फुर्सदकाे समयमा सुन्तला र केरा खेती गर्छन् बागलुङका विद्यार्थी !

 पुष ८, २०७६ मंगलबार १७:०:१७ | रासस
unn.prixa.net

बागलुङ – विद्यार्थीले कक्षामा पढाइ नहुँदा समय कसरी बिताउँछन् होला ? सायद धेरै सामुदायिक विद्यालयका विद्यार्थीले साथीभाइसँग खेलेर वा आपसमा रमाइलो गर्दै समय काट्छन् होला ।

तर बागलुङको गलकाेट नगरपालिकामा रहेकाे सिगाना माध्यमिक विद्यालय तित्याङका छात्र/छात्रा खेलेरमात्रै समय बिताउन होइन, व्यवहारिक सीप सिक्न पनि व्यस्त छन् । विद्यालयले एक वर्षदेखि विद्यार्थीको फुर्सदको समयलाई व्यवहारिक अभ्यासमा परिचालन गराएको छ । 

उनीहरुले कक्षामा शिक्षक अनुपस्थित हुँदा र खाजा खाने समयलाई सदुपयोग गर्दै विद्यालय वरपर केरा र सुन्तला खेती गर्न थालेका छन् । विद्यार्थी हिजोआज फुर्सद हुने बित्तिकै काममा व्यस्त हुने र खाली जग्गामा सामूहिकरूपमा केरा र सुन्तला खेती गर्ने गरेको विद्यालयले जनाएको छ ।  

विद्यार्थी आपसमा मिलेर फलफूल खेतीमा जुटेपछि शिक्षक र उनीहरूका अभिभावकसमेत दङ्ग परेका छन् । फलफूल खेतीको नेतृत्व विद्यालयमा गठित सूर्योदय बाल क्लबले लिएको छ । विद्यालयको पाँच रोपनी जग्गामा चार सय बोट केरा र ४० बोट सुन्तला लगाएको सूर्योदय बाल क्लबका अध्यक्ष अनुष्का केसीले जानकारी दिनुभयो । 

'हामीले धान, मकैलगायतका खाद्य बालीको अभ्यास र सिकाइ त घरमा पनि गरेको थियौँ', उहाँले भन्नुभयो, 'नगदेबालीका रुपमा रहेको सुुन्तला र केरा खेती कसरी गर्ने भन्ने सिकाइ र यसको व्यावसायिकताबारे राम्रो ज्ञान र सिकाइ प्राप्त भएको छ ।'

विसं २०६७ मा आर्थिक स्रोत जुटाउन विद्यालयले लगाएको धनधान्याञ्चल महायज्ञमा शिक्षाप्रेमीले आसपासको २३ रोपनी जग्गा निःशुल्क दान गरेका थिए ।जग्गाको सदुपयोगसहित व्यवहारिक शिक्षाको अभ्यास थालिएको विद्यालयका प्राचार्य गोपालकुमार शर्माले जानकारी दिनुभयो । 

जग्गादाताले उर्बर खेत र बारी विद्यालयलाई प्रदान गरेपछि विद्यालयले जग्गा सदुपयोग गर्दै व्यवहारिक शिक्षासमेत अभ्यास गराउन थालेको हो । विगतमा त्यत्तिकै खेर गएको विद्यालयको जग्गा अहिले केरा र सुन्तला खेतीका कारण हरियाली बनेको छ । 

एक वर्षअघि देखि विद्यालय परिसरमा रहेको तीन रोपनी जग्गामा केरा खेती र सिगानाको सातमुरेमा रहेकाे दुई रोपनी बारीमा सुन्तला खेती गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'परीक्षणका लागि पाँच रोपनी जग्गामा केरा र सुन्तला खेती गर्न थालेका छौँ । विगतका वर्षमा तरकारी खेती पनि गरेका थियौँ, लामो समय बिदा हुँदा तरकारी उत्पादनमा समस्या भएपछि फलफूल खेती थालेका हौँ ।'

'विद्यार्थीले स्कुलमा आएर किताबको ज्ञान मात्र नभइ फलफूल फलाउनसमेत सिक्दैछन्', व्यवहारिक शिक्षणको नेतृत्व गराइरहनुभएका लक्ष्मण खड्काले भन्नुभयो, 'प्रयोगात्मक शिक्षाले विद्यार्थीले घरमा पनि फलफूल खेती गर्न सक्छन् ।' अबदेखि विद्यार्थीलाई प्रयोगात्मक विषयको नम्बर फलफूल खेतीमा गरेको कामका आधारमा दिइने विद्यालयले जनाएको छ । 

विद्यालयका कक्षा ४ देखि १० मा अध्ययनरत सबै विद्यार्थीले अहिले पालैपालो केरा र सुन्तला खेतीको स्याहारसुसारमा समय दिने गरेका छन् । विद्यालयले खेलकूद मैदानबाहेकको अन्य जग्गामा समेत सुन्तला खेती विस्तार गर्ने लक्ष्य लिएको छ । विद्यालयले कक्षा ९ र १० मा कृषि प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

विद्यालयमा अहिले बाल विकासदेखि कक्षा १२ सम्म तीन सय ८५ जना विद्यार्थी अध्ययनरत छन् । याे विद्यालय जिल्लाकै गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयका रूपमा चिनिँदै आएको छ । गाउँका सरकारी स्कुल खाली हुने अवस्थामा पनि यस विद्यालयप्रतिको आकर्षण बढ्दो क्रममा रहेको स्थानीयवासी बताउँछन् ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया