चीनले आक्रमण गरे महँगो मूल्य चुकाउनु पर्नेछ : ताइवान

 माघ १, २०७६ बुधबार १०:१२:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ताइवानकी राष्ट्रपति साइ इङ्ग–वेनले चीनले ताइवानमाथि आक्रमण गरे महँगो मूल्य चुकाउनु पर्ने बताएकी छिन् । बीबीसीलाई दिएको एउटा विशेष अन्तवार्तामा उनले चीनले ‘सत्यको सामना गर्नुपर्ने’ र ताइवानलाई ‘इज्जत’ दिनुपर्ने बताएकी हुन् ।

डेमोक्रेटिक प्रोगेसिभ पार्टीकी वेन गएको शनिबार भएको मतपरिणाममा भारी मतले जित्दै फेरि एक पटक ताइवानकी राष्ट्रपति बनेकी हुन् । उनले आफ्नो चुनावी अभियानमा चीनबाट हुन सक्ने खतराप्रति आममानिसको ध्यान खिँच्ने कोसिस गरेकी थिइन् । 

चीनको सत्ताधारी कम्युनिस्ट पार्टी ताइवानमा लामो समयदेखि आफ्नो अधिकार दाबी गर्दै आएको थियो । कम्युनिस्ट पार्टीले आवश्यक परेको खण्डमा ताइवानलाई बलपूर्वक लिनसक्ने हक आफूसँग रहेको सम्म भनेको थियो । 

तर साइ इङ्ग–वेनले ताइवानको सम्प्रभुतालाई कुनै पनि स्थितिसँग सम्झौता नगर्ने बताएकी छिन् । 

६३ वर्षीया वेनले बीबीसीलाई दिएको अन्तर्वार्तामा भनिन्, ‘हामीलाई आफै एक स्वतन्त्र देश घोषणा गर्नु पर्ने जरुरी छैन । हामी पहिलेदेखि नै एक स्वतन्त्र राष्ट्र हौँ र आफूलाई रिपब्लिक अफ् चाइना, ताइवान भन्छौँ ।’

'चीनले लगातार धम्की दिइरहेको छ' 

‘चीन चाहन्छ कि ताइवान ‘एक चीन नीति (वन चाइना पोलिसी)’ को समर्थन गरिरहोस्’, वेनले भनिन् । राष्ट्रपति चुनावमा वेनका मुख्य प्रतिद्वन्द्वी खान ग्वे यी र उनको पार्टी कुओमिनटाङ्ग पनि ‘एक चीन नीति’ को समर्थक हो ।

‘एक चीन नीति’ मान्नु भनेको ताइवान कुनै अलग देश होइन, चीनको एक हिस्सा हो ।      

साइ इङ्ग–वेन चीन र ताइवानबीचको वर्तमान स्थितिको समर्थन गर्छिन् र चीनसँग सुमधुर सम्बन्ध चाहन्छिन् । उनी हङकङका लोकतन्त्र समर्थक प्रदर्शनकारीहरुको पक्षमा पनि उभिएकी छिन् । 

वेन आफ्नो जितले ताइवानका नागरिक ‘एक चीन नीति’ को समर्थन कम भावुक देखिएका बताउँछिन् । 

उनी भन्छिन्, ‘अवस्था बदलिएको छ । चीन पनि बदलिएको छ । चीनले पछिल्ला तीन वर्षमा धेरै धम्की दिइरहेको देखेका छौँ । उसले ताइवानमा सैनिक विमान पठाइ रहेको छ । यसको अलावा हङकङमा जे भइरहेको छ, त्यो पनि चीनको धम्कीकै कारण परिणाम दिनहुँ गम्भीर बन्दै गइरहेको छ ।’

वेनले ताइवानको छुट्टै पहिचान रहेको र ताइवान छुट्टै देश भएको बताउँदै ताइवानविरुद्ध कसैले आवाज उठाए ताइवानी युवा त्यसको विरोधमा उत्रने बताइन् । 

‘हामी एक लोकतान्त्रिक देश हौँ । हाम्रो राम्रो अर्थव्यवस्था छ र हामीसँग चीनले सम्मान गर्नु पर्ने हैसियत छ’, वेनले भनिन् । 

वेनले आफ्नो जितसँगै चीनले ताइवानमाथि अझ धेरै दबाब बढाउन सक्ने बताइन् । यी सबै चीजलाई ध्यानमा राख्दै ताइवानले व्यापारिक सम्बन्धमा विविधता ल्याउन अर्थव्यवस्था बलियो बनाउने कोसिस गरिरहेको उनको दाबी छ । 

के ताइवान चीनसँगको युद्धको लागि तयार छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘हामी आफ्नो क्षमता बढाउने पूरै कोसिस गरिरहेका छौँ । चीनले ताइवानमाथि आक्रमण गरे महँगो मूल्य चुकाउनु पर्नेछ ।’

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया