दैलेखमा बालविवाहका कारण विवाह दर्ता र नागरिकता बनाउन समस्या

 फागुन ३, २०७६ शनिबार १६:५७:५७ | अमर सुनार
unn.prixa.net

दैलेख – नौमूले गाउँपालिका–२ बालुवाटारकी २८ वर्षीया गंगाकुमारी विक र २९ वर्षीय गंगाबहादुर विकवीच विवाह भएको १२ वर्ष भयो । उहाँहरुको वैवाहिक सम्बन्धबाट १० वर्षकी छोरी र ६ वर्षको छोरा जन्मेका छन् । छोराछोरीको जन्मदर्ता छ तर श्रीमानले इन्कार गरेका कारण विवाह दर्ता भएको छैन ।

विवाह दर्ता नभएको कारण नागरिकता बन्न सकेको छैन । गंगाबहादुरले ‘हामी श्रीमान–श्रीमती छँदैछौँ, किन चाहियो विवाहदर्ता अनि नागरिकता ?’ भनेर प्रश्न तेस्र्याएपछि गाउँपालिका वा अरु निकायमा उजुरी गरेर काम गराउनेमा गंगाकुमारीको मन छैन ।

उजुरीतिर लागे घरबार बिग्रेला भन्ने उहाँलाई डर छ । 

नारायण नगरपालिका–४ सोतकी सुनिता कटुवाल २४ वर्षकी हुनुभयो । ८ वर्षअघि बुबाआमाले दिएर धुमधाम बाजा बजाएर त्यही गाउँका अहिले २५ वर्ष पुगेका प्रकाश खत्रीसँग विवाह भयो । उतिबेला अभिभावकको सहमतिमा १८ वर्ष पुगेकाहरुको विवाह दर्ता गराउन मिल्थ्यो, तर १६ वर्ष मात्र भएको कारण विवाहदर्ता भएन । 

पहिले उमेर नपुगेर रोकियो र पछि चाहिं श्रीमानले विवाह दर्ता गराउन नचाहेपछि अहिलेसम्म सुनिताको विवाह दर्ता भएको छैन । विवाह दर्ता नभएका कारण उहाँले पनि नागरिकता पाउन सक्नुभएको छैन । नागरिकता बनाउन सिफारिस माग्दा वडाध्यक्ष बीरबहादुर कटुवालले विवाह दर्ता नभइ दिन नसकिने बताउनुभएकाे छ । माइती र घर एउटै वडा भएको अवस्थामा पनि उहाँले विवाह दर्ता गराउन गर्न सक्नुभएको छैन । 

डुंगेश्वर गाउँपालिका–४, अवलपराजुलकी २० वर्षीया निशा थापा र २४ वर्षीय ललित थापाको विवाह भएको ३ वर्ष भयो । एक वर्षको छोरी भइसक्दा न निशाको विवाह दर्ता छ न त छोरीको जन्म दर्ता । श्रीमान र घरपरिवारको असहयोगले विवाह दर्ता, छोरीको जन्म दर्ता नबनेको र त्यसले गर्दा निशाले नागरिकता पाउन सक्नुभएको छैन ।

भगवतीमाई गाउँपालिका–२, सिडारा गाउँकी २१ वर्षीया जैकला सुनार र २१ वर्षीय सञ्जु विकबीच प्रेमविवाह भएको २ वर्ष भयो । गएको पुस १ गते छोरा मनोजको जन्म भएको छ । पहिले वडा कार्यालयले उमेर नपुगी विवाह दर्ता गर्न इन्कार गर्‍यो, अहिले श्रीमानले जैकलाको विवाह दर्ता र छोराको जन्म दर्ता गराउन इन्कार गरिरहनुभएको छ । 

माथि उल्लेखित ४ वटै घटनामा विवाह दर्ता नहुनुमा पहिलो कारण बालविवाह देखिएकाे छ । विवाह गर्ने केटा र केटी दुवैको उमेर २० वर्ष पुगिसक्नु पर्ने कानूनी बाध्यताको कारण व्यक्तिगत घटना दर्ताको कार्यसम्पादन गर्ने वडा कार्यालयले विवाह दर्ता गर्न नसकेका हुन् । 

विवाह पहिले भए पनि २० वर्ष उमेर पुगेपछि विवाह दर्ता गर्न सकिन्छ तर त्यतिबेला पारिवारिक कलह वा सामान्य वैमनष्यताले श्रीमान र कतिपय अवस्थामा परिवारका सदस्यहरुले समेत पन्छाउने गरेका कारण विवाह दर्ता नगरेका धेरै उदाहरण भएको महिला तथा बालबालिका सेवा केन्द्रका संयोजक रमा श्रेष्ठले बताउनुभयो ।

राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार दैलेखमा ८४ हजार ४ सय २४ जनाले २० वर्ष नपुग्दै विवाह गरेका छन् । यो संख्या जिल्लाको कुल जनसङ्ख्या २ लाख ६३ हजार ७ सय ७० मध्ये ३२ दशमलव २५ प्रतिशत हुन आउँछ ।

विवाह दर्ता समस्या सुल्झाउन बालविवाह रोकथाम अभियान थालिनुपर्ने अधिवक्ता खड्गबहादुर सिजाश्रीमानको सुझाव छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया