जनकपुरसँग जोडिएका भन्सारमा छिट्टै विषादी प्रयोगशाला र क्वारेन्टाइन स्थापना हुन्छ : मन्त्री खतिवडा

 पुस २६, २०७६ शनिबार १९:४७:१३ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले जनकपुरधामको व्यवसायिक समृद्धिका लागि नजिकै रहेका जटही र भिट्टामोड भन्सार नाकामा चाँडै नै विषादी परीक्षण प्रयोगशाला र क्वारेन्टाइन स्थापना गर्ने बताउनु भएको छ ।

जनकपुरधामामा शनिबार जनकपुर उद्योग वाणिज्य संघद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री डा. खतिवडाले जनकपुरधाम भविष्यको स्थायी राजधानी हुने भएको हुनाले यहाँ व्यवसायिक भार सक्ने कुरा दृष्टिगत गर्दै यहाँ राजश्व कार्यालयको दायरा बढाउन र भन्सार नाकाहरुमा गोदाम तथा कर्मचारी थप्ने गृहकार्यमा सरकार जुटेको जानकारी समेत दिनुभयो ।

व्यवासयीहरुले भीसीटीएसभित्र कारोबार गर्दा पनि राजश्व अनुसन्धान कार्यालय र प्रहरीले अनाहकमा दुख दिने गरेको गुनासोबारे उहाँले भन्नुभयो, भीसीटीएस भित्र रहेर काम गर्दा पनि यदि कुनै निकायले ज्यादती गरिरहेको छ भने लिखित रुपमा प्रमाणसहित जानकारी गराउनुस्, कारबाही हुन्छ ।

डा. खतिवडाले जनकपुरधाममा अन्तर्राष्ट्रिय विमानस्थल र राजश्व अनुसन्धान कार्यालय स्थापना हुनुपर्ने व्यवसायीहरुको मागमा यी सबै प्राविधिक विषय भएकाले योजना लिएर सम्बन्धित मन्त्रालयमा गए आफूले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयाे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जनकपुरधाममा अन्तर्राष्ट्रिय विमानस्थल, भारतीय गाडीको समय सीमा २९ दिनबाट बढाएर २ महिनासम्म गर्न र कर तथा महसूलमा छुट गरी प्रादेशिक स्तरीय सवारी साधन प्रयोगमा ल्याउन सकिने कार्यविधि ल्याउन सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुले जटही भन्सार नाकामा पूर्वाधार तयार गरी १० लाख रुपैयाँभन्दा बढी माल निर्यात गर्न सकिने वातावरण छिमेकी राष्ट्र भारतसँग समन्वय गरी मिलाउनु पर्ने, कृषिजन्य उपकरण तथा मलखाद्यमा कर सहुलियत गर्नुपर्ने, जनकपुरधाममा मलखाद्य उद्योग राजश्व अनुसन्धान कार्यालय स्थापना हुनुर्ने, भारतबाट आयात जीएसटी कटाएर कर तिरिसकेका मालसमान पक्राउ गर्ने निकायका कर्मचारीलाई कारबाही हुनुपर्ने लगायतका मागहरु अघि सारेका थिए ।

नेपाल वाणिज्य संघ प्रदेश २ का शिवशंकर साह तथा जनकपुर उद्याेग वाणिज्य संघका पूर्व अध्यक्षहरुलगायतका वक्ताहरुले जनकपुरधाम क्षेत्रमा रहेको व्यवसायिक समस्या बारे आ आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रमपछि मन्त्री डा. खतिवडाले जटही भन्सार नाकाको निरीक्षण समेत गर्नुभएको थियाे । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया