खाडीमा कोरोनाको सङ्क्रमण बढ्दै, नेपालीलाई सावधानी अपनाउन आग्रह

 फागुन १८, २०७६ आइतबार ८:३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीनबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण कोरिया, अमेरिका, युरोप हुँदै खाडीका देशसम्म फैलिएपछि ती देशमा रहेका नेपालीको बारेमा चिन्ता बढेको छ ।

देश र विदेशमा रहेका नेपालीलाई अहिलेसम्म कोरोनाको सङ्क्रमण त भएको छैन तर जोखिम बढेको छ । सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरुले सूचना निकालेर सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् । 

बहराइन र कुवेतमा रहेका नेपाली दूतावासले कोरोना भाइरसको लक्षणको जानकारीसहित त्यहाँ रहेका नेपालीलाई सावधानी अपनाउन अनुरोध गरेका छन् ।

सार्वजनिक स्थल, अस्पताल, सिनेमा घर, सार्वजनिक यातायात, सपिङ मलजस्ता भिडभाड धेरै हुने ठाउँमा सकभर नजान र जानुपर्ने अवस्थामा अनिवार्य मास्क (मुखावरण) लगाउन आग्रह गरिएको छ । यस्तै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र स्वास्थ्यकर्मीको निर्देशन पालना गर्नसमेत दूतावासले अनुरोध गरेका छन् ।

खाडीका देशमध्ये बहराइनमा ३३, कुवेतमा ४५, यूएईमा २१, ओमनमा चार र कतारमा एक जनामा सङ्क्रमण देखिएको छ । यस्तै नेपालीको सङ्ख्या धेरै रहेको मलेसिया, कोरिया, जापान लगायतका देशमा पनि कोरोनाको सङ्क्रमण फैलिएको छ ।  

नेपालीको सङ्ख्या धेरै रहेको देशमा कोरोनाको सङ्क्रमण फैलिँदै गएको र नेपालमा पनि जोखिम बढेपछि सरकारले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।

शनिबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका देशमा सङ्क्रमणको स्थिति नजिकबाट नियाल्ने र रोकथामका लागि आवश्यक निर्णय गर्ने जनाइएकाे छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशमा हवाई उडान रोक्ने विषयमा समेत छलफल भएको छ ।

मन्त्रीहरुसमेत सहभागी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने हरेक यात्रुका स्वास्थ्य जाँच गर्न र त्यसका लागि आवश्यक डाक्टर र उपकरणको तत्काल व्यवस्था गर्नसमेत निर्दशन दिनुभएको छ । 

यस्तै अमेरिका र अस्ट्रेलियामा पनि कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको छ । जापानमा क्वारेन्टाइनमा राखिएको पानीजहाजबाट उद्धार गरिएका ७८ वर्षीय पुरुषकाे उपचारको क्रममा आइतबार बिहान ज्यान गएको अस्ट्रेलिया सरकारले पुष्टि गरेको छ ।

कोरोना भाइरसकाे सङ्क्रमण अहिले विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ भने झण्डै तीन हजार जनाको ज्यान गएको बीबीसीले जनाएको छ । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ ।  

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया