यतिले दिएकाे भन्दा ५० कराेड बढी दिन्छु, गाेकर्ण रिसाेर्टकाे जग्गा सरकारले मलाई दिन्छ ? : रायमाझी

 माघ ५, २०७६ आइतबार १४:५१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली काङ्ग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजङ्ग रायमाझीले गोकर्ण रिसाेर्टको जग्गा आफूलाई दिन सरकारसमक्ष प्रस्ताव गर्नु भएकाे छ ।  

गाेकर्ण रिसाेर्ट लिजबापत यति हाेल्डिङ्स प्रालीले दिएभन्दा ५० करोड रुपैयाँ आफूले तिर्ने भन्दै रायमाझीले यस्ताे प्रस्ताव राख्नु भएकाे हाे । राष्ट्रिय सभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उहाँले अहिले भाडामा लिएको कम्पनिले भन्दा ५० करोड रुपैयाँ बढी दिने भन्दै आफूलाई भाडामा दिन सरकारलाई चुनौती दिनुभएको हो ।

उहाँले सरकारका मन्त्री, सभाध्यक्ष र माननीयहरुलाई साक्षी राखेर आफूले सरकारलाई ५० करोड रुपैयाँ बढी दिने प्रस्ताव राख्नु भएको हो । उहाँले भन्नुभयो, 'सरकारका मन्त्रीज्यूहरु उपस्थित हुनुहुन्छ । सम्माननीय अध्यक्षज्यू र माननीयज्यूहरु सबैलाई साक्षी राखेर म भन्न चाहन्छु । त्यो रिसाेर्ट सरकारले जुन हैसियत र बाटोमा दियो, जसरी दियो सरकारलाई म एउटा प्रस्ताव राख्न चाहन्छु । रिसाेर्टलाई जति पैसामा दिएको छ त्योभन्दा ५० करोड रुपैयाँ बढी म तिर्न तयार छु । सरकार दिन तयार छ मलाई ? छैन । किन दिँदैन भने त्यहाँ ५० करोडभन्दा बढीको अनियमितता भएको छ । 

उहाँले प्रधानमन्त्री केही गिरोहको घेराभित्र मात्रै रमाउने गरेको र उनीहरुकै रिपाेर्टिङका आधारमा देशकाे विश्लेषण गर्ने गरिएको भन्दै गम्भीर आपत्ति पनि जनाउनु भयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट गर्नुपर्ने कामहरु पनि बालुवाटारबाट गर्ने गर्नु भएको भन्दै सिंहदरबारकाे प्रधानमन्त्री कार्यालयमा ‘प्रधानमन्त्रीले बाल्यकालमा लगाएका वस्त्रहरु राख्ने हो ?’ भनि प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, 'प्रधानमन्त्री बालुवाटारमा बस्नु हुन्छ । प्रधानमन्त्रीको निवास हो बालुवाटार । प्रधानमन्त्रीको कार्यालय होइन बालुवाटार । प्रधानमन्त्री बालुवाटारबाट सिंहदरबार आउन छोडिसक्नु भएको छ । सिंहदरबारको आवश्यक्ता परेन भने सिंहदरबारमा ताला लगाउने हो कि ? प्रधानमन्त्री सुत्ने ठाउँमा मिटिङ गर्ने, भेटघाट गर्ने ? अब प्रधानमन्त्रीले बाल्यकालमा लगाएका वस्त्रहरु प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राख्ने हो ?'

उहाँले संविधानले गरेको व्यवस्था विपरीत आएका विधेयकहरुलाई राष्ट्रिय सभाले अस्वीकार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नेपाल विशेष सेवासम्बन्धी विधेयकले नागरिकको व्यक्तिगत फोन ट्याब गर्नसमेत पाउने गरी ल्याइएको विधेयक स्वीकार गर्न नसकिने बताउनु भयो ।

उहाँले प्रश्न गर्नुभयो, 'हिजो राजा ज्ञानेन्द्रले 'कू' गरेर मोबाइल बन्द गर्दा बेठिक र आज जनताको फोन ट्याप गर्न पाउने विधेयक ल्याएर नयाँ महाराजा बन्न खोज्ने कसरी ठिक हुन सक्छ ? सम्माननीय अध्यक्ष महोदय!'

संसद एक महिनादेखि अवरुद्ध भएकोप्रति पनि उहाँले आपत्ति जनाउनु भयो । उहाँले भन्नुभयो, सदनको काम कारबाही बन्द गर्ने अधिकार कसैलाई छैन । राष्ट्रि सभाको अर्को बैठक बस्दासम्म प्रतिनिधिसभाको बैठक सञ्चालन नभए मैले सदनको कारबाही वहिष्कार गर्ने स्थिति नआओस् ।'

राष्ट्रिय सभा सदस्य राजकुमार कुँवरले १० वर्षे सशस्त्र द्वन्द्वपछि त्यसकै आडमा सरकारमा पुगेकाहरुले तत्कालीन द्वन्द्वमा योगदान दिएका घाइते योद्धालाई वेबास्ता गर्ने काम भएको भन्दै गुनासो गर्नुभयो ।

त्यस्तै राष्ट्रिय सभा सदस्य कोमल ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का बारेमा दलहरुबाटै स्पष्ट विरोध नआएको र यसबारे भ्रम फैलाउने काम भएको भन्दै यसतर्फ सचेत हुन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया