काेराेना भाइरस : 'सङ्क्रमित भएकामध्ये ६० जना उपचारपछि डिस्चार्ज भए'

 माघ १४, २०७६ मंगलबार १२:३३:१५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये केही व्यक्ति उपचारपछि पूर्ण रुपमा निको भएकाे चीन सरकारले जनाएको छ । ६० जना उपचारपछि डिस्चार्ज भएकाे चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोनाको लक्षण देखिएको सुरुवाती चरणमै उपचार पाएका व्यक्ति एक हप्तामै निको भएकाे जनाएको हो । सुरुमा ज्वरो आउनु, पछि सुख्खा खोकी लाग्नु र बिस्तारै श्वास फेर्न गाह्रो हुनु कोरोना भाइरसको लक्षण हो ।

यसैबीच कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एकैदिनमा झण्डै दोब्बरले बढेको पनि चिनियाँ अधिकारीहरुले बताएका छन् । गएकाे आइतबार दुई हजार आठ सय ३५ जनामा कोरोनाको सङ्क्रमण देखिएकोमा साेमबार झण्डै दोब्बरले बढेर चार हजार पाँच सय १५ जनामा कोरोना भएको पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै चीन सरकारले केही शहरमा मास्क लगाउन अनिवार्य गरेको छ । यसैगरी चीनको अध्यागमन विभागले आफ्ना नागरिकलाई सकेसम्म सीमा पार नगर्न पनि आग्रह गरेको छ ।

चीनमा नयाँ शैक्षिक सत्र पनि अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरिएको छ । यस्तै हुबेईबाट बेइजिङ र शङ्घाई शहर पुगेका नागरिकलाई १४ दिनको निगरानीमा पनि राख्न थालिएको छ । हुबेईको वुहान शहरबाट हुने सबै प्रकारको यातायात सेवा बन्द हुँदा जनजीवन कष्टकर बन्दै गएको छ ।

काेराेना भाइरसकाे प्रकाेप बढेपछि फिलिपिन्सले पनि चिनियाँ यात्रुलाई भिसा दिन रोक्ने निर्णय गरेको छ भने अमेरिकासहित केही देशले महत्वपूर्ण काम बाहेक चीन नजान आफ्ना नागरिकलाई सचेत गरेका छन् ।

आफ्नो देशका केही नागरिकमा पनि कोरोनाको सङ्क्रमण देखिएपछि अमेरिकालगायत देशले महत्वपूर्ण काम बाहेक चीन भ्रमणमा नजान अपिल गरेको अन्तर्राष्ट्रियस सञ्चारमाध्यमले जनाएका छन् । ती देशले चीनको वुहानमा रहेका आफ्ना नागरिकलाई फिर्ता लैजाने तयारी पनि गरिरहेका छन् ।

अहिलेसम्म कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ६ जना पुगेको छ भने झण्डै सय जना हुबेईका रहेका छन् । चीन बाहिर अहिलेसम्म ४७ जनामा कोरोना भाइरस भएको विश्व स्वास्थ्य सङ्गठनले पुष्टि गरेको छ ।

अहिलेसम्म थाइल्याण्डमा आठ, अमेरिका, अस्ट्रेलिया, सिङ्गापुर र ताइवानमा पाँच–पाँच, मलेसिया, दक्षिण कोरिमा र जापानमा चार–चार, फ्रान्समा तीन, भियतनाममा दुई तथा नेपाल, क्यानाडा, कम्बोडिया, श्रीलङ्का र जर्मनीमा एक–एक जनामा कोरोना भाइरस भएकाे पुष्टि भएको हो ।

तर अहिलेसम्म चीन बाहेक अरु देशमा कसैको पनि ज्यान गएको छैन ।  

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया