धनुषा बम विस्फोट घटनाका मुख्य योजनाकार पक्राउ

 पुस १८, २०७६ शुक्रबार १६:११:४ | सुभाष कर्ण
unn.prixa.net

धनुषा – प्रहरी निरीक्षकसहित ३ जनाको ज्यान जानेगरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरमा भएको बम विस्फोट घटनाका मुख्य योजनाकार पक्राउ परेका छन् ।

घटनाको झण्डै तीन सातापछि मुख्य योजनाकार भनिएका नेत्रबिक्रम चन्द ‘विप्लव’ समूहका नेता आदम राइनलाई धनुषा प्रहरीले शुक्रबार पक्राउ गरेकाे हाे ।

स्थानीय औषधी व्यवसायी राजेश भनेर चिनेने राजेश्वर साहको घरको मूलढोकामा झुण्ड्याइएको टाइम बम विष्फोट हुँदा प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित घरधनी साह र उनका छोरा आनन्द साहको ज्यान गएको थियो । घटनामा एक प्रहरी जवानसहित ३ गम्भीर घाइते भएका थिए ।

घटनालगत्तै फरार भएका आदम राइनलाई धनुषा प्रहरीले घटना भएको करिब २२ दिनपछि पक्राउ गर्न सफल भएको हो । यसअघि विस्फाेटकाे आरोपमा संलग्न विप्लव समूहकै ५ जनालाई पक्राउ गरी कर्तव्य ज्यान एवं विस्फोट मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढाइ सकिएको छ ।

राइनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरीले जनाएको छ । चन्दा माग्दा राजेश्वरले आलटाल गर्दै आएपछि त्यस समूहले गएकाे मंसिर २७ गते राति टाइम बम विस्फोट गराएको धनुषा प्रहरीले जनाएकाे छ ।

घटनामा मुख्य योजनाकारसहित ९ जनाको पहिचानपछि मुख्य योजनाकारसहित संलग्न अन्य ६ जना पक्राउ परिसकेका र बाँकी अन्य आरोपितहरुको पनि खोजी कार्य जारी रहेकोे प्रदेश नम्बर २ का प्रहरी प्रमुख पद्मकुमार कार्कीले बताउनु भयाे । 

राइन पक्राउ परेको बारेमा धनुषा प्रहरीले आधिकारिक पुष्टि नगरे पनि प्रहरी स्रोतका अनुसार आदमलाई प्रहरीले पुस १६ गते राति नै पक्राउ गरेको बुझिएको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया