डोटीका डाँडामा डोजर आतंक : बस्ती जोखिममा, खेतबारी बगर बन्दै

 साउन ७, २०७५ सोमबार १७:६:० | विमल बिष्ट
unn.prixa.net

डोटी – सायल गाउँपालिकाको छपाली बिनेबडाका हरिमल भूलको घर गएको वर्ष साउनमा पहिरोले भत्कायो ।

चार वर्षीया छोरी मनिसा भूलको घरभित्रै पहिरोले च्यापिएर ज्यान गयो । हरिमल भुल र उहाँकी श्रीमती जमुना भूल गम्भीर हुनुभयो । घरको सिरानीमा रहेको सडकको ट्रयाक खोल्दा खुकुलो भएको पहाड मध्यरातमा घरमाथि खस्दा उक्त दुर्घटना भएको हो । आकाश मडारिन लाग्दा अहिले पनि हरिमल भूलको होस हराउँछ । त्रासले काप्दै छिमेकीहरुका घरतिर उहाँ सहारा लिन जानुहुन्छ ।

त्यसै गाउँपालिकाको डौड गाउँका डम्बरबहादुर विष्टले ०७३ साउनमा एकै रात ३५ वर्षीया श्रीमती गौरादेवी विष्टसहित पाँच सन्तान गुमाउनुपर्यो । त्यसै गाउँका ७५ वर्षीय सिंहको पनि ज्यान गयो । पहिरोले बिष्टका छोराहरु हर्क, वीरेन्द्र तथा छोरीहरु सरु र भावनालाई गुमाएको घटनाले अहिले पनि छटपटी बढाउछ ।

‘डाँडै डाँडामा डोजरहरुको आंतक चल्यो, कमजोर जमिन चिरा–चिरा पर्‍यो’, विष्टले भन्नुभयो, ‘डाँडाको मध्यभागमा रहेको मेरो घरमा पहिरो खस्दा मेरी जीवनसंगिनी गुमाए, रहरलाग्दा सन्तान सधैँका लागि टाढिए ।’ यी त उदाहरणीय घटना मात्र हुन् । डोटीमा बर्सेनि बाढीपहिरोबाट ज्यान गुमाउने क्रम बढ्दै गएको छ । मानवबस्तीमा भइरहेका थुप्रै मानवीय गतिविधिहरुले प्राकृतिक विपत्ति बढाउँदै लगेको छ ।

पछिल्लो समय हचुवाका भरमा खोलिएका ग्रामिण सडकका कारण विपत्ति आउने गरेको आदर्श गाउपालिका वडा नम्बर–१, का शिक्षक नरबहादुर खड्का बताउनुहुन्छ । सडक छेउछाउ रहेका बस्तीहरु उच्च जोखिममा रहेका छन् । निरन्तर रुपमा सडकको माटो बगेर घरखेतमा पस्ने, खोलानाला पुरिँने क्रम बढ्दै गएकाले बस्तीहरु जोखिममा परेको उहाँले बताउनुभयो । जिल्ला दैवी प्रकोप उद्धार समिति डोटीले सडक छेउमा बसोबास गर्ने स्थानीयबासीलाई सतर्क रहन आग्रह गरेको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको संयोजकत्वमा रहेको दैवी प्रकोप उद्धार समितिले जोखिममा रहेका बस्तीहरुको सुरक्षाका लागि जनप्रतिनिधिहरु मार्फत सतर्क रहन आग्रह गरेको हो । प्रजिअ यादवले सडक छेउछाउका उच्च जोखिममा रहेका बस्तीहरुको पहिचान समेत गरिरहेको बताउनुभयो ।

डोजरले अन्धाधुन्ध खोलिएका ग्रामिण सडकहरुको माटो बगेर घर खेतमा पसिरहेको र पहिरो खस्ने क्रम तीव्र छ । सडकछेउमा नाली नबनाएका तथा पहाड छेलेर बनाएका ठाउँमा पहिरो खस्दा केही ग्रामिण सडकहरु अवरुद्ध भइसकेका छन् ।

जिल्लाका जोरायल, केआईसिंह, सायल, बोगटान, पूर्वीचौकी गाउँपालिकाका तथा शिखर नगरपालिकाका–१८, बस्तीका झण्डै ४ सय परिवार जोखिममा रहेका छन् । जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख दामोदर ऐरका अनुसार उत्तरी क्षेत्रमा रहेका डौड, तोलेनी, गिरिचौका, छपाली गाउँका बस्तीहरु पहिरोको उच्च जोखिममा छन् ।
त्यसैगरी शिखर नगरपालिका, दिपायल–सिलगढी नगरपालिका, केआईसिंह र बोगटान गाउँपालिकाका बनलेक, तलकोट, दिपायल, रानागाउँ, तिखात्तर, गगुँडा, चवराचौताराका बस्तीहरु नदी कटान र पहिरोको जोखिममा रहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै जोरायल गाउँपालिकाका लक्ष्मीनगर र सरस्वतीनगर तथा बडीकेदार गाउँपालिकाको बर्छैन, विपीनगरलगायतका बस्ती उच्च नदी कटानको चपेटामा परेका छन् । ‘सडकको माटो बगेर खोल्सा तथा खोलाहरु पुरिएका छन्’, जिल्ला भू–संरक्षण कार्यालय डोटीका प्रमुख दामोदर ऐरले भन्नुभयो, ‘बस्तीको सिरानीमा रहेका डाँडाहरुबाट सडक लैजाँदा तथा विकासका पूर्वाधारहरु बनाउँदा वर्षायाममा गाउँमा लेदो माटो पस्ने, पहिरो खस्ने लक्षणले स्थानीय आतंकित हुन थालेका छन् ।’

सिमित व्यक्तिहरुको स्वार्थ र अध्ययन बिना खोलिएका सडकहरुले दूरगामी असरहरु देखाउन थालिसकेकाले सरोकारवालाहरुले कडा कदम चाल्न जरुरी रहेको उहाँको सुझाव छ । केआईसिंह गाउ“पालिकाको बासुदेवी, जोरायल, गाउँपालिकाको जलजला, शिखर नगरपालिकाको बनलेक क्षेत्रमा विकासका पूर्वाधार बनाउने क्रममा बगेको माटोले खेत नै पुरिदिएको बताइएको छ । 
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया