सिलिचोङमा चितुवाको बिगबिगी बढ्यो

 साउन ९, २०७५ बुधबार १५:१५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभाको अरुणपारिको गाउँपालिका भनेर चिनिने दुर्गम सिलिचोङ गाउँपालिकामा चितुवाको बिगबिगी बढेको छ ।

सिलिचोङ गाउँपालिका–३, मा पर्ने याचम्खा र लकुवामा चितुवाको बिगबिगी बढेको हो । बाघले दैनिक जसो स्थानीयको बाख्रा र बङगुर गोठ र खोरबाट नै खान थालेपछि स्थानीयहरु चिन्तित बनेका हुन् ।

यो एक हप्ताको अवधी मात्रै करीब एकदर्जनभन्दा बढी स्थानीयहरुले पालेको बाख्रा र बङगुर खानथालेपछि स्थानीयहरु हारगुहार माग्न थालेका छन् । गएको असार २७ गतेदेखि अहिलेसम्म ७ ओटा बाख्रा र दुईओटा बङगुर चितुवाले खाएको याचम्खाका स्थानीय हरिकुमार कुलुङले बताउनुभयो ।

उहाँको अनुसार चितुवाले याचम्खामा मात्रै ५ ओटा बाख्रा र लकुवामा २ ओटा बाख्रा र २ ओटा बङगुर खाइसक्यो । ‘चितुवाले रातदिन नै सुत्न दिएको छैन । घरछेउमा नै आएर कराउँछ । डिउटी गर्दाको हैरान भइसक्यो’, उहाँले भन्नुभयो ।

चितुवा गोठ र खोरभित्र छिरेपछि एउटालाई बोकेर लैजाने र अन्यलाई घाइते बनाउने गरेको अर्का स्थानीय मनबहादुर कुलुङले बताउनुभयो । चितुवाले घाइते बनाएको बाख्रा र बङगुर नबाँच्ने गरेको कुलुङको भनाई छ ।

उक्त ठाउँमा चितुवाले दिउँसो पनि बाख्रा खान थाले पनि चरिचराउ पूर्ण रुपमा बन्द भएको छ । स्थानीय गाउँलेहरुले चरनमा बाख्रा लान छोडेपछि रातको समयमा खोरमा नै आक्रमण गर्न थालेको उनीहरुको भनाई छ ।

चितुवाले गोठ र खोरमा नै आक्रमण गर्न थालेपछि स्थानीयहरु लाठी मुङग्रो र खुकुरी बोकेर डिउटी गर्न थालेका छन् । गाउँभन्दा नजिकै जङगल रहेकाले पनि जंङ्गली जनावरहरु बढेको उनीहरुको भनाई छ । उक्त गाउँसँगै मकालु राष्ट्रिय निकुञ्ज क्षेत्र पर्दछ ।

यता मकालु बरुण राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सञ्जिव गुप्ताले चितुवाले पुर्‍याएको क्षतिको सरकारले व्यहोर्ने बताउनुभयो । जंङ्गल एक्लै नजान र जंङ्गली जनावरलाई हानी पुर्‍याउने र असहज हुने खालका कुनै पनि गतिविधि नगर्न समेत स्थानीयहरुलाई गुप्ताले सुझाव दिनुभएको छ  ।

घरपालुवा जनावरमा पुगेको क्षतिको प्रमाणसहित निकुञ्ज कार्यालयमा निवेदन पेश गरेपछि अनुसन्धान गरेर पशुपालकहरुले क्षतिपूर्ति पाउने उहाँले बताउनुभयो । निकुञ्जको नियम अनुसार उन्नत जातको पशु भए सोही अनुसारको र अन्यजातको पशु भए दश हजार रुपैयाँसम्म क्षतिपूर्ति वापतको रकम पाउने निमित्त संरक्षण प्रमुख गुप्ताले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया