चीनकाे आराेप : काेराेना भाइरसलाई लिएर अमेरिकाले 'त्रास फैलायाे'

 माघ २०, २०७६ सोमबार १९:५:४८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाले कोरोना भाइरसलाई लिएर त्रास फैलाइरहेको चीनले आरोप लगाएको छ । 

अमेरिकाले कोरोना भाइरसको प्रकोपलाई लिएर सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको छ । साथै अमेरिकाले पछिल्ला दुई हप्तामा चीन भ्रमण गरेका विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्न नदिने बताएको छ । 

अमेरिकाको यो फैसलापछि चीनको यस्तो प्रतिक्रिया आएको हो । 

चीनमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १७ हजार पुगिसकेको छ । अहिलेसम्म चीनमा मात्र ३६१ जनाको ज्यान गैसकको छ । 

चीन बाहिर पनि कोरोना भाइरसबाट पीडितको सङ्ख्या १५० पुगेको छ । फिलिपिन्समा एक जनाले ज्यान गुमाएका छन् । 

पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयले अमेरिकाको फैसलाले डरको वातावरण सिर्जना भएको बताएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ्गले भने, ‘अमेरिकाले सहयोग गर्नुको साटो डर फैलाइरहेको छ ।’

‘अमेरिका नै पहिलो देश हो, जसले चिनियाँ पर्यटकलाई प्रवेशमा रोक लगायो र आफ्ना दूतावासका केही कर्मचारीहरुलाई फिर्ता बोलाउने बतायो’, उनले भने । 

अमेरिका जस्तो विकसित देशसँग यस्तो स्थितिको फैसला रोक्ने क्षमता छ तर उसले विश्व स्वास्थ्य सङ्गठनको सिफारिसभन्दा छुट्टै रोक लगाउने पहल गरेको प्रवक्ता चुनयिङ्गले बताए । 

अमेरिकाको प्रतिबन्धपछि अस्ट्रेलिया जस्ता केही देशले पनि चीनबाट आउने व्यक्तिमा प्रतिबन्ध लगाएका छन् । 

हङकङले पनि तत्कालका लागि चीनसँग सीमामा रहेको १३ मध्ये १० वटा सीमा तत्कालका लागि बन्द गर्ने बताएको छ । 

तर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सीमा बन्द गर्दा भाइरसको प्रकोप अझ बढ्न सक्ने भन्दै चेतावनी दिएको छ । किनकि यस्तो अवस्थामा मानिसहरु अनाधिकृत रुपमा अन्य देशमा पस्न सक्छन् । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया