केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना, बिहीबारदेखि पानी पर्न कम हुने

 माघ १४, २०७६ मंगलबार ७:३६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मङ्गलबार देशका केही ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् ।

विशेषगरी पश्चिमका केही र मध्य तथा पूर्वका एक/दुई ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

यस्तै मध्य र पूर्वको भने उच्च हिमाली भेगमा मात्रै पानी पर्ने उहाँको अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको असरले मङ्गलबार देशभरिकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना निकै कम छ । 

पश्चिमी भागको मौसम दिनभरि नै बदली भए पनि मध्य र पूर्वको मौसम भने एकैछिन घाम लाग्दै फेरि बादल लाग्ने उहाँले बताउनु भयो । यो प्रणाली बुधबारसम्ममा पूर्वमा पनि फैलने भएकाले भाेलि देशभरिकै मौसम बदली हुनेछ । 

मङ्गलबारभन्दा बुधबार धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो । बिहीबारदेखि भने फेरि पानी पर्न कम हुने उहाँको अनुमान छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया