नेपालमा मेडिकल फिट यूएईमा अनफिट

 पुष १७, २०७६ बिहीबार १४:३५:५६ | मेरो कथा मेरो भोगाई

सोनी पुन/रुकुम ।

बुवा नभएको परिवार र श्रीमान् नभएको घरबार कस्तो होला ? मलाई पनि त्यस्तै भयो । धन कमाउन भारत गएका श्रीमान अर्को  बिहे गरेर उतै बस्न थाले । तीनजना छोराछोरी र म यहाँ एक्लो भयौँ । 

त्यसपछि परिवारको खर्च धान्ने कोही भएन । म गाउँमै ज्यामी काम गर्थेँ तर त्यसले घरखर्च चलाउन धौ धौ भएपछि मैले विदेश जाने सोच बनाएँ । छोराछोरीलाई दुःख नहोस्, उनीहरुले राम्रो स्कुल पढाउन सकुँ भनेर मैले विदेश जाने आँट गरेँ ।

आँट त गरेँ तर विदेश कसरी जाने भन्ने मलाई केही पनि थाहा थिएन । एकजना चिनेको दाइले राम्रो देश पठाइदिने भनेर मलाई काठमाण्डौ बोलाउनुभयो ।रुकुमबाट काठमाण्डौ आएँ । त्यो दाइले मलाई बसुन्धरामा रहेको सव–इन्टरनेशनल म्यानपावरमा पुर्‍याइदिए । 

म्यानपावरले महिलालाई यूएईमा क्लीनरमा राम्रो काम पाइन्छ भनेर त्यहीँ जान सल्लाह दियो । मलाई पनि त्यही ठीक लाग्यो । पासपोर्ट बुझाएको एक हप्तामै भिसा आयो । पासपोर्ट बुझाउने बेला भिसा लागेपछि एकलाख ३० हजार रुपैयाँ बुझाउनुपर्छ भनेको थियो । 

मसँगै जाने १० जना अरु महिला साथीहरु पनि हुनुहुन्थ्यो । भिसा आएपछि  हामी प्रत्येकले एकलाख ३० हजार रुपैयाँ नै बुझायौँ तर म्यानपावरले सबैलाई १० हजारको मात्र रसिद बनाइदियो । यस्तो किन भनेर सोध्दा १० हजारमा कसले पठाउँछ भनेर उल्टै रिसाए ।

आखिर हामीले जानैपर्ने थियो, भिसा आइसकेपछि रसिदको कुरामा विवाद गरेर आफैंलाई अप्ठ्यारो होला भनेर केही नबोली सरासर १० हजारको रसिद बुझ्यौँ ।हामी भदौमा यूएई पुग्यौँ । दुबईको एक कम्पनीमा क्लीनरको काम गर्न थाल्यौँ ।

त्यहाँ गएर काम गर्न थालेको डेढ महिनामा कम्पनीले मेडिकल गरायो । २० दिनपछि रिपोर्ट आयो । तर रिपोर्टले मेरो छातीमा दाग भएको देखायो । अर्थात् म मेडिकल फेल भएँ ।

काठमाण्डौमा मेडिकल परीक्षण गर्दा फिट देखाएको तर डेढ महिनामै मेडिकल अनफिट भनेपछि म आफैंलाई अचम्म लाग्यो । तर गर्ने के ? कम्पनीले नै मलाई टिकट काटेर नेपाल पठायो । म त्यहाँ गएको साढे दुई महिनामै रित्तो हात नेपाल फर्किएँ ।

उताको मेरो मेडिकल रिपोर्टमाथि मलाई विश्वास लागेको थिएन । त्यही भएर नेपालका दुई तीनओटा अस्पतालमा पुनः परीक्षण गरेँ । सबै अस्पतालले केही पनि नभएको रिपोर्ट देखायो ।

दुबईको कम्पनीले कतै मेडिकल रिपोर्ट फेरबदल भएर मलाई अनफिट पो देखाएको हो कि जस्तो पनि लाग्छ । तर जे भए पनि अब रिपोर्ट फेल भएर म नेपाल आइसकेँ । फर्केर फेरि म विदेश जान चाहन्नँ तर त्यहाँ जाँदा लागेको खर्च फिर्ता पाउँ भनेर म्यानपावरलाई भन्दा उसले २५ हजार मात्र दिने कुरा गर्छ ।

पठाउने बेला तीन महिना नपुग्दै नेपाल फर्किनु परे सबै पैसा फिर्ता हुन्छ भनेको थियो । तर अहिले म्यानपावरले उल्टै तिमी आफैं मेडिकल फेल भएर आयौ हाम्रो गल्ती के छ र भन्छ । 

वैदेशिक रोजगार विभागमा निवेदन दिँदा पैसा बुझाएको प्रमाण माग्छ । मसँग १० हजारको मात्र रसिद छ ।

केही कमाएर छोराछोरीको अनुहारमा थोरै खुसी ल्याउन भनेर ऋण लिएर भए पनि यूएई गएँ । तर त्यहाँबाट खाली हात फर्किनु परेको छ । त्यत्रो ऋण अब कसरी तिर्ने होला ? साहुले पैसा माग्न थालिसके ।
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया