नकारात्मक समाचारका कारण पर्यटकहरु बिच्किए : पर्यटन मन्त्रलय

 माघ १८, २०७६ शनिबार १४:३०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयका सचिव केदार बहादुर अधिकारीले नकारात्मक समाचारका कारण पर्यटकहरु बिच्किने गरेको बताउनुभएको छ ।

काेरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा आयोजित छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नेपालमा कोरोनाको संक्रमण नदेखिएपनि नकारात्मक खवरहरुले पर्यटन क्षेत्रलाई असर गरेको गुनासो उहाँले गर्नुभयो ।

‘नेपालमा एक जनालाई कोरोना भएको पुष्टि भएको थियो । उहाँ पनि उचारबाट फर्किनुभएको छ । अन्य ५ जनामा आशंका गरिएको थियो तर सबैमा नेगेटिभ देखियो । नेपालमा कोरोनाको प्रभाव छैन’, उहाँले भन्नुभयो, ‘तर समाचारमा फलाना होटलको यति बुकिङ क्यान्सिल, यति प्रतिशत व्यापार घट्यो भन्नेजस्ता नकारात्मक समाचारले नराम्रो सन्देश गएको छ ।’

समाचारको उद्देश्य राम्रो भए पनि यसबाट पर्यटकहरुमा नेपालमा भ्रमण गर्न सुरक्षित छैन भन्ने सन्देश जाने उहाँले बताउनुभयो । चीनले समेत वुहान बाहेक अरु ठाउँ सुरक्षित रहेको र नेपालमा जस्तो पर्यटकको संख्या यतिले घट्यो, आउन छोडे भन्ने खालका समचार नआएको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपकराज जोशीले सही र तथ्यगत सूचना आदानप्रदान अहिलेको आवश्यकता भएको बताउनुएको छ । सबैमाझ सही सूचना आदानप्रदान गर्ने र नेपाल नाउ डट ओआरजी नामक वेबसाइटलाई एक्टिभ गरी हरेक गतिविधि, नेपालमा रहेका पर्यटकहरु आफैले आफ्नो मनमा लागेका कुरा राख्न पाउने गरी व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘प्रेस रिलिजले मात्रै अब काम गर्दैन । विभिन्न ७, ८ वटा जानकारीमूलक सूचनाहरु राखेर इन्फाेग्राफिक्स नै प्रकाशनमा ल्याउनुपर्‍यो । ‘नेपालमा कोरोना भाइरसको खतरा छैन’, ‘चीन र नेपालको दुरी यति हो’ जस्ता जानकारी दिने गरी प्रकाशन गर्नुपर्‍यो ’, उहाँले भन्नुभयो ।

चीनको वुहान क्षेत्रबाट देखिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न मुलुकहरुमा फैलिसकेको छ । नेपालमा एकजनामा कोरोनाको संक्रमण देखिएपनि उनी उपचारबाट फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्गमा समेत विशेष निगरानी बढाएको जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया