उपचुनाव हुने पालिकाहरुमा १६ गते सार्वजनिक बिदा दिन आयोगको ...
मंसिर १०, २०८१ सोमबार
बझाङ – छबिस पाथीभेरा गाउँपालिकाकी १८ वर्षीया रन्जा थापा अहिले दुई जिउकी हुनुहुन्छ । १३ वर्षको उमेरमा प्रेम विवाह गर्नुभएकी थापा अहिले तेस्रो सन्तानको आमा बन्दै हुनुहुन्छ । विवाह गरेको एक वर्षपछि उहाँले पहिलो सन्तानलाई जन्म दिनुभएको थियो । दोस्रो सन्तान १६ वर्षको उमेरमा जन्मिएको थियो । अध्ययनबाट पूर्णरुपमा बञ्चित हुनुभइसकेकी थापा अहिले घरायसी काममा नै व्यस्त हुनुहुन्छ ।
थापा भन्नुहुन्छ, ‘अरुको देखासिकीमा मायाप्रेम बस्यो । छोड्न सकिएन । पढाइ नै छाडेर भागी विवाह गरियो । अहिले आफूसँगैका साथीले पढेको देख्दा निक्कै पछुतो लाग्छ ।’ सानो उमेरमा विवाह गरी पछुताउनुभएकी थापा अहिले उमेर नपुग्दै विवाह नगर्न अरुलाई सुझाव दिनुहुन्छ ।
यस्तै तल्कोट गाउँपालिका ४ की दुर्गा भण्डारीको कथा पनि थापासँग मिल्दोजुल्दो छ । उहाँले कक्षा ८ मा पढ्दै गर्दा १५ वर्षकै उमेरमा भागी विवाह गर्नुभएको थियो । उहाँ पनि १७ वर्षको उमेरमा पहिलो र १९ वर्षको उमेरमा दोस्रो सन्तानकी आमा बन्नुभयो ।
भर्खरै २० वर्ष पुग्नुभएकी भण्डारीलाई श्रीमानको माया घट्दै गएको अनुभव हुन थालेको छ । ‘आफूसँगका साथीहरु भविष्यको चिन्तामा छन् । म भने सन्तानको लालनपालनको पीरमा छु । चाँडो विवाह गर्दा न सन्तानको भविष्य राम्रो हुनेभयो, न त आफ्नो जीवन नै’, उहाँ पछुतो मान्नुहुन्छ ।
भण्डारी र थापा त उदाहरण मात्रै हुनुहुन्छ । यहाँका धेरै ठाउँमा कलिलो उमेरमा आमा बन्नेको संख्या थुप्रै छ । कतिपयले देखासिकी त कतिले अभिभावकको दबाबका कारण कम उमेरमा विवाह गर्ने गरेका छन् ।
तल्कोट गाउँपालिका १ सुनिकोटका वडाध्यक्ष गोपाल धामी अज्ञानता, अशिक्षा र रुढिवादी परम्पराका कारण बालविवाहले प्राथमिकता पाएको बताउनुहुन्छ । उमेर नपुग्दै सन्तान पाउनेको दर वृद्धि भएकोे भन्दै उहाँले बालविवाह रोक्नु चुनौतीपूर्ण बनेको गुनासो गर्नुभयो ।
जिल्ला अस्पतालको तथ्याङ्कअनुसार उमेर नपुग्दै बच्चा जन्माउनेको दर ६० प्रतिशत रहेको छ । अस्पतालका कार्यालय प्रमुख डाक्टर सन्दीप ओखेडाले कम उमेरका आमाहरुको पाठेघरमा क्यान्सर लगायतका समस्या निम्तने भन्दै बालविवाह रोक्न नसके पनि कम उमेरमा बच्चा जन्माउने दरलाई घटाउन सरकारी निकाय लाग्नुपर्ने बताउनुभयो ।
कुलमष्टा जन उच्च माविका शिक्षक वीरेन्द्र सिंहले कक्षा १ देखि १२ कक्षासम्मका पाठ्यपुस्तकमा बालविवाह सम्बन्धी कानुनी प्रावधानबारे समेट्नुपर्ने भन्दै राज्य, समुदाय र स्वयं व्यक्ति सचेत हुनु आवश्यक रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।