धनुषामा बम विस्फाेटकाे मुख्य कारण चन्दा दिन आनाकानी : प्रहरी

 पुस १३, २०७६ आइतबार १८:१:१७ | सुभाष कर्ण
unn.prixa.net

धनुषा – गएकाे मंसिर २७ गते प्रहरी निरीक्षकसहित ३ जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोट चन्दा नदिएका कारण घटाइएको पाइएको छ ।

प्रदेश २ का प्रहरी प्रमुख तथा डीआइजी प्रद्युम्नकुमार कार्कीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकाे नाउँमा आपराधिक क्रियाकलापमा संलग्न रहेकाहरुले टाइम बम बिष्फोट गराएको जानकारी गराउनु भएको हो । 

घटनामा संलग्नहरुको पहिचान गरी उनीहरुमध्ये ५ जनालाई नियन्त्रणमा लिइएको कार्कीले बताउनु भयो । संलग्नहरुलाई कर्तव्य ज्यान र विस्फोट मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइसकिएको छ । बम राख्ने र पड्काउने मुख्य योजनाकार भने अझै फरार रहेका छन् । 

प्रहरीका अनुसार भूमिगत समूहमा संलग्न रहेर पहिले पहिले आपराधिक क्रियाकलाप गरेकाहरु विप्लव समूहको खोल ओढेर अहिले धम्क्याउने, पैसा उठाउने र आपराधिक क्रियाकलाप गर्ने घटनामा संलग्न हुँदै आएका छन् । उनीहरुले स्थानीय राजेश्वर साहसँग पटक–पटक धम्क्याएर चन्दा माग्दै आएका थिए । साहले चन्दा नदिएपछि बम विस्फोट गराएको अनुसन्धानको क्रममा देखिएको छ ।

राजेश्वर साह स्थानीय औषधिकाे व्यवसायी रहेकाे र ब्याजमा रकम लगानी गर्ने काममा संलग्न रहँदै आएका थिए ।

पैसा नदिँदा पटक–पटक राजेश्वर धम्काइएको र नमानेपछि रिसको झोकमा शाहको घर अगाडि टाइम राखेर प्रहरी त्यहाँ पुग्दा नियोजित रुपमा बम विस्फोट गराइएको अहिलेसम्मको अनुसन्धानमा देखिएको डिआइजी कार्कीले बताउनु भयो ।

प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय धनुषा, केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालयबाट अनुसन्धानका लागि गठन गरिएको टोलीले संयुक्त रुपमा विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको डीआइजी कार्कीको भनाइ छ ।

गएकाे मंसिर २७ गते राति भएको बम विस्फोटमा परेर प्रहरी निरीक्षक अमिर दाहाल, घरमूली राजेश्वर साह, आनन्द साहसहित ३ जनाको ज्यान गएको थियो  । घटनामा एक प्रहरी जवान सहित ३ जना गम्भीर घाइते भएका थिए । हाल उनीहरु उपचारको क्रममा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया