या समाधानका लागि भन्दा पनि व्यक्तिहरुलाई पाइप खरिद गरी वितरण गरेकै कारण खानेपानीको समस्या यथावत रहेको बोहोराको भनाइ छ ।

वडाले दलित समुदायका लागि भन्दै ८ लाख रुपैयाँ बराबरको पाइप वितरण गरेको थियो । तर, अहिले दलित समुदाय नै सबैभन्दा बढि खानेपानीको समस्यामा परेका छन् । यस्तै, गैरदलित समुदायका व्यक्तिहरुले करिब ६ लाख रुपैयाँ बराबरको पाइप पाएका छन् ।

यसरी उपलब्ध भएको पाइपहरु खानेपानीका लागि प्रयोग नगरी अधिकांशले घरमा नै थन्काएर राखेको स्थानीय बासिन्दाले बताएका छन् । 

यता, केदार स्युँ गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले भन्नुभयाे, खानेपानीको समस्या समाधानका लागि आफू तत्काल लागिपर्ने  जवाफ दिनुभएको छ । गाउँपालिका एक घर, एक धाराको अवधारणा सहित अघि बढेको बताउँदै उहाँले घरैपिच्छे उपलब्ध गराउन नसके पनि एउटा टोलका लागि एक धारा उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया