सरकारको प्रतिबन्धपछि पनि किन आइरहेका छन् जहाज ?

 चैत ९, २०७६ आइतबार १५:३१:२० | उज्यालो सहकर्मी

काठमाण्डाै - कोरोना भाइरस (कोभिड – १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २० मार्च अर्थात गएको शुक्रबारदेखि लागू हुनेगरी युरोप र पश्चिम एसियाबाट आउने जहाजमाथि रोक लगाएको छ ।

त्यस्तै खाडी क्षेत्रका देशहरुसहित इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापान र ती देशलाई ट्रान्जिट बनाइ अन्य देशबाट आउने नागरिकमाथि पनि प्रतिबन्ध लगाइएको छ । तर पनि खाडी देशका कतार एअरवेज, टर्किस एअर, इत्तिहाद, ओमान एअर लगायतका विमान नेपाल आइरहेका छन् । 

सरकारले प्रतिबन्ध लगाएको टर्कीबाट शनिवार टर्किस एअरलाइन्सको जहाज आयो, कतार एअरवेज पनि आयो, ओमान एअर पनि आयो । तर ती सबै जहाज खाली आएका थिए । जाँदा यात्रु बोकेर गएका थिए ।

सरकारले नेपाल आउन नपाउने नियम लगाए पनि जुन देशबाट यात्रुविहीन अर्थात खाली नेपाल आउन पाउनेछन् र यहाँबाट यात्रु लगेर जान पाउनेछन् । 
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भन्नुहुन्छ, ‘जुनसुकै देशबाट पनि खाली जहाज नेपाल आउन पाउनेछन्, र यहाँबाट यात्रु लिएन जान सक्नेछन्, तर एकजना पनि यात्रु ल्याउन पाउँदैनन् ।’ 

नेपालले हवाइ उडानमा प्रतिबन्ध लगाउनुअघि नेपाल आएका विदेशी, यहाँका परियोजनामा काम गर्ने, यस्तै अन्य प्रयोजनको लागि नेपाल आएकाहरु स्वदेश फर्किन पाउने पनि उहाँले जानकारी दिनुभयो । विभिन्न देशले नेपालमा रहेका आफ्ना नागरिक लैजान जहाज ल्याउन पाउनेछन्, यस्तै नेपाललाई हवाइ उडानमा प्रतिबन्ध नलगाएका देशका जहाज पनि नेपाल आएर नेपाली या विदेशी जुनसुकै यात्रु लैजान पाउनेछन् । तर यात्रु बोकेर आउन पाउँदैनन् । 

आइतबारसम्म भारत, चीन, सिंगापुर, हङकङ र थाइल्याण्डबाट मात्रै जहाज आइरहेका छन् । तर आइतबार राती १२ बजेदेखि १८ गतेसम्म कुनै पनि देशका जहाज यात्रु लिएर आउन पाउने छैनन् । 

तर सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाए पनि कार्गो लिएर आउने जहाज, स्वास्थ्य सामग्री र चिकित्सकसहित अत्यावश्यक सामग्री बोकेका जहाज भने नेपाल प्रवेश गर्न पाउने पनि महानिर्देशक पोख्रेलले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया