दुई हप्ताका लागि मलेसिया ‘लकडाउन’, कतारले गर्‍यो नेपाली श्रमिक ‘डिपोर्ट’

 चैत ४, २०७६ मंगलबार १३:४:३६ | उज्यालो सहकर्मी

काठमाण्डौ – अबको दुई हप्ता नेपालबाट मलेसिया जान नपाइने भएको छ, भने कतारले पनि त्यहाँ कार्यरत श्रमिकलाई डिपोर्ट गरेको छ ।

मलेसिया सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि मङ्गलबारदेखि चैत १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो ।

कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने त्यहाँ कार्यरत केही श्रमिकलाई डिपोर्ट गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

मलेसिया सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि मङ्गलबारदेखि चैत १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो । 

मलेसियाका प्रधानमन्त्री मुहिदिन यासीनले मार्च ३१ अर्थात् चैत १८ गतेसम्मका लागि विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा र आफ्नो देशका नागरिकलाई देश छाडेर अन्यत्र जान प्रतिबन्ध लगाएको मलेसियाको स्थानीय सञ्चारमाध्यम ‘मलायमेल’ ले उल्लेख गरेको छ । 

कोरोना भाइरसको सङ्क्रमणका कारण मलेसियाले सबै शैक्षिक संस्था बन्द गराएको छ भने खेलकुद, धार्मिक कार्यक्रम लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाएको छ । मलेसियामा अहिलेसम्म पाँच सय ६६ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमध्ये ४२ जना उपचारपछि निको भएका छन् भने पाँच सय २४ जनाले उपचार गराइरहेको मलेसिया सरकारले जनाएको छ । 

मलेसिया नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश हो । मलेसियामा पाँच लाखभन्दा धेरै नेपाली रहेको सरकारी अनुमान छ । तर अहिलेसम्म मलेसियामा कार्यरत नेपाली श्रमिकमा भने कोरोनाको सङ्क्रमण देखिएको छैन । 

देशबाहिर रहेका मलेसियाका नागरिक भने स्वदेश फर्किन सक्नेछन् । तर त्यसरी फर्किएका मलेसियाका नागरिकले स्वास्थ्य परीक्षण गर्नुपर्नेछ । स्वास्थ्य परीक्षणबाट कोरोना नभेटिए पनि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छ ।

कतारमा पनि उस्तै त्रास, नेपाली ‘डिपोर्ट’ गरियो

कोरोनाको सङ्क्रमण बढ्दै जाँदा कतारमा कार्यरत नेपाली श्रमिकमा पनि त्रास बढ्दै गएको छ । क्याम्पहरुमा निगरानी बढाएको र कतिपय श्रमिकलाई डिपोर्ट गरिएको छ । 

नेपाली श्रमिकहरु पक्राउ परेको, नेपालीमा कोरोनाको सङ्क्रमणको खबरहरु बाहिर आए पनि अहिलेसम्म दूतावासमा आधिकारिक जानकारी नआएको कतारमा रहेको नेपाली दूतावासका द्वितीय सचिव प्रविण भट्टराईले जानकारी दिनुभयो ।

‘मिडियामा विभिन्न खबरहरु आइरहेका छन् तर अहिलेसम्म कतार सरकारले दूतावासमा कुनै आधिकारिक जानकारी दिएको छ्रैन,’ उहाँले भन्नुभयो, ‘कतारले भिडभाडमा नजानू, धेरै मानिस जम्मा भएर नबस्नू भने पनि कसैले अटेरी गरेको भए पक्राउ परेको हुनसक्छ, तर दूतावासलाई जानकारी छैन ।’

कतारमा कार्यरत केही श्रमिकलाई डिपोर्ट गरिएको सम्बन्धमा नेपालबाट परराष्ट्र र कन्सुलर सेवाबाट चिठ्ठी आएको तर त्यस सम्बन्धमा दूतावासले जानकारी लिइरहेकाले अहिले नै कति श्रमिक डिपोर्ट भए र किन गरियो भनेर भन्न नसकिने भट्टराई बताउनुहुन्छ ।

तर त्यहाँ कार्यरत श्रमिकलाई कोरोनाको त्राससँगै समस्या पनि बढ्दै गएको छ । ‘दूतावासले अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन र कोठाभित्रै बस्न आग्रह गर्दै विज्ञप्ति त निकालेको छ, तर के गर्नु’, कतारमा कार्यरत बुटवलका जनकराज पाण्डे भन्नुहुन्छ, ‘काम नगरेर खान पुग्दैन, काम गर्न कम्पनीमा जानै पर्यो, हामीहरु त यहाँ भगवान भरोसामा बसेका छौँ ।’

सार्वजनिक बसदेखि होटल, रेस्टुरेन्टहरु बन्द छन् । यस्तो अवस्थामा भिडभाडमा जाँदा प्रहरीले पक्राउ गर्न सक्ने सम्भावना भएकाले भिडभाडमा नजान र सतर्कता अपनाउन दूतावासले आग्रह गरेको छ ।

कतारमा अहिलेसम्म चार सय ३९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमध्ये ४ जना उपचारपछि निको भएका छन् भने चार सय ३५ जनाले उपचार गराइरहेका छन।

यूईमा दुई जना नेपालीलाई सङ्क्रमण, अवस्था स्थिर

खाडी देशमध्ये नेपाली धेरै रहेको यूएईमा दुई नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ तर उनीहरुको अवस्था स्थिर रहेको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । 

सङ्क्रमणको प्रभाव यूएईमा कार्यरत अरु नेपाली श्रमिकमा समेत पर्न थालेको छ । कतिपय कम्पनीले वार्षिक बिदा लिएका श्रमिकको तालिकामा परिवर्तन गरेका छन् भने कतिपयले बेतलबी बिदामा बस्न आग्रह गरेका छन् । वार्षिक बिदा लिन बाँकी रहेकाहरुलाई तत्काल बिदामा बस्न तथा बिदा सकाएर फर्किएकालाई समेत बेतलबी बिदा लिन भनिएको दुबईको एक होटलमा कार्यरत धादिङका रमेश थापाले बताउनुभयो । 

कम्पनीले आफ्नो देशको अवस्था हेरेर घर फर्कन अथवा स्थानीय बिदामा बस्न भनेपछि धेरै श्रमिक रोजगारी गुम्ने कुराले चिन्तामा परेका छन् । खासगरी सेवा प्रदायक क्षेत्रमा काम गर्ने श्रमिकहरु समस्यामा परेका हुन् । 

होटल, ट्राभल एजेन्सी, सेल्स, सवारी चालक र सुरक्षा गार्डमा काम गर्ने नेपाली श्रमिकहरुमा कोरोनाको असर देखिन्छ । यहाँका स्थानीय सपिङ सेन्टर, मल तथा बजार क्षेत्र सुनसान हुन थालेका छन् । तर बजारमा खाद्य सामग्री भने नियमित पाइएको छ ।

पर्यटकीय स्थल, बार, नाइट क्लब, रेस्टुरेन्ट, मानिसको जमघट हुने प्रमुख क्षेत्र तथा विद्यालय, सिनेमा हल बन्द गरिएको छ । साथै यूएई भ्रमणमा आउनेहरुका लागि मङ्गलबारदेखि भिसासमेत बन्द हुँदैछ ।

पछिल्लो सरकारी सूचनाभन्दा पहिले नेपाल गएका कामदारहरु बिना श्रम स्वीकृति आउन नपाउने भएका कारण समयसीमामा काम गरेको कम्पनीमा उपस्थित हुन नपाउँदा रोजगारी गुम्ने चिन्ता छ । 

यूएईमा अहिलेसम्म ९८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमध्ये २३ जना उपचारपछि निको भएका छन् भने ७५ जनाले उपचार गराइरहेका छन।

साउदीको अवस्था

वैदेशिक रोजगारीमा साउदीमा रहनुभएका रुपन्देहीका पूर्ण सुनार साउदीको अवस्था चिन्ताजनक हुँदै गएको बताउनुहुन्छ । यस्तै साउदीमा कार्यरत पर्वतका नवराज अधिकारीले कडा कानुनका कारण आफूहरुलाई के गर्ने के नगर्ने भन्ने अन्योल बढेको बताउनुभयो ।

‘हामीलाई त केही पनि थाहा हुन्न, बाहिर सबै बन्द छ, अब त खाद्यान्न पनि अभाव होला जस्तो छ’, उहाँ भन्नुहुन्छ, ‘हामीले त आफूले गर्न सक्ने जति गर्ने त हो नि, मास्क लगाउने, पटकपटक हात धुने गरिरहेका छौँ ।’ 

कोरोनाको जोखिम बढ्न थालेपछि साउदी अरबले पनि विभिन्न सुरक्षाका उपाय अपनाएको छ । साउदीमा रहेको नेपाली दूतावासले श्रमिकको मागपत्र प्रमाणीकरणको काम रोकेको छ ।

गएको आइतबारदेखि साउदी अरबले दुई हप्ताको लागि सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिसकेको छ । यसको असर छुट्टीमा स्वदेश आएका र साउदीमै रहेका नेपालीहरुमा परेको छ ।

साउदीमा रहेका नेपालीहरु आउँदो दुई हप्तासम्म घर बिदामा नेपाल आउने पाउने छैनन् । यस्तै बिदामा नेपाल आएकाहरु पनि यस अवधिमा साउदी फर्किन सक्ने छैनन् । साउदीमा अहिलेसम्म १३३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमध्ये ६ जना उपचारपछि निको भएका छन् भने १२७ जनाले उपचार गराइरहेका छन।

बहराइनमा नेपाली 

बहराइनमा अहिलेसम्म त्यहाँ रहेका नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छैन तर नेपालीमा सङ्क्रमणको त्रास भने उस्तै छ । बहराइनमा रहनुभएका चितवनका चुडामणि बसेल कोरोनाको सङ्क्रमण बढे पनि आफूले सुरक्षा सतर्कता अपनाएकाले केही ढुक्क भएको बताउनुहुन्छ ।

‘बाहिरी देशसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई कोरोना लागेको भन्ने समाचार आएको छ तर अहिलेसम्म नेपालीहरु सुरक्षित नै छौँ’ उहाँले भन्नुभयो । बहराइन सरकार अहिले कोरोना सङ्क्रमण फैलिन नदिन प्रयासरत छ । 

धेरै मानिस भेला हुने खालका ठूला कार्यक्रमहरु हुन दिइएको छैन । सङ्क्रमणको डरले त्यहाँका जेलमा रहेका ९ सय एक कैदीहरुलाई मुक्त गरिएको छ । बहराइनमा रहेको नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको काम रोकिसकेको छ भने सबै नेपाली श्रमिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

बहराइनमा अहिलेसम्म २२८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमध्ये ८१ जना उपचारपछि निको भएका छन् भने १४६ जनाले उपचार गराइरहेका छन।एक जनाकाे ज्यान गएकाे छ ।

कुवेत ‘लकडाउन’

कुवेत सरकारले सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ । रेस्टुरेन्टदेखि शिक्षण संस्था बन्द गरेको छ भने गएको शुक्रबार रातिदेखि कुवेतले सबै व्यावसायिक उडान पनि बन्द गरेको छ । 

कुवेत सरकारले घरभित्रै पनि धेरै मानिस जम्मा भएर नबस्न आफ्ना नागरिकलाई अनुरोध गरेको छ । तर कुवेतमा कार्यरत विकास आचार्य भने त्यहाँको सरकारले कोरोना सङ्क्रमणबाट बच्न विभिन्न उपाय अपनाए पनि आफूले काम गर्ने ठाउँमा सुरक्षाको अनुभूति नभएको गुनासो गर्नुभयो । 

‘यहाँको सरकारले त सार्वजनिक ठाउँमा भिड नगर्नेदेखि विभिन्न सुरक्षाका उपाय अपनाएको छ तर हामी काम गर्ने कम्पनीमा त्यस्तो कुनै व्यवस्था छैन, न मास्क उपलब्ध छ न त काम गर्ने ठाउँमा साबुन पानीले हात धुने व्यवस्था नै’, उहाँले भन्नुभयो ।

तर कुवेतमै कार्यरत कास्कीका रहमान मियाँ भने त्यहाँको सरकारले गरेको व्यवस्थाबाट ढुक्क हुनुहुन्छ । ठाउँठाउँमा क्वारेन्टाइन हाउस खोलेको र पञ्जा, मास्क जस्ता सुरक्षाका साधन वितरण गरिरहेकाले कोरोना सङ्क्रमण नहुनेमा आफू ढुक्क भएको उहाँले बताउनुभयो ।

सुदूरपश्चिम सेवा समाज कतारकी अध्यक्ष निरमाया खड्का आफूले काम गर्ने मेडिकल क्षेत्रमा पनि समस्या भएको बताउनुहुन्छ । कम्पनीको आफ्नै यातायातको व्यवस्था नहुँदा सार्वजनिक बसमा चढ्नुपर्ने र त्यसले गर्दा सङ्क्रमणको डर भएको उहाँ बताउनुहुन्छ । कुवेतले भिसा जारी गर्न पनि रोकेको छ ।

कुवेतमा अहिलेसम्म १२३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमध्ये ९ जना उपचारपछि निको भएका छन् भने ११४ जनाले उपचार गराइरहेका छन।

ओमानका नेपाली भन्छन् : डर छ

ओमानमा सबै विद्यालय तथा विश्वविद्यालयहरु एक महिनासम्मका लागि बन्द भएको छ । यस्तै ओमानले सबै देशका पर्यटक भिसा पनि बन्द गरेको छ । सार्वजनिक ठाउँमा भिडभाड नगर्न र सुरक्षित भएर बस्न पनि निर्देशन दिएको छ । 

कफी पसल, रेस्टुरेन्ट र क्याफेमा हुक्का बन्देज गरेको छ । ओमानमा अहिलेसम्म नेपाली श्रमिकमा कोरोना सङ्क्रमण भएको छैन । तर डर र समस्या भने छ । कोरोनाको सङ्क्रमण बढ्दै जाँदा जोखिम पनि बढेको छ । 

‘अहिले ओमानमा ठिकै नै छ तर पसलहरु तथा सार्वजनिक गाडीहरु कम चल्न लागेका कारण अलिकति समस्या त भएको छ’ ओमानमा रहनुभएका नेपालगञ्जका अमृत चौधरीले भन्नुभयो,‘ मनमा डर पनि उस्तै छ, के हुने हो थाहा छैन ।’

ओमानमा रहेको नेपाली दूतावासले कोरोनाको सङ्क्रमणबाट बच्न सुरक्षा सतर्कता अपनाउन र सकेसम्म भिडभाडमा नजान अनुरोध गरेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति रोकेसँगै ओमानमा रहेको नेपाली दूतावासले पनि मागपत्र प्रमाणीकरणको काम बन्द गरेको छ ।

ओमानमा अहिलेसम्म पाँच सय २४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमध्ये ९ जना उपचारपछि निको भएका छन् भने १५ जनाले उपचार गराइरहेका छन।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया