प्रदेश १ सरकारको निर्णय : मुख्यमन्त्रीका ३ जना विषयगत विज्ञ नियुक्त, प्राधिकरणको निर्देशकमा कोइराला

 माघ १३, २०७६ सोमबार १९:२३:२१ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ -  प्रदेश १ काे प्रदेश सभाको पाँचौ तथा हिउँदे अधिवेशन यही माघ २३ गते ३ बजे आह्वान गर्न प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । साेमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेकाे बैठकले अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेकाे हाे । 

यस्तै बैठकले मुख्यमन्त्रीका सल्लाहकारहरु नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री शेरधन राइको जनसम्पर्क सल्लाहकारमा रामकुमार बस्नेत, आर्थिक सल्लाहकारमा डा. महेन्द्रबहादुर गुरुङ र सुचना प्रविधि सल्लाहकारमा किशोर सुवेदीलाई विज्ञको रुपमा नियुक्त गर्ने निर्णय गरेकाे छ ।

त्यस्तै बैठकले सार्वजनिक नीजि, साझेदारी लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा डा. सरोज कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदले ५ वटा विधेयक प्रदेश सभामा पठाउन स्वीकृत प्रदान गरेको छ । प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश बन बिधेयक, प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले जानकारी दिनुभयो ।

प्रदेश सरकारले सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणयुक्त प्रदेश बनाउने बारेमा पनि निर्णय भएको छ । यो निर्णय मंगलबारदेखि नै लागू गर्ने तयारी प्रदेश सरकारको छ ।

मंगलबारदेखि नै प्रदेश मन्त्रालय आसपासका एक सय मिटरको दुरीमा सुर्ती तथा सुर्तिजन्य पदार्थको बेचबिखन र प्रयोग गर्न नपाउने गरी अभियान सुरु हुने मन्त्री आङ्बोले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया