कोरोना भाइरस सङ्क्रमणको उच्च बिन्दु पार भएको चीनको प्रतिक्रिया

 फागुन २९, २०७६ बिहिबार १९:५७:२७ | रासस
unn.prixa.net

काठमाण्डौ - चीनले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको उच्च बिन्दु पार भएको जनाएको छ । 

विश्व स्वास्थ्य सङ्गठनले भाइरस सङ्क्रमणको समस्या महामारीको रुपमा फैलिएको घोषणा गरेको केही घण्टापछि चीनले सङ्क्रमणको उच्च बिन्दु पार भएको प्रतिक्रिया दिएको हो । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फङले बेइजिङमा पत्रकार सम्मेलन गरी सङ्क्रमणका नयाँ बिरामी आउने क्रम घटिरहेको जानकारी गराउनुभएको छ ।

चीनमा महामारीका रूपमा फैलिएको कोभिड-१९ भाइरस सङ्क्रमणको प्रभाव निकै तल झरेको भन्दै उहाँले हुवेई प्रान्तको राजधानी वुहानमा नयाँ सङ्क्रमण पुष्टिका घटना एक अङ्कमा झरेको बताउनुभयो । 

चीनको उच्च प्राथमिकता नागरिकको स्वास्थ्य र उपचार रहेकोले अझै केही समय सङ्क्रमण नियन्त्रण प्रयासलाई सक्रिय बनाइराख्ने उहाँको भनाइ छ । अबको केही हप्ता कोरोना भाइरस सङ्क्रमण, सङ्क्रमणका कारण ज्यान गुमाउने र प्रभावित देशको संख्या अझै बढ्ने सम्भावना रहेको स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रियससको भनाइ छ । पछिल्लो २४ घण्टामा चीनमा कोरोना भाइरसका कारण ११ जनाको ज्यान गएको छ  ।

इरानमा भने ज्यान गुमाउनेको संख्या ७५ र दक्षिण कोरियामा ६ थपिएका छन् । कोरानको सङ्क्रमण भएर अहिलेसम्म ६८ हजार ३ सय ३५ जना निको भएर घर फर्किएका छन् । 

विश्वभर ४ हजार ७ सय १७ जनाको ज्यान गएको छ । आज मात्रै कोरोना सङ्क्रमणका कारण १ सय जनाले ज्यान गुमाएका छन् । १६ सय ३४ जना नयाँ बिरामी थपिएका छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया