बाराको कोहल्वी नगरपालिकाका प्रमुख नै ठेकेदारीमा

 पुष २१, २०७६ सोमबार १४:५८:११ | रासस
unn.prixa.net

बारा - कतिपय जनप्रतिनिधिहरू विकास निर्माण कार्यको ठेकेदारीमा आफै संलग्न भएको भन्दै आलोचना भइरहेका बेला बाराको कोहल्वी नगरपालिकामा पनि त्यस्तै प्रवृत्ति देखिएको छ ।

विगतमा ठेक्कापट्टाको काम गर्दै आएका नगरप्रमुख भरतबहादुर भण्डारीले जनप्रतिनिधि भइसकेपछि पनि त्यसलाई निरन्तरता दिएको आरोप लागेको छ । नगरप्रमुख भण्डारीले नातागोता र आफन्तमार्फत विकासका काममा एकाधिकार जमाएको भन्दै कोहल्वी नगरपालिकामा विरोधसमेत सुरु भएको छ ।

अधिकारको दुरुपयोग तथा कर्मचारीसमेत अस्तव्यस्त बनेपछि नगरप्रमुख भण्डारीविरुद्ध अन्य जनप्रतिनिधि र स्थानीयवासी आक्रोशित बनेका हुन् । बाटोको ठेक्का लिई मनलाग्दी खन्दै हिँड्ने, कामको उचित मूल्याङ्कन नगर्ने तथा ठेक्का प्रणालीलाई प्रश्रय दिने गतिविधिमा नगरप्रमुख भण्डारी संलग्न भएको स्थानीयवासीको आरोप छ ।

नगरप्रमुख भण्डारीले आफ्नै सालालगायतका व्यक्तिमार्फत गत साउनमा निर्माण गरेको सडकको कालोपत्र काम पूरा नहुँदै उप्किएको स्थानीयवासी प्रेमा अधिकारीले बताउनुभयो । नगरपालिकाभित्रका काममा मात्र नभई प्रदेश सरकारअन्तर्गतका काममा समेत नगरप्रमुख भण्डारीको अनुचित संलग्नता देखिएको स्थानीयवासीको आरोप छ ।     

नगरप्रमुख भण्डारीले कमाउने धन्दामा भन्दा पनि इमान्दारपूवर्क जनताको सेवामा लाग्नुपर्ने जनप्रतिनिधि बलराम अधिकारीले बताउनुभयो । उपभोक्ता समितिमा आफन्त र आफू अनुकूलका व्यक्तिलाई राखिएको र त्यही माध्यमबाट काममा अनियमितता भइरहेको नगरवासीले आरोप लगाएका छन् ।

विकासका काममा आफूसँग भएका उपकरणहरु प्रयोग गर्न वडाहरुले लैजाने गरेको तर आफ्नो कुनै संलग्नता नरहेको नगरप्रमुख भण्डारीको जिकिर छ । स्थानीय र अन्य जनप्रनिधि भने विकास बजेट नगरप्रमुख भण्डारीले आफ्ना आसेपासेलाई मनलाग्दी बाँडेको आरोप लगाइरहेका छन् ।

निर्वाचित जनप्रनिनिधिमाथि यस्ता गम्भीर आरोप लगाइँदा पनि नियामक निकायले छानबिनमा तदारुकता नदेखाउनु झन् समस्या रहेको स्थानीय जानकारहरुको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया