भन्सारका कर्मचारीको मानसिकताले वस्तुको मूल्यांकन तथा वर्गीकरणमा समस्या : भवानी राणा

मालवस्तुकाे परेको मूल्य घोषणा गर्न राजश्व सचिव ढुंगानाकाे आग्रह

 माघ ७, २०७६ मंगलबार १९:४५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भन्सारमा बस्ने कर्मचारीको मानसिकताले वस्तुको मूल्यांकन तथा वर्गीकरणमा समस्या हुने गरेको बताउनु भएको छ । 

६८ औँ अन्तर्र्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष राणाले भन्सारमा रहेका कर्मचारीको माइण्ड सेटका कारण समस्या हुने गरेको बताउनुभयो । उहाँले व्यक्ति परिवर्तन हुँदा वस्तुको मूल्याङ्कन र वर्गीकरणमा समस्या देखिने गरेको बताउनुभयो ।

कार्यक्रममा राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले व्यवसायीहरुले आफूले आयात गरेको वस्तुको वास्तविक मूल्य नदिएकाले समस्या आएको बताउनुभयो ।

उहाँले एउटै वस्तु एउटै ब्राण्ड र एउटै गुणस्तरको वस्तुको फरक फरक मूल्यमा ल्याएको देखाउँदा मान्य नहुने बताउनुभयो । उहाँले व्यवसायीहरु इमान्दार भएर मूल्य खुलाएमा कुनै समस्या नहुने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी क्लियर छौँ, व्यवस्थित गरौं, विधिसम्मत गरौं । सबै जनाले आफ्नो मालवस्तुलाई व्यवस्थित रुपमा आफ्नो परेको मूल्य घोषणा गरौँ त्यसले गर्दा भोलिपर्सि समस्या पर्दैन ।’

सचिव ढुंगानाले उत्पादनशील संरक्षित क्षेत्रमा भन्सारले संरक्षण गर्ने र विकासको लागि आधार दिने तथा निर्यातमा सहयोग गर्ने नीति सरकारको रहेको बताउनुभयो ।

उहाँले उद्योगी व्यवसायीहरुले भनेजस्तो ब्याक ट्रयाकमा नीतिहरु नफर्किने बताउनुभयो । उहाँले सरकारले कच्चा पदार्थ आयातमा सुविधा दिन सक्ने, बैंक कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिनसक्ने, बिजुलीको दरमा छुट दिनसक्ने लगायतका काम गर्न सक्ने तर स्थापित भइसकेको १३ प्रतिशत भ्याटबाट फेरि ब्याक हुन नसक्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया