उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
सल्यान - सल्यान जिल्ला अदालतले दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न मुख्य अभियुक्त टिकाराम घर्तीलाई जन्मकैद सहित १२ वर्ष कैदकाे फैसला सुनाएको छ ।
जिल्ला अदालतले ५९ वर्षीय श्रेष्ठको अपहरण पछि हत्यामा संलग्न तुलसीपुर ६, स्याउलीबजारका ४१ वर्षीय घर्तीलाई जन्मकैदसहित १२ वर्ष थप र अरु ७ जनालाई ९ देखि १६ वर्षसम्मको सजाय ताेकेकाे हाे ।
फैसला सम्बन्धमा जिल्ला अदालतका श्रेष्तेदार दीपक पोखरेलले भन्नुभयो,‘ घर्तीलाई जन्मकैदसहित अपहरणको मुद्दामा १० वर्ष सजाय सुनाइएको छ, यस्तै उनलाई अपहरणकै मुद्दामा थप २ वर्ष सजाय सुनाइएको छ ।’
न्यायाधीश कुलप्रसाद केसीले गरेको फैसला बमोजिम टिकारामबाहेक अन्य आरोपित ७ जनालाई १५ देखि १६ वर्ष सम्मको सजाय सुनाइएको छ । अभियुक्त ८ जनालाई नै जनही ५० हजार रुपैयाँका दरले जरिबाना समेत तोकिएको छ ।
अदालतले टिकारामकी छोरी २० वर्षीया पूजा घर्तीलाई अपहरण मुद्दामा आठ वर्ष र थप दुई वर्ष कैद सुनाएको छ । रोल्पा र्कोचावाङ्ग–१ का विरे घर्तीलाई अपहरण मुद्दामा सात वर्ष र थप दुई वर्ष कैद सजाय तोकेको छ । उनीहरु दुवैलाई ज्यान मार्ने उद्योगमा सफाइ दिइएको छ ।
यस्तै तुलसीपुर– १२ का २७ वर्षीय अविरल महतरालाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष, अपहरणमा नौ वर्ष र थप दुई वर्ष गरी १६ वर्ष कैद सजाय तोकिएको छ ।
यस्तै सल्यान घर भई दाङ हेकुली– ६ बालापुर बस्ने २९ वर्षीय मान बहादुर भण्डारी, रोल्पा जंकोट १ का मन बहादुर पुन, तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ९ वेलुवा शिवज्योती टोल बस्ने ४३ वर्षीय नारायण वली र तुलसिपुर र– ६ का रुगद थापा चारै जनालाई ज्यान मार्ने उद्योगमा ५ वर्ष, अपहरणमा ८ वर्ष र थप २ वर्ष गरी १५ वर्षको सजाय सुनाइएको छ ।
घटनामा आरोपित तीन जनालाई भने सफाइ दिइएको छ । तुलसीपुर - ८ का ३० वर्षीय भुपेन्द्र भण्डारी, घोराही १४ की जमा पुन र तुलसीपुर ११, कटाहाका खुमबहादुर केसीलाई भने अदालतले सफाई दिएको हो ।
घटनापछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै १४ जना आरोपितमध्ये ११ जनालाई पक्राउ गरेको थियो । तीन जना भने अझै फरार रहेका छन् । श्रेष्ठको २०७४ जेठ २६ गते अपहरण पछि हत्या भएको थियो । अपहरण भएको तीन दिन पछि श्रेष्ठको शव सल्यानको छत्रेश्वरी ४, झिम्पेमा फेला परेको थियो ।
यसरी भएको थियो व्यापारी श्रेष्ठको अपहरण र हत्या
२०७४ जेठ २६ गते शुक्रबार अपराह्न रोटरी क्लब अफ तुलसीपुरको बैठक बोलाइएको थियो । श्रेष्ठ त्यही बैठकमा सहभागी हुनुहुन्थ्याे । बैठकमै रहँदा उहाँको फोनको घण्टी बज्यो, फोन थियो १७ वर्षीया पूजा घर्ती मगरको ।
पुजाले घुम्न जाउँ भनेर प्रस्ताव राखेपछि व्यापारी श्रेष्ठ बैठक सकेर घरमा पुग्नुभयाे । त्यस लगत्तै श्रेष्ठ केहीबेरमा आउँछु भनेर बा ११ च १०७१ नम्बरको कार लिएर घरबाट निस्किनुभयाे ।
युवतीलाई तुलसीपुरको वीरेन्द्र चोकदेखि उत्तरतिर सल्यान रोडबाट गाडीमा राखेर सल्यानतिर लाग्नुभयाे । व्यापारी श्रेष्ठ अपहरणमा परेको भने भोलिपल्ट मात्रै थाहा भएको थियो ।
व्यापारी श्रेष्ठकी पत्नीले आफ्ना श्रीमान शुक्रबारदेखि नै घर नआएको र सम्पर्कविहीन भएको प्रहरीलाई जानकारी गराएपछि उहाँको अपहरण भएको खुलेको थियो । जेठ २६ गते साँझ घरमा केही बेरपछि आउँछु भनेर निस्किएका पति भोलिपल्ट दिउँसोसम्म पनि घर नआएपछि पत्नीले इलाका प्रहरी कार्यालय तुलसीपुरमा खबर गर्नुभएकाे थियाे ।
त्यसपछि व्यापारी श्रेष्ठको खोजीमा खटिएको प्रहरीको टोलीले जेठ २७ गते श्रेष्ठले चढ्ने गरेकाे बा १२ च १०७१ नम्बरको कार सल्यानको कपुरकोट गाउँपालिकामा रहेकाे सिनबाङ र रिमको बीचमा पर्ने जङ्गलमा हावा फुस्काइएको अवस्थामा फेला पारेको थियो ।
उहाँको कारसँगै भारतीय नम्बर प्लेटको कार पनि नजिकै फेला परेपछि भने प्रहरी व्यापारी श्रेष्ठ अपहरणमा परेको निष्कर्षमा पुगेको थियो । अपहरणकारीले व्यापारी श्रेष्ठको आवाजमा भ्वाइस रेकर्ड गरेर फोनमा श्रेष्ठका परिवारलाई पठाएका थिए ।
परिवारलाई पठाइएको भ्वाइस क्लिपमा ‘आफू सकुशल रहेको र मुक्तिका लागि तीन करोड रुपैयाँ दिनू’ भन्ने उल्लेख थियो । प्रहरीका अनुसार तीन करोड रुपैयाँ फिरौती दिन श्रेष्ठको परिवार सहमत भइसकेको थियो ।
तर, छत्रेश्वरी गाउँपालिकाको घना जंगलमा व्यापारी श्रेष्ठ एक्कासी मधुमेह बढेर अचेत भएर लडेपछि सबै फस्ने त्रासका कारण ढुङ्गाले थिचेर हत्या गरेको अभियुक्तहरुले बयान दिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।