सुदूरपश्चिम प्रदेशमा भुवा नाचको रौनक

 पुस १०, २०७६ बिहिबार १८:२८:३९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा प्रसिद्ध पर्व भुवा नाचको रौनक सुरु भएको छ । 

कौरव र पाण्डवको युद्धको सम्झनामा नाचिने यो नाच प्रत्येक वर्ष पुष महिनाकाे औंँशीका दिन मसाल (राँको) सल्काएर सुरु हुने गर्दछ । बझाङकाेकैलाश मष्टा, थलारा, सुर्मा, छबिस पाथिभेरा, सिरेटा, भण्डार, कोटदेवल, रनाडा, भिनमड लगायतका दर्जनाैँ गाउँहरुमा मा ‍यसपालाकाे भुवा पर्वको रौनक छाएको छ । यो पर्व ७ दिनसम्म मनाइने गरिन्छ ।

औंँशीका दिन गाउँका प्रत्येक घरबाट बाल्नका लागि मुढा माग्ने र राति भुवाखाडा (भुवा नाच्ने चौर) मा ठूलो आगो बालेर प्रत्येक व्यक्तिले हातमा राँको सल्काइ भुवा नाचको सुरुवात गर्ने गरिन्छ । राँको नबाली पर्वको सुरुवात नहुने स्थानीय बासिन्दाको भनाइ छ । बाजाको तालमा खुकुरी, तरवार र ढालसहित पुरुषहरुले प्रदर्शन गरेको युद्धकला हेर्न थुप्रै मानिसहरुको भिड लाग्ने गर्छ । 

युद्धको समयमा कौरव र पाण्डवबीच भएको भिडन्तको कथालाई एक समूहले नाच्दै लयात्मक शैलीमा भट्याउने र अर्काे समूहले हात र खुट्टाको चालमा नाच्दै ‘भस्सोे’ भन्ने गर्दछन् । कुरुक्षेत्रको युद्धभन्दा पहिले पाण्डवहरु बनवास गएको समयमा भेष बदलेर हिमालय पर्वत देखी भारत वर्षका विभिन्न ठाउँमा घुमेको किम्वदन्ती रहेको छ ।  

पाण्डवहरुले नै विभिन्न गाउँमा भुवा पर्वको आयोजना गरी युद्ध अभ्यास गराएका कथाहरु नाचमार्फत प्रस्तुत गर्ने गरिन्छ । भुवाको विशेष आकर्षणका रुपमा रहेका चाली नाच, ठाडो भुस्सो, भारी खेलजस्ता नाच र गायनहरु प्रस्तुत गर्ने गरिन्छ । 

भुवा पर्व सुरु भएको दुई दिन (अर्थात औंसीको द्धितीया) लाई दुयो भन्ने गरिन्छ । यो दिन घरमा बटुक चुकानी लगायतका परम्परागत परिकारहरु पकाउने र इष्टमित्र तथा आफन्तहरुलाई टिको पिठाया (टिकाटालो) लगाई शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।

पौष शुक्ल पूर्णिमा अवागै भुवा पर्वको विधिवत रुपमा समापन गर्ने प्रचलन रहेको छ । भुवा पर्वको अवसरमा प्रत्येक घरमा चिउरा कुट्ने, भुवा नाच्ने र चौरमा बोकाबली दिने परम्परा रहेको छ  । 

भुवा पर्व लोप हुने खतरामा

भुवा पर्वलाई लोपोन्मुख पर्वको रुपमा लिन थालिएको छ । करिब २० वर्ष पहिले गाउँमा भुवा हाल्दा प्रत्येक घरबाट छोरा मान्छे जाने गरेका थिए । तर, अहिले भुवा खेल्दा थोरै युवाहरु आउने गरेको जयपृथ्वी नगरपालिकाका स्थानीय विष्णुभत्त जोशी(शास्त्रि)ले बताउनुभयो । 

‘अहिलेका युवाहरुले भुवा खेल्न चासो नै दिँदैनन् । भुवामा हाल्ने माणा (भट्याउँदा भन्ने गीत) गाउन कसैलाई आउँदैन । कसैले सिक्न चासो पनि दिँदैनन् । कतिपय गाउँमा त बुढापाका नभएका कारण यो पर्व मनाउनै छाडिसकेका छन्’, जोशीले भन्नुभयो ।

स्थानीय सरकारले भुवा पर्वको जर्गेनामा ध्यानदिनु पर्ने उहाँकाे भनाइ थियाे। 
 

अन्तिम अपडेट: चैत १५, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया