डाक्टर केसीको उपचार गर्न नदिएर कांग्रेसले राजनीतिको रोटी सेक्ने ? : प्रधानमन्त्री ओली

 साउन ८, २०७५ मंगलबार १३:५८:२१ | रासस
unn.prixa.net

काठमाडौं –  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधानबमोजिम संसदले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ । 

नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा मंगलबार आयोजित कार्यक्रममा कांग्रेसले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्वोच्चता मानेर अगाडि जान तयार छ कि छैन भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संसद्ले कानून बनाउँछ, कांग्रेस मान्न तयार छ कि छैन ?, संवैधानिक बाटो चुनावबाट सरकारलाई अपदस्थ गर्न सकिन्छ, म लोकतान्त्रिक विधि र प्रक्रियामा आउन कांग्रेसलाई चुनौती दिन्छु । संघर्षको मैदान हामीले पनि देखेका छौँ । अलोकतान्त्रिक, प्रतिक्रियावादी र जनविरोधी कुनै पनि प्रयास सरकारलाई अस्वीकार्य छ र त्यसलाई नियन्त्रण गरिनेछ ।’ 

प्रधानमन्त्री ओलीले कम्युनिष्टहरु मिलेको र स्थिर सरकार बनेकामा प्रतिक्रियावादीहरुलाई सही नसक्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस यति चाँडो वस्त्र उतारेर मैदानमा उत्रिएको छ । हिजो हाम्रा विरुद्ध टाउकाको मूल्य तोकेको होइन ?, झोलामा टाउको ल्याउनु भनेको वा सर्वस्वसहित जन्मकैद तोकिएका मान्छे शासन गरिरहेका छन्, अनि उनीहरुलाई चित्त बुझ्छ ?’ 

उहाँले कांग्रेसले खोजेको लोकतान्त्रिक प्रणाली, मूल्य र मान्यतामा अझै प्रश्न रहेको आरोप लगाउँदै सामन्ती राजतन्त्रमा फर्केर आउन सक्ने विचार पनि कांग्रेसमा रहनु प्रतिगमनकारी विचार भएको र आफूहरु राजतन्त्रको पक्षमा नरहेको पुनः स्पष्ट गर्नुभयो । 

प्राध्यापक डाक्टर गोविन्द केसीको अनशन र उहाँको मागमा कांग्रेस मिसिएको सन्दर्भमा उहाँले सबैको निःशुल्क स्वास्थ्योपचार र गुणस्तरीय शिक्षाका लागि नेकपाले पहल गर्दै आएको बताउँदै सबै समस्याको समाधान संवाद र संसदबाट टुङ्गिने जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवाजस्तो अत्यावश्यक क्षेत्रमा कर्मचारीले हडताल गर्नु उचित नभएको बताउँदै प्राध्यापक डाक्टर केसीलाई सघन उपचार आवश्यक पर्ने भनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लिखित सुझाव आएकाले उहाँलाई काठमाडौँ ल्याइएको स्पष्ट गर्नुभयो । 

‘सरकारले केसीको उपचार गर्न नपाउने ?, उहाँको नाममा अरुको राजनीतिको रोटी सेक्ने, बाटो छेक्ने ?, यो हुन सक्दैन’, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले आफूले देश र नागरिकप्रति निष्ठापूर्ण कामका लागि दैनिक शपथ लिएर काम गरिरहेको पनि स्पष्ट गर्नुभयो । 

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुको एकता र निर्वाचनबाट बनेको दुई तिहाइको सरकारविरुद्ध नियोजित षड्यन्त्र गरी भ्रमपूर्ण प्रचार गरिएको बताउनुभयो । 

‘हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ । प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ । प्रतिक्रियावादीहरुलाई कम्युनिष्ट एकता र स्थिर सरकार मन परेको छैन तर हामी त्यस्ता षड्यन्त्रलाई सफल हुन दिने छैनौँ ।’ उहाँले भए-नभएका कथाहरु बनाएर सरकार र नेकपाको विरोधमा भ्रम छर्ने काम भएकाले क्रान्तिलाई सफल बनाउन र स्थिर सरकारको विरुद्ध सबै हतियार प्रयोग गरेर भइरहेका नियोजित षड्यन्त्र चिर्न आह्वान गर्नुभयो । 

प्राध्यापक डाक्टर केसीको अनशनको नाममा सरकारलाई टिक्नै नदिने वितण्डा मच्चाउन खोजिएको भन्दै उहाँले पार्टी र सरकारको कामलाई समृद्धिको दिशातर्फ एकजुट भएर लाग्नुको विकल्प नरहेको बताउनुभयो ।
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया