इतिहासकार इमानसिंह चेम्जोङकाे जीवनी र याेगदानमा आधारित वृत्तचित्र

 माघ १६, २०७६ बिहिबार ९:४६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इतिहासकार इमानसिंह चेम्जोङको जीवनी तथा योगदानमा आधारित वृत्तचित्र ‘इमानसिंह चेम्जोङ’ को निर्माण गरिएको छ ।

किराँत इतिहास, धर्म, भाषा, लिपि र संस्कृतिसम्बन्धी विशेषज्ञ रहनु भएका चेम्जोङले पुर्‍याएको योगदानलाई समेटेर वृत्तचित्र निर्माण गरिएको निर्माता इमानसिंह चेम्जोङ मेमोरियल फाउण्डेशनले जनाएको छ ।

वृत्तचित्रकाे निर्देशन पत्रकार सेन्छेलुङ पतङवाले गर्नुभएको हो भने कार्यकारी निर्माता बुद्ध चेम्जोङ रहेको फाउण्डेशनले जनाएको छ । काठमाण्डाैमा विशेष प्रदर्शन गरिएको वृत्तचित्र अरु ठाउँमा प्रदर्शन गर्ने तयारी गरिरहेको फाउण्डेशनले जनाएको छ । 

भारत, कालिम्पोङको दूरपिन डाँडामा सन् १९०४ को जनवरी १ तारिखमा जन्मिनु भएका इमानसिंह चेम्जोङले सिरिजंगा लिपिको पुनर्उत्थान, व्याकरण, लोकसाहित्य, दर्शन, संस्कृति एवं मुन्धुम लगायतको क्षेत्रमा खोज तथा अनुसन्धान गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयमा किराँत भाषा तथा संस्कृति विशेषज्ञका रुपमा लामो समय काम गर्नुभएका चेम्जोङको निधन सन् १९७६ मा दार्जिलिङमा भएको थियो । 

चेम्जोङले आफ्नो खोज तथा अनुसन्धान एवं सामाजिक अभियानका क्रममा पार गरेका यात्रालाई वृत्तचित्रमा समेटिएको निर्देशक पतङ्वाले बताउनु भयो । 

चेम्जोङका किराँत इतिहास, किराँत साहित्यको इतिहास, किराँत मुन्धुम (वेद), किराँती दन्त्यकथा, किराँत मुन्धुमखा, History & Culture of The Kirat People किराँत दर्शनको सारांश, किराँत व्याकरण, किराँतकालीन विजयपुरको संक्षिप्त इतिहास शीर्षकका पुस्तक प्रकाशित छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया