कार्यालय सहयोगीमाथि हातपात गर्ने वडाध्यक्षले लिखित रुपमा माफी मागे

 फागुन २६, २०७६ सोमबार १७:४७:५६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – आफ्नै वडा कार्यालयका सहयोगीलाई कुटपिट गर्ने दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष भीमबहादुर सार्कीले लिखित रुपमा माफी मागेका छन् । 

दुवै पक्षका बिचमा साेमबार दिउँसाे जिल्ला प्रहरी कार्यालय दाङमा भएको छलफलमा वडाध्यक्ष सार्कीले आफूबाट गल्ती भएको भन्दै लिखित रुपमा माफी मागेका हुन् ।

कार्यालय सहयोगीमाथी कुटपिट गर्नु आफ्नो गल्ती भएको भन्दै आउँदा दिनमा यस्तो गल्ती नहुने वडाध्यक्षले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कुटपिटकाे विरोधमा स्थानीयबासीले घोराहीमा प्रर्दशन र नाराबाजी गरेका थिए । आफ्नै वडा कार्यालयको सहयोगी पतिराम चौधरीलाई कुटपिट गर्ने वडाध्यक्ष सार्कीलाई कारबाही गर्न माग गर्दै स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र घोराही उपमहानगरपालिकाकाे मूलद्वारमा प्रर्दशन एवं नाराबाजी गरेका थिए ।

प्रर्दशनपछि जिल्ला प्रहरी कार्यालयले आह्वान गरेको छफलमा लिखित सहमति भएको थियो ।

यसअघि गएकाे शुक्रबार आफूलाई कुटपिट गरेको भन्दै कार्यालय सहयोगी पतिराम चौधरीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।  

 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया