उत्तर प्रदेश : अपहरणमा परेका २३ बालबालिकाकाे उद्धार, अपहरणकर्ता मारिए

 माघ १७, २०७६ शुक्रबार ९:४:० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतको उत्तर प्रदेश राज्यको फर्रुखाबाद जिल्लाको मोहम्मदाबादमा २३ जना बालबालिकालाई अपहरण गर्ने सुभाष बाथमको प्रहरीसँगको सङ्घर्षमा ज्यान गएको छ । 

बन्धक बनाइएका सबै बालबालिका सुरक्षित रहेको अधिकारीहरुले जनाएका छन् । कानपुर परिक्षेत्रका प्रहरी महानिरीक्षक मोहित अग्रवालले अपहरणकर्ता सुभाषको प्रहरीसँगको सङ्घर्षमा ज्यान गएको र सबै बालबालिकाको उद्धार गरिएको सञ्चारमाध्यमलाई जनाए ।

अग्रवालका अनुसार सुभाषले अपहरण गरिएका बच्चा छोड्नका लागि एक करोड भारु माग गरेका थिए र आफूमाथि लागेको हत्या आरोप पनि फिर्ता लिन माग गरेका थिए । 

बिहीबार राति सुभाषले अपहरणमा परेकामध्ये एक जनालाई रिहा गरिदिएका थिए । 

बन्धक बनाइएका बालबालिकालाई मुक्त गर्न एटीएसका विशेष सुरक्षा बल बोलाइएको थियो र प्रहरी अधिकारीहरु पनि घटनास्थलमा तैनाथ थिए । 

मोहम्मदाबादको करसिया गाउँमा बालबालिकालाई बन्धक बनाइएको घर सुभाष बाथमकै थियो । प्रहरीका अनुसार अपहरणकर्ता सुभाष निकै चलाख प्रकृतिको व्यक्ति थिए र उनी पटक पटक जेल गैसकेका छन् । 

स्थानीयका अनुसार बिहीबार दिउँसो आफ्नो छोरीको जन्मदिनको बहानामा सुभाषले गाउँका बालबालिकालाई बोलाएको थियो । सबै बालबालिका दिउँसो झण्डै ३ बजेतिर सुभाषको घर पुगेका थिए र त्यसपछि सुभाषले घरको मुख्य ढोका भित्रबाट बन्द गरेका थिए । 

साँझ साढे ४ बजेको समयमा एक महिला आफ्नो बच्चा लिन जाँदा अपहरणमा परेको थाहा पाइन् र प्रहरीलाई सूचना दिइन् । 

फर्रुखाबाद प्रहरी प्रमुख डा. अनिल कुमार मिश्रले निकै सावधानीपूर्वक अपरेशन चलाइएको र यो क्रममा केही प्रहरीकर्मी घाइते भएको बताए । 

घटनास्थलमा प्रहरी पुगेपछि सुभाषले फायरिङ्ग सुरु गरेको र केही बम पनि पड्काएका थिए । साथै उनले धम्की पनि दिइरहेका थिए । 

गाउँका अनुपम दुबे नाम गरेका व्यक्तिले सञ्चारमाध्यसँग भने, ‘सुभाषसँग कुरा गर्न गएको बेला प्रहरीले पनि गोली चलायो, जुन गोली उनको खुट्टामा लाग्यो र पछि उनी मारिए ।’

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया