बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
माेरङ – विराटनगरमा २०२८ सालमा जन्मिएकी सरु केसी बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी महिला मात्र होइनन्, उनी एक उद्यमी महिला पनि हुन् ।
उनका बुबा सुरुदेखि नै व्यवसायी थिए । कक्षा १० मा पढ्दादेखि नै व्यवसाय गर्नुपर्छ भन्ने मान्यता बोकेकी उनले घरमा बुवालाई सघाउने काम गर्थिन् । उनका बुवा बैंकका जागिरे थिए । बैंकको म्यानेजरको जागिर छाडेर उद्योगमा लगानी गरेपछि उनलाई पनि उद्यमबाट फाइदा हुने रहेछ भन्ने लाग्यो ।
‘मेरा बुवा व्यवसायी हुनुहुन्छ,’ केसीले भनिन्, ‘बुबाले खोलेको स्टील्स् उद्योगबाट उद्यममा लगानी गर्नुपर्ने रहेछ भन्ने मैले सिकेँ ।’
उनले बुबालाई उद्योगमा सहयोग त गर्थिन् नै । त्यसबाहेक आफैले पनि केही गर्नुपर्छ भन्ने लागेर उनले सिलाइ/कटाइ, हस्तकला तथा शिल्पकलासम्बन्धी सीप सिक्न थालिन् ।
कसैले लगाएको राम्रो स्वेटर, कुर्स्याे, टिम्याट, झालरलगायतका जे देख्यो त्यही उनलाई बनाउन मन लाग्थ्यो । यसरी जे देख्यो घरमा आएर त्यही बनाउन थालिहाल्ने उनको स्वाभाव थियो । आफूले सिकेको सीप एकातिर थियो भने अर्कोतिर स्टील्स् उद्योग चलाउनको लागि उनले खेल्नुपर्ने भूमिका ।
काेलकातादेखि कालिगढ ल्याउनुपर्ने, आवासीय व्यवस्था गर्नुपर्नेजस्ता सबै काममा केसीले बुवालाई सहयोग गर्दै आएकी थिइन् । त्यसबेलासम्म देशभरिमा मात्र २/३ वटा स्टील्स् उद्योग थिए । पूर्वमा उनका बुवाले चलाएको 'जय दुर्गे आइरन' नै पहिलो स्टील्स् उद्योग भएको उनको भनाइ छ ।
उनको बुवा बाहिर हिँडिरहनुपर्ने अवस्थामा जेठी छोरी भएकीले पनि सहयोगीको रुपमा उनले भरथेग गर्थिन् । आफ्नो घरमै स्टील्स् उद्योग भएकोले घरको काम हेर्न पनि सहज भएको उनले सुनाइन् ।
विवाहपछि जेलिएको जीवन
केसीले विवाहपूर्व व्यवसायसम्बन्धी सबै ज्ञान लिइसकेकी थिइन् । ‘विवाह गर्नुभन्दा पहिला नै उद्योग कसरी चलाउने भन्ने जानिसकेकी थिएँ,’ उनले भनिन्, ‘एसएलसी दिएपछि दुई घण्टा कम्प्युटर पढ्ने समयबाहेक सबै समय घरकै उद्योगमा दिन्थेँ ।’
आइकम पास गरेर बिकम पढ्दापढ्दै २०४९ सालमा सिरहाको सुखीपुरका वकिल उद्धव केसीसँग सरुको विवाह भयो । विराटनगरमा हुर्केकी, बढेकी सरुको लागि सिरहाको विवाह निकै नै कष्टपूर्ण भयो । बिहे त गरिन् तर उनलाई त्यहाँ बस्न मन लागेन । बाहिरी खुला संसारमा रमाएकी सरुका लागि त्यहाँ घुम्टोभित्र बस्नुपर्ने बाध्यता आइलाग्यो ।
उनी घुम्टोभित्रको संसारबाट बाहिरिन चाहन्थिन् । उनी सकसपूर्ण जीवनबाट बाहिरिन खोज्थिन् । त्यसैले उनले श्रीमानलाई विराटनगरमै बसौँ भन्न थालिन् । श्रीमान् र श्रीमतीको बीचमा केही उद्यम गरेर जीवन गुजारा गर्ने सल्लाह भयो ।
यसरी उनी आफ्नै अग्रसरतामा श्रीमानसहित विराटनगरमा आएर बस्न थालिन् । श्रीमान् वकिल भएकाले उनी अदालत जाने र आफूले बालबच्चा हुर्काउनुपर्ने भएकोले उनीहरुको केही वर्ष निकै सङ्घर्षपूर्ण बित्यो ।
श्रीमानकाे कानुनी व्यवसाय चलेन । कोठाभाडा तिर्नै समस्या हुन थालेपछि आम्दानीको स्रोतका लागि फेरि उनले बुवालाई सहयोग गर्न थालिन् । बुवालाई सहयोग गर्दागर्दै उनले बालबालिकाको क्षेत्रमा काम गर्न थालेको सुनाइन् ।
बुवाको उद्योगमा काम गर्दै उनले छोराछोरी पढाउने काम गर्न थालिन् । त्यही समयमा उनका श्रीमान् अमेरिका हानिए । त्यस्तो अवस्थामा पनि दुई छोरीलाई हुर्काइने र पढाउने अभिभारा पनि उनले पूरा गर्दै गइन् ।
त्यही बीचमा उनको बुवाको निधन भयो । त्यसपछि उनले चार जनाको साझेदारीमा मिलेर 'विराट फुड प्रोडक्स्' सञ्चालन गर्न थालेको सुनाइन् । उनलाई त्यसबाट पनि राम्रै फाइदा भएको थियो । ‘साथीभाइसँग कुरा नमिलेपछि त्यो उद्योग बन्द गर्नुपर्यो,’ उनले भनिन्, त्यो भन्दाअगाडि नै मैले बुवा र भाइसँगको संयुक्त लगानीमा काम गर्न थालिसकेको थिएँ ।’
विराट फुड प्रोडक्स् बन्द भएपछि उनले 'न्युटी केयर फुड प्रोडक्स्' मा व्यक्तिगत लगानी गरिन् । त्यस्तै उनले 'आस्था कृषि औजार उद्योग' सञ्चालनमा ल्याइन् । कृषि औजार उद्योगमा उनले बुवाकाे निधनपछि भाइ–बुहारीसँग साझेदारी गरेकी छिन् । १४ जना कामदार राखेर औजार उद्योग चलाएकी छिन् भने न्युटी केयर उद्योगमा भने पाँच जना कर्मचारी राखेकी छिन् ।
झण्डै चार वर्ष पहिले न्युटी केयर फुड प्रोडक्स् मा उनले १५ लाख लगानी गरेकी थिइन् । त्यस्तै २० लाखबाट सुरु गरेको कृषि औजार उद्योगको लगानी अहिले एक करोड नाघेको छ ।
उनले सामाजिक रुपमा 'सेतो गुराँस बालविकास सेवा' मा अध्यक्षको रुपमा भूमिका निर्वाह गर्दै आएकी छिन् । बालबालिकाको क्षेत्रमा झण्डै दुई दशकदेखि निरन्तरता दिँदै आएको उनले बताइन् ।
यस्तै आस्था कृषि उद्योग र न्युटि केयर फुड प्रोडक्स् सञ्चालन गर्दै आएकी सरुले नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ को कार्यसमिति सदस्य र नेपाल उद्योग वाणिज्य महासङ्घ महिला उद्यमी समितिको केन्द्रीय उपसभापतिको जिम्मेवारी पनि सम्हाल्दै आएकी छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।