इराकमा रहेको अमेरिकी सैनिक शिविरमा फेरि रकेट आक्रमण, चार सैनिक घाइते

 पुस २८, २०७६ सोमबार ६:४७:० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इराकमा रहेको अमेरिकी वायु सेनाको शिविरमा फेरि रकेट आक्रमण भएको छ । आक्रमणमा इराकी सेनाका दुई अधिकारी र दुई सैनिक घाइते भएका छन् । 

इराकी सेनाले आइतबार सैनिक शिविरमा आक्रमण भएको जनाएको छ । ‘बगदादबाट झण्डै ८० किलोमिटर उत्तरमा अल–बलाड सैनिक शिवरिमा कम्तीमा ६ वटा रकेट प्रहार भएको छ’, सेनाले जारी गरेको बयानमा गरिएको छ । 

अल–बलाड सैनिक अड्डा इराकमा रहेको अमेरिकी वायु सेनाको प्रमुख शिविर हो । इराकले आफ्नो एफ–१६ लडाकु विमान पनि यही राख्दै आएको छ । यो आक्रमणमा अमेरिकी सैनिकलाई कुनै पनि हानी नपुगेको बताइएको छ । 

अमेरिका र ईरानबीच तनाव बढ्दै गएपछि यहाँबाट धेरैजसो अमेरिकी सैनिकले छोडिसकेका छन् । रकेट कहाँबाट प्रहार भएको थियो भन्ने बारेमा जानकारी प्राप्त भइसकेको छैन । 

ईरानले आफ्नो शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्यापछि गएको हप्ता यही सैनिक शिविरमा मिसाइल प्रहार गरेको थियो । 

अमेरिकाले इराकको अन्तर्राष्ट्रिय विमानस्थलनजिक क्रुज मिसाइल प्रहार गरेर सुलेमानीको हत्या गरेको थियो । यो घटनापछि अमेरिकी र ईरानबीच तनाव झन् बढ्दै गइरहेको छ । 

पछिल्ला दिनमा इराकमा रहेका अमेरिकी सैनिक शिविरमा आक्रमणको सिलसिला बढिरहेको छ । तर धेरैजसो आक्रमणमा इराकी सैनिक घाइते भएका छन् । यस्तै आक्रमणमा एक अमेरिकी कन्ट्रयाक्टरको ज्यान गएको थियो ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया