पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – शङ्खरापुर नगरपालिकाको साँखुबाट चार वर्ष पुरानो ज्योतिर्लिङ्गेश्वर महादेवको मूर्ति चोरी भएको छ । साल्खा महादेवस्थानको नामले चिनिने सुनको जलप लगाएको तामाको प्रतिमूर्ति साँखुका मूल पुरोहित सुदनराज राजोपाध्यायको घरबाट गए राति चोरी भएको हो ।
हरेक वर्ष जनैपूर्णिमाको जात्रामा पूजा गरिने झण्डै साढे दुई फिटको चारमुखी ज्योतिर्लिङ्गेश्वर महादेवको मूर्ति मध्यरातमा घरबाटै चोरी भएको पूजारी सुदनराज राजोपाध्यायले जानकारी दिनुभयो । भूकम्पले मूर्ति राख्ने घर भत्किएपछि पूजारीकै घरमा मूर्ति राख्ने गरिएको थियो ।
पूजारीको काका नाता पर्ने आनन्दराज राजोपाध्याय राति शौचालय जान खोज्दा घरको ढोकामा बाहिरबाट चुकुल लगाएको पाएपछि उहाँ झ्यालबाट निस्किनु भएकाे थियाे । मूर्ति राखिएको कोठाको ढोका खुला देखिएपछि गएर हेर्दा चोरी भएको थाहा पाएको राजोपाध्यायले बताउनु भयो ।
उहाँ भन्नुहुन्छ, 'अन्य कोठामा समेत बाहिरबाटै चुकुल लगाएको देखेपछि महादेवको मूर्ति राख्ने कोठामा गए, हेर्दा मूर्ति नभेटिएपछि तत्कालै छिमेकी र प्रहरीलाई खबर गरिहालेँ ।'
उहाँका अनुसार घरको पर्खालमा रहेको गमला फुटेको र पर्खाल नजिकै मूर्तिमा रहेको महादेवको नाग भेटिएकाले घरको पर्खाल चढेर मूर्ति चोरेको हुन सक्ने आशङ्का रहेको छ । मूर्ति राखिएको पूजारीको घरमा व्रतालुसमेत बस्ने गरेकाले व्रतालुलाई आवतजावतमा समस्या नहोस् भनि मुलद्वारमा तालासमेत लगाउने गरेको थिएन ।
घटनाको खबर प्राप्त भएलगत्तै प्रहरी परिचालन गरेको महानगरीय प्रहरी प्रभाग साँखुले जानकारी दिएको छ । ज्योतिर्लिङ्गेश्वर महादेव ६४ लिङ्गेश्वरमध्ये ३४औँ लिङ्गेश्वरका नाममा चिनिन्छ ।
यस ठाउँमा माधवनारायण (ज्योतिर्लिङ्गेश्वर) महादेवको व्रत बस्ने व्रतालु शिवरात्रिका दिन जाग्राम बस्दछन् । त्यस दिन जाग्राम बसेपछि मात्रै माधवनारायण व्रतका क्रममा आफूले इच्छाएको पूरा हुने जनविश्वास छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।