भक्तपुर विस्फोट प्रकरण : आराेपमा एक जना विप्लव कार्यकर्ता पक्राउ

 फागुन २८, २०७६ बुधबार २०:५४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिस्फोट गराएको अभियोगमा प्रहरीले विप्लव नेतृत्वकाे नेकपा, भक्तपुर जिल्ला सदस्यलाई पक्राउ गरेको छ ।

मध्यपुरथिमि नगरपालिका वडा नं.१ लोकन्थलीकाे मनोहरा फाँटमा रहेकोे बाँस्कोटाको घरमा बुधबार बिहान गराइएको बम विस्फोटकाे घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले लमजुङ्ग मस्र्याङ्दी गाउँपालिका-४ घर भएर हाल लोकन्थलीको सुकुम्वासीबस्तीमा बस्दै आएका ५८ वर्षीय देव भन्ने देवीबहादुर गुरुङलाई प्रक्राऊ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।

प्रहरीले गुरुङलाई सुकुम्वासी बस्तीबाट प्रक्राऊ गरेको जानकारी दिँदै उहाँले गुरुङको साथबाट प्रेसर कुकर, तार, चन्दा रसिद, पर्चा र पम्प्लेटहरु बरामद गरेको जानकारी दिनुभयो । 

घटनामा पूर्वमन्त्री बाँस्कोटाकाे सहित अन्य तीन घरमा क्षति पुगेको छ । पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल भित्र प्रेसर कुकर बम राखिएको र रिमोटबाट विस्फोट गराएको प्रारम्भिक अनुसन्धानमा पाइएको बताउँदै प्रहरी उपरीक्षक प्रधानले भन्नुभयो, अनुसन्धानको क्रममा घरको पर्खालभित्र प्रेसरकुकर बम राखेर रिमोट कन्ट्रोलमार्फत विस्फोट गराइएको देखिएको छ, थप अनुसन्धान गरिरहेका छौँ ।

बास्कोटा निवासमा आक्रमण हुनसक्ने सुराकी प्रहरीलाई पहिला नै आइसकेकाले त्यसक्षेत्रमा सुरक्षा सतर्कता बढाएर २४ सै घण्टा प्रहरीहरु तैनाथ गरिएको भए पनि बुधबार बिहान प्रहरीहरु घरकै पछाडि रहेको बेलामा अगाडिबाट बम छाडेर बिस्फोट गराएको पाइएको उहाँको भनाइ छ ।

प्रहरी उपरीक्षक प्रधानले विस्फोटको घटनाले प्रहरी अझै चनाखो भएको र सुरक्षालाई अझै सुदृढ गरिने जानकारी दिनुभयो । 

बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटा, स्थानीय कपिल घिमिरे, कुबेर केसी र निरसिंह खत्रीको घरमासमेत क्षति पुगेको छ । उनीहरुको घरको सिसा फुटेको, घरको झ्याल, खापामा क्षति पुगेको छ भने घरको प्लास्टर चर्किएको छ टीभी समेत फुटेको छ । विस्फोटले घर अगाडि पार्किङ गरेर राखिएको बा. १९ च. ४७८१ नम्बरको एउटा डेलिभरी भ्यान क्षतिग्रस्त भएको छ ।

घर क्षति भएका स्थानीय घिमिरेले विस्फोट हुँदा भूकम्प आएजस्तै कम्पन भएको र ठूलो आवाज आएको बताउनुभयो । विस्फोटकाे समयमा पूर्वमन्त्री बाँस्कोटा भने त्यस घरमा नभएकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया