कोरोना रोकथामका लागि चीनबाट अरु देशले के सिक्ने ?

 चैत १३, २०७६ बिहिबार १७:२६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसका कारण विश्वव्यापी चुनौती बढ्दै गएको छ । चीनको वुहानबाट सुरु भएको कोभिड-१९ अहिले विश्वभर फैलिएको छ । 

भाइरसको उद्गस्थल चीनमा कोरोना संक्रमण नियन्त्रणतर्फ गइरहेको छ । विश्व स्वास्थ्य संगठनले पनि कोरोना नियन्त्रणमा चीनले गरेको कामको प्रशंसा गर्दै आएको छ । 

अहिले यूरोपेली देश सँगै अमेरिका कोरोना भाइरस संक्रमणको केन्द्र बनिसकेका छन् । इटली, स्पेन, फ्रान्स, बेलायत र अमेरिकामा संक्रमण बढ्दो छ ।चीनमा कोरोनाका कारण ३ हजार २ सय ८७ जनाको ज्यान गए पनि ७४ हजार संक्रमित उपचारपछि निको भएका छन् । चीनमाभन्दा युरोपेली देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढेको छ । 

इटलीमा ७ हजार ५ सय र स्पेनमा ३ हजार ६ सय जनाको ज्यान गइसकेको छ । यस्तै दक्षिण एशियाली देशमा समेत कोरोनाको संक्रमण बढ्दै गएको छ । नेपालसँगै जोडिएको भारतमा १३ जनाको ज्यान गइसकेको छ भने संक्रमित दिनहुँ बढ्दै गएका छन् । 

संक्रमण बढ्दै गएपछि भारतले २१ दिनको ‘लकडाउन’ गरेको छ । नेपालमा पनि अहिले ‘लकडाउन’ छ । अमेरिका र युरोप पनि ‘लकडाउन’मा नै छन् ।चीनले कोरोना भाइरसको संक्रमण रोक्न मानिस मानिसको दूरी बढाउन सुझाव दिँदै आएको छ । 

कोरोनाको संक्रमणको जोखिम हुनासाथ सावधानी अपनाएको भए विश्वभर यो भाइरसको प्रकोप यसरी नफैलने विश्लेषण गरिएको छ । चीनमा भाइरस संक्रमणको दर बढेपनि कोरोना विरुद्धको योजना बनायो । 

चीनले मात्रै १० दिनमा बिरामीको उपचारका लागि अस्पताल तयार पार्यो । कोरोनाको परीक्षण जति धेरै गर्न सक्यो त्यति नै संक्रमणबारे थाहा पाउन सकिने कुरालाई चीनले सावित गर्याे । 

तर नेपाल, भारत लगायतका देशमा कोरोना विरुद्ध चीनको जस्तो सक्रियता देखिँदैन । दक्षिण कोरियाले अहिले दिनमा २० हजार जनाको स्वास्थ्य परीक्षण गर्दै आएको छ भने अमेरिकाले एक हप्तामा २६ हजार र बेलायतले १६ हजार जनाको परीक्षण गर्दै आएको छ । 

चीनले कोरोनालाई रोक्न ‘लकडाउन’को पूर्ण कार्यान्वयनमा जोड दिँदै आएको छ । कुनै बेला कोरोनाको उद्गमस्थल चीनको वुहानमा दिनमा १३ हजार जनासम्म संक्रमित भेटिएका थिए । तर अहिले यो स्थिति उल्टिएको छ । वुहानमा नयाँ संक्रमित देखिन छोडेको छ । 

कोरोनालाई नियन्त्रण गर्न चीनका राष्ट्रपति सी जिनफिङको भूमिकालाई पनि मुख्य मानिएको छ । विश्व स्वास्थ्य संगठनले पनि उहाँको प्रशंसा गरेको छ । छोटो समयमा अस्पताल बन्नु, संक्रमितको छिटोभन्दा छिटो परीक्षण हुनु र‘लकडाउन’को पूर्ण कार्यान्वयन गर्नुजस्ता कारण चीनमा कोरोना नियन्त्रणतर्फ गएको छ। 

यस्तै ‘लकडाउन’का बेला नागरिकलाई आवश्यक पर्ने सामान घर-घर मा नै पुर्याउने व्यवस्था चीनमा थियो । यही कुरा अन्य देशले पनि सिको गरे कोरोनालाई फैलिनबाट रोकथाम गर्न सकिनेछ । 

कोरोनाको परीक्षण जति कम हुन्छ, यसले संक्रमण अझ धेरै फैलने जोखिम देखिन्छ । चीन जति अरु देश गम्भीर नहुँदा समस्या थपिँदै गएको छ । हुनत चीनले कोरोनालाई रोक्न युरोप र अमेरिकासहित एसियाली देशलाई सक्दो सहयोग गर्ने बताउँदै आएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया