खाडीबाट श्रमिकको नयाँ माग आउन छाड्यो, ट्रान्जिट हुँदै साउदी र बहराइन हिँडेकाहरु समस्यामा

 फागुन २८, २०७६ बुधबार १४:२२:५२ | उज्यालो सहकर्मी

काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) को कारण कतारले नेपालसहित १४ देशका नागरिकलाई अस्थायी रुपमा प्रतिबन्ध लगाएपछि मंगलबार सरकारले श्रम स्वीकृति दिन बन्द गर्‍यो । मंगलबार मात्रै श्रम स्वीकृतिका लागि ताहाचल कार्यालय पुगेका एक सय जनाभन्दा धेरै श्रमिक फर्किएको कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो । 

नेपालमा श्रमिकको माग आउने दोस्रो ठूलो देशले प्रतिबन्ध लगाएपछि कतार जाने तयारीमा रहेका ३० देखि ४० हजार श्रमिकको भिसा नै स्थगित भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले बताउनुभयो । बिदामा आएका र कतार जान सबै प्रक्रिया पूरा भइसकेका श्रमिकको हकमा अन्यौल भए पनि दुई हप्तामा कतारले प्रतिबन्ध खुलाउन सक्ने उहाँको भनाई छ ।

‘कतारले क्वारेन्टाइन बनाउनका लागि प्रतिबन्ध लगाएको र अबको दुई हप्ताभित्र प्रतिबन्ध फुकाउने कुरा हामीले बुझेका छौं,’ महासचिव श्रेष्ठले भन्नुभयो । गन्तव्य देशले प्रतिबन्ध लगाए पनि नेपालले अहिलेसम्म प्रतिबन्ध नलगाएकाले श्रमिकहरु पठाइरहेको महासचिव श्रेष्ठले बताउनुभयो । 

पहिलेको तुलनामा वैदेशिक रोजगारीमा जाने घटे पनि कोरोनाको जोखिम भएकै देशमा पनि श्रमिकहरु गइरहेका छन् । फागुन महिनामा मात्रै ४० हजारभन्दा धेरै नेपाली खाडीसहित विभिन्न देशमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ । तर कोरोनाको संक्रमण फैलने क्रम बढेसँगै अहिले श्रमिकको माग पनि नआएको र नेपाली श्रमिकको मुख्य गन्तव्य देशहरुले नै ल्याएका जाने श्रमिकले समस्या भोग्न परेको महासचिव श्रेष्ठ बताउनुहुन्छ ।

अहिले श्रम कार्यालय ताहाचलमा पनि भिडभाड कम भएको कार्यालयका प्रमुख उमेश बस्नेत बताउनुहुन्छ । पहिले दैनिक एक हजारदेखि १२ सय जनालाई कार्यालयले सेवा प्रदान गर्ने गरेको भए पनि अहिले लगभग सबै काउण्टरहरु खाली जस्तै भएको उहाँले बताउनुभयो । 

कुवेतले भिसा दिन छाड्यो, साउदीले ट्रान्जिट हुँदै प्रवेशमा रोक्यो

कोरोना भाइरसको संक्रमण फैलिएसँगै कुवेतले नेपाली श्रमिकलाई भिसा दिन बन्द गरेको छ । भिसा दिन बन्द गरेसँगै कुवेतबाट नयाँ श्रमिकको माग पनि नआएको संघका महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना भाइरसको कारण देखाउँदै कुवेतले चीन, हङकङ, इरान, इराक, इटाली, जापान, सिंगापुर, दक्षिण कोरिया र थाइल्यान्डका नागरिकलाई प्रतिबन्ध लगाएको छ । नेपाली श्रमिकलाई प्रवेशमा प्रतिबन्ध नलगाए पनि भिसा नदिने भएपछि नयाँ श्रमिक कुवेत जाने सम्भावना छैन । 

यस्तै, साउदी अरेबियाले यूएई ट्रान्जिट भएर जाने यात्रुलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । अहिले साउदीका किङ् खालिद इन्टरनेशनल एअरपोर्ट, किङ अब्दुलजिज इन्टरनेशनल एअरपोर्ट र किङ फाहद इन्टरनेशनल एअरपोर्ट मात्र खल्ला गरेको छ ।

साउदी जाने धेरै जसो श्रमिक एअर अरेबियामार्फत ट्रान्जिट हुँदै साउदी र बहराइन जाने भए पनि यी देशले यूएई ट्रान्जिट भएर गएकालाई प्रवेशमा रोक लगाएकाले साउदी हिँडेका एक सयभन्दा धेरै श्रमिक फर्किन परेको संघका महासचिव श्रेष्ठले बताउनुभयो । 

नेपालबाट हिमालय एअरलाइन्सले मात्र साउदी सिधा उडान भर्छ । नेपालबाट सिधा उडानमार्फत साउदी जानेलाई भने प्रवेशमा रोक लगाएको छैन । त्यसैले साउदी र बहराइन जानका लागि यूएई ट्रान्जिट हुनेगरी टिकट नकाट्न पनि उहाँले अनुरोध गर्नुभयो । 

यूएईमा दुई नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भए पनि अहिलेसम्म खाडीका अरु देश र मलेसियामा रहेका नेपालीमा संक्रमण देखिएको छैन । 

रोजगारीका लागि नेपाली धेरै जाने देशहरुमध्ये, साउदीमा अहिलेसम्म  २० जनामा, मलेसियामा १ सय २९ जनामा, बहराइनमा १ सय १२ जनामा, कुवेतमा ६९ जनामा, कतारमा २४ जनामा, ओमानमा १८ जनामा र यूएईमा ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमामध्ये यूएईमा भने दुई नेपालीमा पनि संक्रमण देखिएको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया