अक्षर कोर्न दिव्यलक्ष्मीको सङ्घर्ष : निरक्षरबाट पुस्तक लेखिका

 माघ २५, २०७६ शनिबार १२:६:२५ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डाै - इच्छाशक्ति र मनैदेखि चाहना भए मान्छेको जीवनमा असम्भव भन्ने कुरै रहेनछ । त्यसको जल्दोबल्दो प्रमाण हुनुहुन्छ दिव्यलक्ष्मी पोखरेल । जसले औपचारिक शिक्षाविना नै चार वटा पुस्तक लेख्नुभयो । उहाँको कलम बाल कविता, कथादेखि काव्य सिर्जना गर्नसम्म सक्षम छ ।

मनको भावलाई कोर्दाकोर्दै उहाँ मिठामिठा छन्द कविता लेख्न सफल हुनुभयो । उहाँले कविता लेख्नु मात्र भएन त्यसलाई प्रकाशन पनि गर्नुभयो । 

‘औपचारिक शिक्षा छैन तर पनि चार वटा कृति प्रकाशित गर्न सफल भएँ’, साहित्यकार दिव्यलक्ष्मी भन्नुहुन्छ, ‘आफूमा इच्छाशक्ति भए गर्न नसकिने केही रहेनछ ।’ विद्यालय र विश्वविद्यालयका कक्षाकोठामा गुरुले दिएको शिक्षा नलिए पनि पुस्तक निकाल्न सफल भएकोमा उहाँ खुसी हुनुहुन्छ ।

‘इच्छाशक्ति र परिवारको सहयोगले नै मलाई पुस्तक निकाल्न प्रेरणा मिल्यो’, उहाँ भन्नुहुन्छ, ‘मेरो जीवनको खुसी नै यिनै पुस्तक हुन् ।’ औपचारिक शिक्षा नै नपाएको व्यक्तिले कसरी पुस्तक लेख्नसक्छ ? धेरैले यही प्रश्न गर्छन् तर उहाँले हिम्मत हार्नुभएन । मनमा लागेका कुरा आपूmले बुझ्ने ढंगले कोर्नुभयो । त्यही कोराइलाई पछि मुर्तरुप दिँदै पुस्तक निकाल्न सफल हुनुभयो । 

माइतीको यादमा लेखिएको पत्र 

दिव्यलक्ष्मी २०२४ साल असोज २८ गते सिन्धुलीको लुम्तीमा जन्मिनुभयो । त्यहाँ उहाँको बसाईं लामो भएन । पानीको अभाव र बालीनालीमा बाँदरले धेरै दुःख दिएपछि उहाँको परिवार ६ वर्षकी छोरीलाई लिएर सिन्धुलीकै तिलपुङ बसाईं सर्याे । 

उहाँभन्दा तीन वर्षले जेठो दाजुलाई पढाउनको लागि मामाघरमा राखिएको थियो । दुई बहिनी र भाइ हेर्ने जिम्मा दिव्यलक्ष्मीकै थियो । साथै आमासँगै घाँस, दाउरा, चुल्होचौको, कसिङ्गर, जाँतो, ढिकी, उकाली र ओराली गर्नु उहाँको दैनिकी थियो । यसरी नै जीवन चलिरहेकै थियो । 

२०४२ साल वैशाख १० गते विवाह गरेर उहाँ सिन्धुलीकै लदायभिर डुमरहाँडी–१ पुग्नुभयो । त्यसबेलासम्म परिवार कहिल्यै नछाडेकी दिव्यलक्ष्मीलाई भाइबहिनीको यादले सतायो । भेट्न जाने अवस्था थिएन । त्यही भएर बुबाआमालाई पत्र लेख्ने सोच्नुभयो । शब्द भए पनि अक्षरले साथ दिएन । ‘मनको पीडा मनमै राख्नु’ उहाँको बाध्यता बन्यो । 

तर उहाँले हार मान्नुभएन । शब्दलाई कपिमा उतार्ने कोशिस गर्नुभयो । अमूर्त धर्का तानेर आफ्नो भाव पानामा पोख्नुभयो । जुन भाव दिव्यलक्ष्मीबाहेक कसैले पनि बुझ्न सक्दैनथे । ती दिन सम्झँदै उहाँ भन्नुहुन्छ, ‘वस्तु लिएर चुरेको जंगलमा जाँदा सालको फेदमा भारी अड्याएर, लफ्रक्क भिजेको कपिमा कलमले अमूर्त धर्का तान्थेँ । कुनै सिधा, कुनै बाङ्गा ।’

तिनै बाङगा, सिधा, तेर्सा धर्का कोरेर लेखिएको पत्र तयार भयो । तर पठाउने कसरी ? श्रीमानसँग आग्रह गर्नुभयो । श्रीमानले बाङगा, सिधा, तेर्सा धर्का देखेपछि जिस्क्याएको भनेर हाँसोमा उडाउनुभयो । दिव्यलक्ष्मीले त्यसमा आफ्नो मनको व्यथा पोखेको भनेपछि श्रीमानले पढेर सुनाउन भन्नुभयो ।
दिव्यलक्ष्मीले खररर पढेर सुनाएपछि श्रीमानले त्यही शब्द अक्षरमा उतारिदिनुभयो ।

जसमा लेखिएको थियो । 
...
‘स्वस्ती श्री बुबामुमा, दाइ दिदी भाउजूमा 
प्रणाम गर्दछु म सदा दिनदिनै टाढा भयो आउन 

बहिनी कृष्ण र कल्पना, जमुना भाइ नवराजमा 
आशिक दिन्छु यहि सदा सरस्वती बसिरहुन् कण्ठमा ।’
.....
यिनै शब्दहरु पछि ‘माइतीलाई चिठ्ठी’ शीर्षकको लघुकाव्यमा सम्पादन गरेर यसरी आए :

‘आमा, बा अनि पुज्य मान्यजनमा सम्मानको ढोग छ 
ती प्यारा बहिनी र भाइहरुमा आशीष सद्भाव छ 

त्यो प्यारो घरआँगनी र संगिनी छन् सम्झनामा भरी 
देख्दै झलझल रात वा दिन सधैं बिर्सन्न केही गरी 

आएको घरमा निकै समय भो दोस्रो समाचारको 
पत्तो छैन बुबा बिछट्ट गहिरो आशा थियो पत्रको 

लेख्नै भुल्नुभयो कि व्यस्तपनाले लागेर केही काममा 
छोरी सोच्नुभयो कि या मरमित छे शोख आराममा 

साँच्चै लाग्दछ फालिए परतिरै टाढा भयो काख त्यो 
आकांक्षा मनका बुझेर ममता आमासरी दिन्छ को ? 

चिठ्ठी लेख्न भए निरक्षर स्वयम् यी दर्द पोखौं कहाँ 
केका निम्ती दियौ नि जन्म जननी छोरी नजन्मून् यहाँ
केका निम्ती दियौ नि जन्म जननी छोरी नजन्मून् यहाँ ।।’

उहाँको यो शैलीले नजानिँदो तरिकाले छन्द पहिल्याएछ । माइतमा आमाले ढिँकी कुट्दा, जाँतो पिस्दा, खेतको काम गर्दा होस् वा मकै सर्याउनेदेखि झुपो पार्नेसम्मको काम गर्दा गाउने श्लोकको शैली उहाँले अपनाउनुभएको थियो । 

मामाहरुलाई पढाउन घरमै मास्टर राखेकाले आमाले लुकेरै अक्षर सिक्नुभएको थियो । धार्मिक पुस्तक पढ्न सक्ने हुनुहुन्थ्यो । छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेत भएकाले मौका मिलेको बेला त्यही अक्षर उहाँलाई आमाले सिकाउनुहुन्थ्यो । तर समय त्यति धेरै मिल्दैन थियो । 

बुबाको बुझाइ  : पढाइ दुःखको भारी   

दिव्यलक्ष्मीका बुबाले पढाइलाई दुःखको पाटो भन्नुहुन्थ्यो । राजधानीमै जन्मिए, हुर्किएका हजुरबुबालाई राणा शासकले पढेलेखेकै कारण सर्र्वस्व हरण गरेर हत्कडी नेलकडी लगाएर खेदेको उहाँको बुबाले सुनाउनुहुन्थ्यो । त्यही भएर बुबासहित १५ जना सन्तानलाई हजुरबुबाले पढाउनुभएन । 

आफूले पनि सन्तान पढाउने सोच बुबाले राख्नुभएन । तर शिक्षाको महत्व बुझेकी आमाले दिव्यलक्ष्मीभन्दा तीन वर्ष ठूला दाइलाई पढ्नकै लागि मामाघर पठाउनुभयो । पछि तिलपुङमा सरेपछि भाइ बहिनीले पनि पढ्न पाए । तर घरको कामले दिव्यलक्ष्मी भने कहिल्यै स्कुल जान पाउनुभएन । 

भाइबहिनी किताबकापी बोकेर स्कुल जाँदा उहाँलाई पनि रहर लाग्थ्यो । तर जेठी छोरी भएकीले घरको सबै काम उहाँको आफ्नै थाप्लोमा थियो । बाँकी समय मेलापातमा दिनुपथ्र्यो । ‘खेती किसानीको काम सकेर स्कुल जाउ भन्नुहुन्थ्यो बुवाआमाले । काम सकिँदा रात परिसक्थ्यो । अनि स्कुल कतिबेला जानु ?’ आँखा टिलपिल पार्दै उहाँ पुराना दिन सम्झिनुहुन्छ । 

अक्षर चिन्न श्रीमानकाे सहयोग  

श्रीमानकै सहयोगमा भए पनि पत्र पठाएकोमा उहाँ निकै खुसी हुनुभयो । वैशाखमा पठाएको पत्रको जवाफ असोजसम्म पनि आएन । विवाह गरेको पहिलो वर्ष दशैंमा माइत जानुभयो । माइत गएका बेला बुवाआमाले पत्र पाएको सुनाउँदा उहाँलाई हर्ष लागेको थियो । टीका लगाउन गएको दिव्यलक्ष्मीको जोडी घर फर्कियो । त्यसपछि उहाँले माइतीका नाममा पत्र लेख्नुभएन । तर कापीमा आफ्ना भावना भने उतार्न छाड्नुभएन ।

दुई वर्षको अन्तरालमा माइत जानुहुन्थ्यो । पुस/माघपछि मात्र । जतिबेला घरका सबै काम सकेर अलि फुर्सदको समय हुन्थ्यो त्यतिबेला नै उहाँ माइत जानुहुन्थ्यो १५ दिनको छुट्टी लिएर । ‘दशैंमा टीका लगाएर तुरुन्तै फर्कनुपर्ने तर पुस/माघमा गुन्द्री बुन्ने काम सकिएपछि जाँदा १५ दिन बस्न पाइन्थ्यो । त्यहि भएर दशैंमा कहिल्यै माइत गइनँ’ उहाँ सम्झिनुहुन्छ ।

डाक्टरको लापरवाहीले काठमाण्डौको यात्रा

यसरी नै दिन र महिना गर्दै दुई वर्ष बित्यो । २०४४ सालतिर बिरामी पर्नुभयो । श्रीमान जनकपुरमा भएकाले जनकपुरको ओम नर्सिङ अस्पतालमा उपचार गराउनुभयो ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले उहाँलाई क्षयरोग भएको भन्दै ६ महिनाको लागि औषधि लेखिदिनुभयो । ६ महिना औषधि खाए पनि स्वास्थ्यमा सुधार नभएपछि उहाँले जनकपुरकै अर्को अस्पतालमा देखाउनुभयो ।

त्यहाँ मुटु सुन्निएकाले काठमाण्डौ गएर उपचार गराउन उहाँलाई रेफर गरियो । काठमाण्डौ आएर उपचार गराउँदा दिव्यलक्ष्मीलाई क्षयरोग नलागेको तर क्षयरोग नलागिकनै क्षयरोगको औषधि खाएकाले मुटुमा समस्या भएको डाक्टरले बताए ।

‘शरीरमा क्षयरोग नै नभएपछि त्यसको औषधिले शरीरका सकारात्मक जीव नष्ट गरेर मुटुमा समस्या भएछ, डाक्टरको सानो गल्तीले मैले दुःख पाएँ’ उहाँले सम्झनुभयो ।
मुटुमा समस्या भएपछि नियमित अस्पताल धाउनुपर्ने भयो । त्यसपछि दिव्यलक्ष्मीको परिवार काठमाण्डौमै बस्न थाल्यो । दैनिकी चलाउनको लागि एउटा पसल खोलियो । पसलमा बस्दा श्रीमानले घरमा ल्याएको पत्रिका हेर्नुहुन्थ्यो । उहाँले पत्रिकाका शिरमा भएका चित्र सार्न थाल्नुभयो । त्यो चित्र पत्रिकाका नाम थिए ।

त्यसपछि पत्रिकाको नाम थाहा पाउन थाल्नुभयो । पत्रिकाका नाम थाहा पाएपछि पत्रिका पढ्दा मुडे बलले नै उहाँलाई अक्षर चिन्न मद्दत गर्याे । त्यही अक्षरको सहयोगमा उहाँका साहित्यिक सिर्जना पानामा उत्रिन थाले । विभिन्न कार्यक्रममा पनि उहाँ जान थाल्नुभयो । आफ्ना भावना पोख्न थाल्नुभयो । 

त्यही भावनालाई आफूमा मात्र नराख्न सुझाव बढ्दै गएपछि २०६५ सालमा ‘आमाको स्नेह’ नामक कविता संग्रह प्रकाशित गर्नुभयो । संग्रहमा उहाँले आफूले पहिलो पटक माइती सम्झेर लेखेको पत्र पनि समावेश गर्नुभएको छ ।

त्यसपछि २०७३ सालमा शहीद स्मृति काव्य, २०७६ सालमा ‘झिलिमिली जुनतारा’ बालकविता संग्रह र ‘मातृवन्दना’ लघुकाव्य गरि अहिलेसम्म चार वटा कृति बजारमा ल्याउनुभयो । 

दिव्यलक्ष्मीको मुडेबलले उहाँलाई अक्षर सिकायो । त्यसले निरक्षरबाट पुस्तक लेखिकासम्म बनायो । अहिले उहाँ साधारण लेखपढ गर्न सक्नुहुन्छ तर औपचारिक शिक्षाबारे केही सोच्नुभएको छैन ।

भन्नुहुन्छ, ‘अब स्कुल जाँदा कुन कक्षामा पढ्ने, कसरी बस्ने भन्ने अन्यौल छ । सामान्य लेखपढ गर्न सक्छु तर अंग्रेजीलगायत विषयको ज्ञान छैन । त्यसैले न सानो कक्षामा पढ्नु न ठूलो कक्षामा बस्नु भन्ने दोधार भएर स्वअध्ययन नै गरिरहेकी छु ।’ 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया