१९ वर्षमुनिको एशिया कप क्रिकेट खेल्न यूएई जाने नेपाली टोलीको...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयल (त्रिवि)ले आउँदाे फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे चुनाव गर्ने निर्णय गरेको छ ।
त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु चुनाव गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।
परिषद्ले महाशाखा प्रमुख थापालाई त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ । ‘‘मलाई आज मात्र फागुन १४ मा निर्वाचन गर्न आवश्यक तयारीको लागि पत्र प्राप्त भएको छ’’, उहाँले भन्नुभयो, ‘‘अब हामी स्ववियु निर्वाचनको तयारीमा जुट्छाैँ ।’’उहाँले सोमबार त्रिविका ६२ आङ्गिक क्याम्पसलाई पत्र लेख्दै निर्वाचनको तयारी गर्न निर्देशन दिने बताउनुभयो ।
त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त करीब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । गएकाे दश वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन् । महाशाखा प्रमुख थापाले सबै विद्यार्थीसँग छलफल गरेर निर्वाचनको तालिका सार्वजनिक गर्ने बताउनुभयो ।
प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता त्रिविका सबै क्याम्पसमा हुनसकेको छैन । विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो । विसं २०७३ मा करीब २५० क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । त्यतिबेला उपत्यकाभित्रका आरआर, शिक्षा, सानोठिमी, भक्तपुर बहुमुखी, पिपल्स, जनप्रशासन, पुल्चोक इञ्जिनीयरीङ, थापाथली इञ्जिनीयरिङ, महाराजगञ्ज शिक्षण अस्पताललगायतका क्याम्पसमा भने निर्वाचन भएको थियो ।
विसं २०७३ भएको स्ववियु निर्वाचनको २०७५ फागुन १४ गते नै कार्यकाल सकिए पनि त्रिविले एकवर्ष समयावधि थप गरेको थियो । त्यसअघि त्रिविले तीन पटक स्ववियु निर्वाचन घोषणा गरेपनि हुनसकेको थिएन । त्रिविको विनियमावलीमा संशोधन गरेर २०६९ सालमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन गर्ने व्यवस्था गरेको थियो ।
सुरुमा नेपाल विद्यार्थी सङ्घले उमेर हदबन्दीको विरोध गरेको थियो । पछि एक कार्यकाल उमेर हदबन्दी नलगाउने र मिश्रित निर्वाचन प्रणालीमा जानेमा सबै सङ्गठन सहमत भएका थिए । २०६९ सालमा स्ववियु निर्वाचनको हुन लाग्दा अन्तिम समयमा आएर स्थगित भएको थियो ।
अहिले अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन गरी मिश्रित निर्वाचन प्रणाली अवलम्बन गर्ने व्यवस्था गरिएको छ ।
अनेरास्ववियूका संयोजक ऐन महरले आफूहरु पहिल्यैदेखि नै स्ववियु निर्वाचनको पक्षमा रहेको बताउनुभयो । उहाँले सोमबार बस्ने केन्द्रीय कमिटी बैठकबाट निर्वाचनको तयारीमा लाग्न सबै क्याम्पस एकाइ कमिटीलाई निर्देशन दिने बताउनुभयो ।
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का निवर्तमान अध्यक्ष नैनसिंह महरले आफूहरु स्ववियु निर्वाचनमा सहभागी हुने बताउनुभयो । ‘‘स्ववियु हामीले जन्माएको हुनाले हामी निर्वाचनमा सहभागी हुन्छौ’’, उहाँले भन्नुभयो, ‘‘निर्वाचन नभाँडेर स्वच्छ, निष्पक्ष गराउनुपर्ने छ ।’’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।