कोरोनाविरुद्ध सतर्कता : बर्दियामा ‘लकडाउन’, घरबाहिर ननिस्कन आग्रह

 चैत १०, २०७६ सोमबार १८:१२:१७ | भावुक योगी
unn.prixa.net

बर्दिया – विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को त्रास नेपालमा पनि बढेसँगै बर्दियामा उच्च सर्तकता अपनाइएको छ । सोमबार बिहानैदेखि बर्दियाका स्थानीयबासीले कोरोना भाइरसविरुद्ध उच्च सर्तकता अपनाएका हुन् । स्वघोषित रुपमा स्थानीयबासीले सर्तकता अपनाएपछि बर्दियामा चहलपहल घटेको छ ।

बर्दियाका ६ वटा नगरपालिका र दुई वटा गाउँपालिका गरी आठ वटै पालिकाका उद्योग, कलकारखाना, बजार बन्द भएका छन् । सदरमुकाम गुलरिया, ताराताल, भुरिगाउँ, ठाकुरद्वारा, राजापुर, बाँसगढी लगायतका मुख्य बजार बिहानैदेखि सुनसान छन् । बजारमा छिटफुट मात्र मानिसहरु देखिएका छन् । 

लामो तथा छोटो दुरीका सवारीसाधन केही मात्र चलेका छन् । गुलरिया, नेपालगञ्ज, गुलरिया, भुरिगाउँ र गुलरिया, राजापुर हुलाकी सडक पनि सुनसान  छ । पूर्व–पश्चिम राजमार्गमा पनि छिटफुट रुपमा छोटो दुरीका मात्र सवारीसाधन चलेका छन् । यातायात समितिले बिहानैदेखि बुकिङ्ग काउण्टर बन्द गरेका थिए । 

जिल्ला प्रशासन कार्यालय बर्दियाले अत्यावश्यक काममा बाहेक कोही पनि घरबाहिर ननिस्कने निर्णय गरेको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भन्नुभयो, ‘कर्फ्यु जस्तै हो, लकडाउन घोषण गरिएको छ, बर्दियाका कोही पनि व्यक्तिलाई बाहिर ननिस्कन आग्रह गरेका छौँ । एक प्रकारको कर्फ्यु नै हो, सबैले पालना गर्नुपर्छ ।’  

प्रशासनको निर्देशन पालना गर्दै अत्यावश्यक काममा बाहेक मानिसहरु बाहिर सडक र बजारमा निस्केका छैनन् । निस्कनै पर्ने मानिसहरुले मास्क (मुखावरण) प्रयोग गरेका छन् । सेल्फ क्वारेन्टाइन भन्दै मानिसहरु घरमै बसेका छन् । अधिकांश मानिसहरुले घरमै बसेर सामाजिक सञ्जालमार्फत अरुलाई पनि सर्तकता अपनाउन, हिँडडुल नर्गन आग्रह गर्ने गरेका छन् ।

‘यस्तो विपद्को घडीमा सरकारको मुख हेरेर मात्र बस्ने होइन, सेल्फ क्वारेन्टाइन नै उत्तम उपाय हो’ स्थानीय स्वास्थ्यकर्मी बद्री कठायतले भन्नुभयो ।

खाद्यान्न, तरकारी, फलफुल, मेडिकल लगायत अत्यावश्यक सामग्री बिक्री गर्ने पसल बाहेक अन्य पसल बन्द छन् ।

कुनै पनि बेला जे पनि हुन सक्ने भन्दै स्थानीयले केही दिनअघि नै खाद्यान्न लगायतका घरमा आवश्यक पर्ने सामाग्रीको जोहो गरिसकेको जनाएका छन् । यस्तो अवस्थामा कालोबजारी नगर्न, सामान बढी स्टक नराख्न प्रशासनले व्यापारीहरुलाई अनुरोध गरेको छ । 

भारतीय सीमावर्ती क्षेत्रमा अत्यावश्यक काम बाहेक आवत जावतमा रोक लगाइएको छ । आवत जावत गर्नै परे तोकिएको स्थानबाट स्वास्थ्य परीक्षण गराएर मात्र आवत जावत गर्न पाउने व्यवस्था गरिएको छ ।

सबै पालिकाले आइसोलेशन वार्ड र क्वारेन्टाइन व्यवस्थापन गरिरहेका छन् । भारतसँग सीमा जोडिएकाले भारतीय सीमा क्षेत्र र अरु नगरपालिकाले आफ्नो नगरको सीमा क्षेत्रमा हेल्थ डेस्क स्थापना गरी आफ्नो क्षेत्रमा भित्रिने व्यक्तिको स्वास्थ्य परीक्षण गरिरहेका छन् । 

पूर्व–पश्चिम राजमार्गको सेनाको सैनवार चेक पोस्ट र कर्णाली चिसापानी चेक पोस्टमा हेल्प डेक्स स्थापना गरिएको छ । राजमार्गमा आवत जावत गर्ने मानिसहरुलाई सेनाको प्रविधिक टोलीले ज्वरो जाँच गर्ने गरेका छन् । यस्तै ठाकुरबाबा नगरपालिकामा कर्फ्यु झैँ कसैलाई पनि बाहिर ननिस्कन स्थानीय रेडियो टाइगर र माइकिङबाट पनि आग्रह गरिएको नगरप्रमुख घननारायण श्रेष्ठले बताउनुभयो ।

यसैगरी जिल्ला प्रशासन कार्यालय बर्दियाले बर्दियाबाट हुने अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवा प्रवाह अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया