जनकपुरमा भारतीय संस्कृति राज्यमन्त्रीकाे आग्रह : एक अर्ब भारु सहयाेगका लागि प्रस्ताव पठाउनुस्

 पुस १७, २०७६ बिहिबार १९:०:१५ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - नेपाल भ्रमण वर्ष २०२० मा सहभागी हुन प्रदेश २ को राजधानी जनकपुरधाम आउनुभएका भारतका केन्द्रीय संस्कृति तथा पर्यटन राज्यमन्त्री प्रह्लाद पटेलले घाेषित एक अर्ब रुपैयाँ सहयोगका लागि लिखित प्रस्ताव पठाउन आग्रह गर्नुभएको छ ।

बिहीबार जनकपुरधाम आइपुग्नुभएका राज्यमन्त्री पटेलले जानकी मन्दिरमा पुजापाठपछि सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, ‘पछिल्लो पटक जनकपुरधामको भ्रमणको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँकाे धार्मिक तथा पर्यटकीय विकासका लागि एक अर्ब भारतीय रुपैयाँ सहयोग गर्ने घोषणालाई पूरा गर्न यहाँबाट लिखित प्रस्ताव आवश्यक छ ।’

राज्यमन्त्री पटेलले नेपाल र भारतको रामायणकालीन धार्मिक र सांस्कृतिक सम्बन्ध रहेको चर्चा गर्दै भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेको सहयोग रकम लिन भारत सरकारबाट पटक पटक ताकेता गर्दा पनि नेपाल सरकारले हालसम्म कुनै प्रस्ताव नपठाएका कारण कानुनी जटिलता उत्पन्न भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले नेपाल सरकारकाे पर्यटन मन्त्रालयलाई छिटोभन्दा छिटो एक अर्ब रुपैयाँ बराबरको योजना पठाउन ताकेता गर्दा हालसम्म यहाँबाट कुनै चासो देखाइएन, यहाँबाट प्रस्ताव आउनेबित्तिकै हामी रकम निकासा गरिदिन्छौँ ।’

जानकी मन्दिरमा पूजापाठपछि उहाँलाई प्रदेश २ सरकारले एक कार्यक्रम आयोजना गरी स्वागत तथा सम्मान गरेको थियाे ।

नेपाली सेनाको विशेष हेलिकप्टरबाट १२ बजे जनकपुरधाम आइपुगेका मन्त्री पटेललाई विमानस्थलमा प्रदेश नम्बर २ का पर्यटन मन्त्रालयका सचिव डाक्टर प्रेम नारायण कँडेल, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेल, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक राजेश उप्रेतीलगायतका व्यक्तित्वहरुले स्वागत गर्नुभएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया