कालोबजारी हटाउन सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने

 चैत ४, २०७६ मंगलबार १८:३८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हटाउन सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ ।

कोरोना भाइरसको त्रासका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भइरहेको बेला सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी भएको जनाएको हो । उद्योग तथा वाणिज्य र श्रम तथ उपभोक्ता हित समिति बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको बताउनुभएको हो ।

मन्त्री भट्टले चाँडै सुपथ मूल्य पसल र घुम्ती पसल सञ्चालन गर्ने विषयमा मन्त्रालय र कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिमा पनि छलफल भएको बताउनुभयो ।

मन्त्री भट्टले बजार अनुगमनका लागि गृहमन्त्रालयसँग समन्वय गरेर प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हरेक जिल्लामा अनुगमन गरी कारबाही गर्ने र अभाव हुने अवस्था सिर्जना हुन नदिने बताउनुभयो । संकट आउँछ थुपारौँ भन्ने मनोवृतिका कारण केही समस्या देखिएको भन्दै उहाँले आवश्यकता भन्दा बढी सिलिण्डर भरेर नराख्न पनि आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया