घोराहीको फोहोर मोहोरमा बदलिँदै : दैनिक एक हजार किलो ग्यास र ६ टन मल निकाल्ने तयारी

 माघ २८, २०७६ मंगलबार ११:५३:५५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – घोराही उपमहानगरपालिकामा बढ्दो जनघनत्वसँगै शहरीकरणले फोहोर व्यवस्थापनमा खर्च बढ्दै गएपछि दुई वर्षअघि जनप्रतिनिधिहरु अन्य जिल्लाको अध्ययन भ्रमणमा गए ।

उपप्रमुख सीता सिग्नेल न्यौपानेको नेतृत्वमा गएको टोलीले पश्चिम नवलपरासीको सुक्रौलीमा फोहोरबाट ग्यास र मल उत्पादन गरेको हेर्‍यो । वार्षिक लाखौँ रुपैयाँ फोहोर व्यवस्थापनमै खर्च गर्दै आएको उपमहानगरले पनि फोहोरलाई मोहोरमा बदल्ने योजना बनायो ।

गएको वर्ष घोराही उपमहानगरपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ललितपुर र नेपाल ऊर्जा विकास कम्पनी प्राली काठमाडौसँग ग्यास प्लान्ट निर्माण गर्ने त्रिपक्षीय सम्झौता गर्‍यो र अहिले धमाधम निर्माणको काम भइरहेको छ । बजारबाट सङ्कलन हुने फोहोरलाई मोहोरमा रुपान्तरण गर्ने कामको तयारी भइरहेको छ ।

उपमहानगरपालिका १६ मा रहेको डम्पिङ साइडमा गल्ने फोहोरबाट ग्यास उत्पादन गर्ने काम झण्डै ६५ प्रतिशत पूरा भएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । गल्ने फोहोरबाट ग्यास र मल निकाल्ने र नगल्ने फोहोर किनेर बिक्री गर्ने तयारीमा रहेको उहाँको भनाइ छ ।

२० करोड रुपैयाँको लागतमा स्थापना हुने ग्यास उद्योगमा ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व बैंकको लगानी छ । घोराही उपमहानगरपालिका क्षेत्रबाट सङ्कलित कुहिने फोहोरबाट दैनिक एक हजार तीन सय किलो ग्यास र ६ टन प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य रहेको प्रमुख चौधरीले जानकारी दिनुभयो ।

प्रमुख चौधरीले भन्नुभयो, 'फोहोरलाई आर्थिक उत्पादनसँग जोड्दै छौँ । नयाँ वर्षको सेरोफेरोबाट सम्भवतः ग्यास उत्पादनको काम सुरु हुनेछ । अहिले पूर्वाधार निर्माणको काम तीव्ररुपमा भइरहेको छ । उत्पादन सुरु भएको पाँच वर्षसम्म घोराही उपमहानगरपालिकाले फोहोर सङ्कलन, ढुवानी र त्यसपछि कम्पनीले आफै फोहोर सङ्कलन गर्ने सम्झौता भएकाे छ ।

२० वर्षपछि चालु अवस्थाको उद्योग कम्पनीले उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ । ग्यास उत्पादन सुरु भएपछि उद्योगले कुल उत्पादनको एक प्रतिशत रोयल्टी उपमहानगरपालिकालाई तिर्नुपर्ने सम्झौता भएको उपमहानगरले जनाएको छ । कम्पनीले घोराही उपमहानगरपालिका क्षेत्रबाट उत्पादन भएका कुहिने फोहोरहरुबाट दैनिक एक हजार तीन सय किलो ग्यास निकाल्ने र ६ टन प्राङ्गारिक मल उत्पादन गर्ने जनाएको छ ।

नगल्ने फोहोर किन्दै

घोराही उपमहानगरपालिकाले नगल्ने फोहोर खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिअन्तर्गतको सरसफाइ स्वच्छता शाखाले नगल्ने फोहोरको वर्गीकरण गरेर खरिद गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

कपडा र फेरि प्रयोगमा आउने प्लास्टिकजन्य फोहोरलाई प्रतिकिलो पाँच रुपैयाँ र फेरि प्रयोगमा नआउने वस्तुलाई प्रतिकिलो तीन रुपैयाँमा खरिद गर्ने निर्णय उपमहानगरले गरेको छ । प्रत्येक वडाका टोल विकास संस्थाहरूले नगल्ने फोहोर निश्चित ठाउँमा सङ्कलन गर्ने र घोराही उपमहानगरले त्याे फोहोर खरिद गरेर बाहिर बिक्री गर्ने योजना बनाएको छ ।

फोहोरबाट सङ्कलित रकमलाई टोल विकास संस्थाहरूले पूर्ण सरसफाइको कार्यक्रमअन्तर्गत साबुन, ब्रस, हार्पिक खरिदमा लगाउने नीति लिइएको समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिनुभयो । नगल्ने फोहोर खरिदका लागि नगरले चालु आर्थिक वर्षका लागि सात लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया