राष्ट्रिय सभाका १८ जना सदस्यका लागि आज मनोनयनपत्र दर्ता, कुन दलबाट को उम्मेदवार ?

 पुष २०, २०७६ आइतबार ८:३७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो माघ ९ गते हुने राष्ट्रिय सभाका १८ जना सदस्यको चुनावका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ । 

सम्बन्धित प्रदेशका उच्च अदालत रहेका जिल्लामा खोलिएका निर्वाचन अधिकृतको कार्यालयमा आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।

मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले नागरिकताको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको रसिद वा बैंक भौचर तथा प्रस्तावक र समर्थक आवश्यक पर्ने आयोगले जनाएको छ । 

राष्ट्रिय सभाका ५९ जना सांसदमध्ये एकतिहाइको दुई वर्ष, अर्काे एक तिहाइको चार वर्ष र बाँकी एकतिहाइको ६ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार १९ जना सांसदको पदावधि आउँदो फागुन २० गते सकिँदैछ । जसमध्ये एक जनालाई राष्ट्रपतिले मनोनयन गर्ने भएकाले बाँकी १८ जनाका लागि चुनाव हुन लागेको हो । 

चुनावमा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिका मेयर/उपमेयर र प्रदेश सभाका सदस्यले मतदान गर्न पाउँछन् । यो चुनावबाट महिला र अन्य समूहबाट सात–सात जना तथा दलित र अल्पसङ्ख्यक समुदायबाट दुई–दुई जना निर्वाचित हुने आयोगले जनाएको छ । चुनावका लागि दलहरुले उम्मेदवार चयन गरिसकेका छन् । 

कुन दलबाट काे उम्मेदवार ?

सत्तारुढ नेकपाले प्रदेश नम्बर १ बाट इन्दु गौतम, गोपी अछामी र देवेन्द्र दाहाल प्रदेश २ बाट तुलसा दाहाल र राधेश्याम पासवान, प्रदेश ३ बाट गङ्गा बेलबासे र वेदुराम भुसाल, गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने, प्रदेश ५ बाट विमला घिमिरे र जगप्रसाद शर्मा र गोपाल भट्टराई, कर्णाली प्रदेशबाट सुनिता बिसी र मायाप्रसाद शर्मा तथा सुदूरपश्चिम प्रदेशबाट शारदा भट्ट र तारामान स्वाँरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । 

काङ्ग्रेसले प्रदेश १ मा निरबहादुर विश्वकर्मा, मिना पुलामी मगर र राजेन्द्र घिमिरे प्रदेश २ मा नागिना यादव र भोला पन्जियार प्रदेश ३ मा हरिशरण श्रेष्ठ, छलीकुमारी शर्मा र सूर्यप्रसाद रेग्मी, कर्णाली प्रदेशमा विमला गौचन, प्रदेश ५ मा बालकृष्ण पाण्डे, गिरिजा न्यौपाने र मेराज हलवाई, कर्णाली प्रदेशबाट डिल्लिराम पाठक र सवित्रा पौडेल, सुदूरपश्चिम प्रदेशबाट प्रताप ठगुन्ना र तुलसी देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

यस्तै, राजपा नेपालले प्रदेश २ मा  मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंहलाई र सङ्घीय समाजवादी पार्टीले रामप्रीत पासवानलाई नै उम्मेदवार बनाउने भएको छ । उहाँ अहिले पनि राष्ट्रिय सभा सदस्य हुनुहुन्छ । प्रदेश नम्बर २ मा नेकपाले राष्ट्रिय जनता पार्टीसँग र काङ्ग्रेसले सङ्घीय समाजवादी पार्टीसँग तालमेल गर्ने भएका छन् । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया