देशभरको मौसम सफा
मंसिर २०, २०८१ बिहिबार
माेरङ - प्रदेश १ सभामा सांंसदहरुले प्रदेशका विभिन्न ठाउँमा भएका विस्फोट र आगजनीदेखि प्राकृतिक रुपमा भएका विध्वंशको बारेमा प्रश्न उठाएका छन् ।
मंगलबार प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै सांसद कुलप्रसाद साम्बाले प्रदेशका धेरै ठाउँमा भएका आगजनी र बम बिस्फोटको बारेमा सरकार जानकार नभएको आरोप लगाउनुभयो ।
उहाँले मोरङको मिक्लाजुङमा तीन वटा, दमकमा दुई वटा निर्माणमा प्रयोग भएको डोजर र एक्स्क्याभेटरमा आगजनी भएको, केराबारी गाउँपलिकाको कार्यालयमा बम बिस्फोट भएको, लेटाङको सिंहदेवीमा एनसेल टावरमा बम विस्फोट गराएर ध्वस्त बनाएको अवस्थामा विद्रोही र सरकार दुवै पक्ष अज्ञात रहेको आरोप लगाउनुभयो ।
पछिल्लो समय निर्माण क्षेत्रमा भएको आक्रमणले विकास निर्माणको काम गर्ने निर्माण व्यवसायीहरु नै काम गर्न नसक्ने अवस्थामा पुगेको सरकारको ध्यानाकर्षण गराउनुभयो ।
गाँजाकाे प्रतिबन्ध हटाइयाेस्
उदयपुरका सांसद विमल कार्कीेले गाँजा खेतीमा सरकारले लगाएको प्रतिबन्ध फुकुवाको माग गर्नुभयो । ‘गाँजा खेती गर्न कानुनले प्रतिबन्ध लगाएको भए पनि दूरदराजमा अहिले पनि गाँजा खेती हुँदै आएको छ, कार्कीले भन्नुभयो, ‘प्रहरीले गाँजा फँडानी गरेको गरेकै गर्छ, किसानहरुले गाँजाखेती रोकेका छैनन्, अवैध रुपमा बिक्री भइरहेको छ ।’
धनकुटाको छिन्ताङका शहीदलाई राहत दिने घोषणा गरेको सरकारले अन्य शहीदलाई बेवास्ता गरेकोले धनकुटामा विभिन्न समयमा ज्यान गुमाएका शहीदलाई राहत दिने ब्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले छिन्ताङका शहीद परिवारलाई ५ लाखका दरले राहत दिने निर्णय गरेको थियो ।
उदयपुरकी सांसद सञ्जाकुमारी दनुवारले प्रदेश सभा सचिवालयले विभिन्न एनजीओ र आईएनजीओलाई गलत तथ्याङ्क दिएको भन्दै असन्तुष्टि जनाउनुभयो ।
खोला ध्वस्त भयो
भौतिक पूर्वाधार विकास समितिका सभापति सुनसरीका सांसद सर्बध्वज साँवाले मोरङको केरावारी गाउँपालिकामा रहेको खदम खोला र लेटाङ नगरपालिकाको चिसाङ खोलाको दोहनको विषयले आफूलाई गम्भीर बनाएको बताउनुभयो । राजमार्ग, वन क्षेत्र, हाइटेन्सन, विद्यालय, बालविकास केन्द्र, पुरातात्विक स्थल, निकुञ्ज तथा आरक्षण क्षेत्रको आसपासमा १ देखि २ किलोमिटरसम्म क्रसर सञ्चालन गर्न नहुने कानुनी व्यवस्था रहेको भए पनि त्यसलाई ध्यान नदिइ सञ्चालन गरेको उहाँको भनाइ छ ।
गाउँका समस्याको बारेमा बोल्न खोज्दा टोले गुण्डाहरुले तर्साउने र धम्क्याउने गरेकाले स्थानीयहरु बोल्नसक्ने अवस्थामा नरहेको उहाँको भनाइ छ । यसलाई सरकारले गम्भीर रुपमा लिनुपर्ने उहाँको माग छ । यसैबीच मंगलबारको प्रदेश सभाको बैठकमा उद्योग पर्यटन वन तथा वाताव।ण मन्त्रालयले पेश गरेको प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।