सन् २०१९ : श्रम प्रशासन सुधार र विकेन्द्रीकरणमा केन्द्रित

 पुष १५, २०७६ मंगलबार १७:१०:२५ | रासस

अशोक घिमिरे/रासस ।

सन् २०१९ मूलतः श्रम प्रशासन सुधार तथा विकेन्द्रीकरण र वैदेशिक रोजगार व्यवस्थापनमा केन्द्रित रह्यो । यो वर्ष श्रम कानून परिमार्जन गरी श्रमिकमैत्री बनाउने प्रयत्न भयो ।

सरकारले वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावली, २०६४ संशोधन गरी वैदेशिक रोजगारीलाई व्यवस्थित पार्ने कोसिस गर्‍यो ।

गरिबी, अभाव र बेरोजगारीसँग पौठेजोरी खेलिरहेका नेपाली युवा वैदेशिक रोजगारीका नाममा चर्को ठगीमा पर्दै आएको यथार्थप्रति सरकार कठोर ढङ्गबाट प्रस्तुत भयो ।

फलतः ठगी न्यूनीकरण गर्ने र म्यानपावर कम्पनीलाई व्यवस्थित बनाउने मुख्य ध्येयसाथ सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरी म्यानपवार कम्पनीको धरौटी वृद्धि गर्‍यो । 

वार्षिक तीन हजारसम्म कामदार पठाउने म्यानपावरको धरौटी नगद रु ५० लाख र बैंक ग्यारेन्टी  एक करोड ५० लाख रुपैयाँ, वार्षिक तीन हजारदेखि पाँच हजारसम्म कामदार पठाउने म्यानपावरको एक करोड नगद र  तीन करोड रुपैयाँ बैंक ग्यारेन्टी तथा वार्षिक पाँच हजारभन्दा बढी कामदार पठाउने म्यानपावरको धरौटी वृद्धि गरी दुई करोड रुपैयाँ नगद र चार करोड रुपैयाँ बैंक ग्यारेन्टी पुर्‍याइयो । 

ऐन संशोधन गरी पीडितले सहजै न्याय पाउने अवस्था सिर्जनाका लागि प्रक्रियागत सरलताको बाटो खोलियो । पीडितले उजुरीका लागि वैदेशिक रोजगार विभागमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै आफू बसोबास गर्दै आएको जिल्ला प्रशासन कार्यलयबाटै पीडकविरुद्ध कारवाही र क्षतिपूर्तिका लागि उजुरी दिन सकिने व्यवस्था गरियो । 

वैदेशिक रोजगारीमा रहेका युवाले बढीमा दुई पटकसम्म सम्बन्धित देशको कूटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था गरिएको छ । विगतमा गन्तव्य देशमा रहेका कामदारको श्रम स्वीकृतिको अवधि सकिँदा नवीकरणका लागि विभाग नै पुग्नुपर्ने अवस्था रहेको थियो ।

विदेश पठाइदिन्छु भन्दै गाउँगाउँमा युवा ठग्ने म्यानपावर कम्पनीका एजेन्टको पनि संशोधित ऐनले खारेज गरिदिएको छ । ऐन गएको वर्षको फागुन १९ गते प्रमाणीकरण भएर कार्यान्वयनमा गइसकेको छ । 

आन्तरिक श्रम बजारमा रोजगारीको पर्याप्त अवसर नहुन्जेलसम्मका लागि वैदेशिक रोजगारीलाई विकल्पका रुपमा लिएको सरकारले वैदेशिक रोजगारका क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्न यसैअवधिमा विभिन्न कदम चाल्यो ।

गन्तव्य देशसँग श्रम सम्झौता एवं समझदारी गरेरमात्रै श्रमिक पठाउने नीति अख्तियार गरेको सरकारले केही गन्तव्य देशसँग समझदारीसमेत गर्‍यो ।

गएको वर्षको चैत ११ गते नेपाल सरकार र जापान सरकारबीच नेपाली श्रमिक पठाउनेसम्बन्धी ‘सहयोग समझदारी’ पत्रमा हस्ताक्षर भयो । समझदारीले जापानमा रोजगारीका लागि जाने नेपाली कामदारले जापानी नागरिकसरह सेवासुविधा प्राप्त गर्ने विश्वसनीय आधार खडा गरेको छ । 

यस्तै अफ्रिकी देश मरिसससँग गएको जेठ २८ गते र युएईसँग ३१ गते श्रम समझदारीपत्रमा हस्ताक्षर भयो । जेठ अन्तिम साता स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शत्वार्षिकी कार्यक्रममा ती देशसँग समझदारी भएको हो ।

दुवै देशबीच भएको समझदारीपछि अब नेपाली कामदारले भर्ना प्रक्रियासँग सम्बन्धित कुनै पनि शुल्क व्यहोर्नुपर्ने छैन भने सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्नु पर्नेछ ।

सरकारले श्रम, रोजगार क्षेत्रमा आइपर्ने समस्या, गुनासा तथा सुझावलाई तत्कालै सम्बोधन तथा कार्यान्वयन गर्ने उद्देश्यले गएको चैत १८ गतेदेखि सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ‘कल सेन्टर’को स्थापना गर्‍यो । उक्त कल सेन्टरमा आपत्विपत्मा परेका नेपाली श्रमिकले विश्वको जुनसुकै स्थानबाट निःशुल्क फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

पाँच वर्ष्भित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने अठोट लिएको सरकारले आन्तरिक श्रम बजारमै रोजगारीका अवसर सिर्जना गर्न र बेरोजगार युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउनका लागि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गर्‍यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको वर्ष फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको गर्नुभयो । आर्थिक वर्ष २०७५÷७६ मा झण्डै पौने दुई लाख बेरोजगार नागरिकले छोटो अवधिको भए पनि रोजगारी प्राप्त गरे । 
यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सबै श्रमिकलाई समेट्न सरकारले बहुपक्षीय छलफललाई तीव्रता दियो । अहिलेसम्म सामाजिक सुरक्षा योजनामा करिब ११ हजार ९०२ रोजगारदाता र एक लाख ३५ हजार ४४९ श्रमिक सूचीकृत भएका छन् ।

त्यस्तै ३३ करोड ३५ लाख ११ हजार ९०४ रुपैयाँ योगदान रकम सङ्कलन भएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

 विकेन्द्रित प्रशासन

श्रम मन्त्रालयले भने वर्ष २०१९ मा आफ्ना केही प्रशासनिक अङ्गलाई विकेन्द्रित गर्‍यो । श्रम प्रशासनसम्बन्धी कार्यमा प्रभावकारिता आउने उद्देश्यका साथ प्रत्येक प्रदेशमा कम्तीमा एउटा कार्यालय रहनेगरी सातै प्रदेशमा श्रम तथा रोजगार कार्यालयको स्थापना गरियो । 

यी कार्यालयबाट वैदेशिक रोजगारीका सेवा धमाधम प्रवाह भइरहेका छन् । नागरिकले आफू नजिक रहेको कार्यालयबाट सेवा लिन थालिसकेका छन् । प्रदेशबाटै सेवा प्रदान थालिएसँगै श्रम स्वीकृतिका लागि राजधानी धाउनुपर्ने बाध्यता हटेको छ । 

सरकारले गएको वर्ष पुस १५ गतेदेखि प्रदेश नं २ को जनकपुर र प्रदेश नं ५ को बुटवल, गत पुस २६ गतेदेखि गण्डकी प्रदेशको पोखरा, गत माघ ६ गतेदेखि कर्णाली प्रदेशको वीरेन्द्रनगर, माघ ११ गते सुदूरपश्चिम प्रदेशको धनगढी र माघ २३ गतेदेखि प्रदेश नं १ को विराटनगरबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदान गर्न थाल्यो । 

त्यही अवधिमा वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई अनलाइन प्रणालीमा लैजाने महत्वपूर्ण कामको थालनी गरियो । मागपत्रको प्रमाणीकरण, मागपत्रको पूर्वस्वीकृतिदेखि अन्तिम स्वीकृति, श्रमस्वीकृति अनलाइनबाटै प्रदान गर्न थालियो । यस्तै बीमा र कल्याणकारी शुल्क पनि अनलाइनबाटै भुक्तानी गर्ने व्यवस्था गरियो। 

वैदेशिक रोजगारमा जाने कामदारको छनोट प्रणालीलाई व्यवस्थित बनाउन अनलाइन प्रणालीको विकास गरिएको छ ।

कामदार आफैँले आफ्नो योग्यता र क्षमताअनुसारको वैदेशिक रोजगारीका अवसर खोज्ने गरी अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रियालाई पूर्ण स्वचालित बनाउने ढङ्गबाट वैदेशिक रोजगार विभाग निरन्तर प्रयत्नशील रहेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया